कुवामा चौकीदार राख्ने रेक्चाका बासिन्दा भन्छन्-‘पानीको व्यवस्थापन गर्नेलाई मात्रै भोट’

पानी अभावले रेक्चा गाउँ रित्तिन थालेको छ । पाँच वषअघिसम्म १ सय ८० घरधुरी भएको रेक्चामा अहिले ७० घर मात्र छन् ।

फाल्गुन ५, २०८२

तृप्ति शाही

Residents of Rekcha, who keep watch over the well, say - 'Vote only for those who manage the water'

What you should know

वीरेन्द्रनगर — पानी व्यवस्थापनको लागि चौकिदार राख्दै आएको रेक्चा गाउँबासीले यो पटक पनि पानीको समस्या समाधान गरिदिनेलाई भोट दिने बताएका छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी भागमा पर्ने यो गाउँमा वर्षौंदेखि खानेपानीको चरम अभाव छ । पानी अभावकै कारण धेरै गाउँ नै छोडेर गएका छन् ।

रेक्चाबासीलाई पिउने पानीकै अभाव छ । हरेक निर्वाचनमा यहाँको पानीको समस्या सम्बोधन गर्ने आश्वासन आइरहेको हुन्छ । सधैं पानीकै आश्वासन पाएर भोट हाल्दै धोका खाँदै गरेकोले नेताहरुप्रति विश्वासै लाग्न छोडेको स्थानीय तपेन्द्र बुढाक्षेत्री बताउँछन् ।

उनका अनुसार सधैंको आश्वासन मात्र भएकोले गाउँबासी रुष्ट छन् । प्रत्येक निर्वाचनमा विकासको नारा लगाउँदै पुग्ने उम्मेदवारहरु फेरि फर्केर नआउने भएपछि यो पटक सोच्नु पर्ने अवस्थामा पुगेको उनले बताए । ‘चुनावको बेला मात्र गाउँ पस्ने उम्मेदवारलाई भोट दिएर के गर्ने भन्नेसम्म पुगिसकेका छौं । तर यसपाली अहिलेसम्म गाउँमा कुनै उम्मेदवार पुगेका छैनन्, हामीहरु छलफलमै छौं,’ उनले भने ।  

पानी अभावकै कारण १० वर्षको अवधिमा ५० प्रतिशत स्थानीय गाउँबाट अन्यन्त्र बसाइँ सरिसकेका छन् । पुर्ख्यौली थलोबाट विस्थापित भएकाहरु चौकुने, पञ्चपुरी, कैलालीसम्म पुगेका छन् । अहिले गाउँमा ७० घरधुरी मात्र छन् ।

पुरानो र जीर्ण इनारको पानी पालो लगाएर प्रयोग गर्ने गरिरहेको स्थानीय लोकबहादुर बुढा क्षेत्री बताउँछन् । उनका अनुसार खडेरीको समयमा इनारमा चौकीदार राखिने गरिन्छ । पानी सबैलाई पुर्याउनका लागि चौकीदार राख्नुपर्ने बाध्यता रहेको उनले बताए । यो गाउँका बासिन्दा बिजुलीको पनि अभावमा छन् ।  उनले भने,‘बत्ती नभएर अध्यारोमा बस्न परेको छ । भएको सडक पनि नाम मात्रको छ । गाडी चल्दैन ।’ 

यो गाउँमा १८ वटा कुवा छन् । तर १० वटामा मात्र पानी निकाल्ल्न मिल्छ । अरु जीर्ण छन् । १ कुवाबाट दिनमा तिन गाग्री जति मात्र पानी आउने गरेको वडासदस्य समेत रहेका तपेन्द्र बताउँछन् । लामो समयबाट विभिन्न निकायमा धाउँदा समेत पानीको जोहो गर्न नसकिएको गुनासो गरे । उनले भने,‘अदालतले खानेपानीको व्यवस्था गर्न आदेश दिँदा पनि सम्बन्धित निकाय बेखबरजस्तै छन् । पानी पनि अड्कलेर खाइरहेका छौं । भएको पानीमा पनि भ्यागुता, सर्पहरुको बासस्थान हो । यस्तो अवस्था हुँदा पनि कसैले चासो देखाएका छैनन्।’

Residents of Rekcha, who keep watch over the well, say - 'Vote only for those who manage the water'

कादुरी नामक एउटा संस्थाले गाउँमा पानीको समस्या समाधान गर्न डिप बोरिङ खन्ने तयारी गरेको छ । तर विद्युत् नपुग्दा डिप बोरिङ गर्ने कामसमेत हुन सकेको छैन । पानी अभावकै कारण गाउँ रित्तिन थालेको छ । पाँच वषअघिसम्म १ सय ८० घरधुरी भएको रेक्चामा अहिले ७० घर मात्र छन् । चार वर्षको बीचमा आधाभन्दा बढी जनसंख्या बसाइँ सरिसकेको वडा कार्यालयको तथ्यांकमा छ । 

२०४८ पछिको निर्वाचनका पानीको आश्वासन देखाएर नेताहरुले भोट माग्दै आए पनि अहिलेसम्म काम कसैले नगरेका लक्षीराम बुढाले बताए । यहाँ ३ सय बढी मतदाता छन् ।

केही समयअघि एक दातृ संस्थाबाट जीर्ण तथा पुराना इनार मर्मत गरिएको थियो । त्योबाहेक पानीका लागि अहिलेसम्म काम हुन नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । उनका अनुसार अब रेक्चामा कादुरी संस्थाको सहयोगमा पानीको लागि काम हुँदैछ । ‘प्रदेश, संघ सरकारलाई पानीको समस्याबारे बारम्बार भने पनि काम भएन,’ उनले भने,‘अब हामी संस्थाको भर परेका छौं । डिप बोरिङ खन्ने सडक पनि बनिसकेको छ । बत्तीको लागि पनि काम अघि बढेको छ ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully