यहाँ २०७४ को निर्वाचनमा चुनावी नारा बनेको ‘एक घर एक धारा’ अभियानले सार्थकता पाउन सकेको छैन । आगामी फागुन २१ मा भइरहेको चुनावमा उम्मेदवारहरु फेरि पनि गाउँमा खानेपानी ल्याइदिन्छु भन्दै भोट माग्न आइरहेका छन् ।
What you should know
पाल्पा — तिनाउ गाउँपालिका–४ सत्यवतीकी गंगा चौहानलाई फागुन महिना नसकिए हुन्थ्यो जस्तो लाग्छ । चैत लाग्नासाथ गाउँमा आएको खानेपानीका मुहान सुक्छन् । त्यसपछि बिहान ३ बजे उठेर पिउने पानी खोज्दै खोल्सीका कुवा धाउनुपर्छ।
‘सबेरै नजाने हो भने कुवाको पानी पनि नपाइने चिन्ता हुन्छ,’ उनले भनिन्, ‘मान्छेलाई खान पनि पुग्दैन । गाईवस्तुलाई खुवाउन पर्ने भएकाले झन् समस्या छ ।’ गोठमा पालेका गाई, बाख्रालाई फुकाएर लैजान मिल्छ तर भैंसीलाई लैजान पनि मिल्दैन ।
क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सत्यवती गाउँ मात्र होइन अन्य टोलबस्तीमा पनि पानीको समस्या छ । संघीय, प्रदेश र स्थानीय सरकारले ‘एक घर एक धारा’ खानेपानी अभियानको नारा दिएको पनि सात वर्ष भइसकेको छ । २०७४ को निर्वाचनमा चुनावी नारा बनेको ‘एक घर एक धारा’ अभियानले सार्थकता पाउन सकेको छैन ।
आगामी फागुन २१ मा भइरहेको चुनावमा उम्मेदवारहरु फेरि पनि गाउँमा खानेपानी ल्याइदिन्छु भन्दै भोट माग्न आइरहेका छन् । सत्यवती–४ का ३ सय बढी परिवार वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका छन् । सबैजसो निर्वाचनमा उम्मेदवारहरुको चुनावी नारा बन्दै आएको खानेपानी समस्या अहिलेसम्म समाधान हुन नसकेको पूर्ववडाध्यक्ष दानबहादुर गाहाले बताए । ‘वडा तथा पालिकको योजना छैन,’ उनले भने, ‘संघ र प्रदेशका योजना सानातिना संचालन भए तर तिनीहरु पनि जीर्ण बन्दै गएका छन् । अहिले सुरु भएका पनि सम्पन्न भइसकेको छैन ।’
तिनाउ गाउँपालिका–४ अन्तर्गत दह, छाप, थपनडाँडा, बौरीडाँडा, सत्यवती, लगाडलगायतका गाउँमा अहिले पनि पानीको समस्या छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भोट माग्न आउने उम्मेदवालाई खानेपानी योजना संचालनको माग गर्दै आएका छन् । ‘चुनावअघि सबै उम्मेदवारले खानेपानी ल्याइदिन्छु भन्छन्,’ तिनाउ गाउँपालिका–४ का उमेश कनौजे मगरले भने, ‘तर चुनाव जितेपछि फर्केर आउँदैनन् । गाउँमा खानेपानीको समस्या जहिलेसुकै उस्तै छ । संचालन भएका योजना पनि अलपत्र छन् तर चासो कसैलाई छैन ।’
यहाँ संचालन भएका योजनासमेत अधुरा छन् । त्यसलाई पूरा गर्न सरोकारवाला निकायले चासो नदिएको उनले बताए । अहिले नै धारामा पानी कम हुँदै गएको छ । बर्खामा असारदेखि असोजसम्म राहत पाए पनि त्यसबाहेकका महिनामा खानेपानीको समस्या हुने गरेको स्थानीय बताउँछन् । चैत, वैसाखमा पानीको झनै सास्ती खेप्नुपर्ने स्थानीय यमन्ती दर्लामी मगरले बताइन् । उनका अनुसार गर्मी सिजनमा रातभर पानी खोज्दै हिँड्नुपर्ने हुन्छ । ‘जति पटक जुनसुकै पार्टीका नेताले चुनाव जितेर गए पनि हाम्रो समस्या समाधान भएन,’ उनले भनिन्, ‘हाम्रो दुःख हामीसँगै छ । कोही नेताले पनि बुझेका छैनन् ।’
गाउँका बासिन्दालाई डोकोमा पानी बोक्न टुटेको छैन । झिसमिसेमै उठेर पानी बोक्नुपर्ने भएकाले राम्रोसँग निन्द्रासमेत पुर्याउन नपाइने उनले गुनासो गरिन् । पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै आयआर्जनका काम गर्न नसकेको उनले बताइन् ।
यहाँ खानेपानी समस्या वर्षौंदेखिको हो । २०४६ को आन्दोलनपछि २०४८ को निर्वाचन भयो । साविकको क्षेत्र २ थियो । यहाँबाट कांग्रेसका स्वर्गीय गम्भीरजंग कार्की निर्वाचित भए । २०५१ र २०५६, २०७० र २०७४ मा एमालेका सोमप्रसाद पाण्डेयले यस क्षेत्रमा चुनाव जिते ।
२०६४ सालमा माओवादीबाट लीला सोमई निर्वाचित भइन् । दुई पटक प्रदेशको र स्थानीय तहको निर्वाचन भइसकेको छ । प्रदेशसभामा तत्कालीन माओवादीबाट तुलाराम घर्ती दुई पटक निर्वाचित भएका छन् । घर्ती अहिले लुम्बिनी प्रदेशको सभामुख छन् । यस्तै स्थानीय तहको पहिलो निर्वाचन (२०७४) मा एमालेका ओमबहादुर घर्ती र दोस्रो निर्वाचन (२०७९) मा एमालेबाटै प्रेम श्रेष्ठ विजयी भए । ‘सबै जनाले यस गाउँमा मुखले बोलेर खानेपानी ल्याइसक्नुभयो,’ स्थानीय टेकबहादुर सुनारीले भने, ‘तर अहिलेसम्म कसैले पनि बोलेको बाचा पूरा गर्नु भएन । हामीलाई जहिलेसुकै पानीको दुःख रहेकै छ ।’
निर्वाचनमा भाग लिएका सबै पार्टीका उम्मेदवारले गाउँमा भोट माग्न आउँदा खानेपानी योजना संचालन गर्छु भन्दै भोट माग्छन् । कोही जिते, कोही हारे । जितेर गएकाहरु फर्केर नआउने र हारेकाहरुले पनि मतलब नगर्ने उनको गुनासो छ ।
खानेपानी नपाएपछि रन्डाकुवा, बुढासिंह गैरा, ड्याडुङकुवा, धारादी गैराबाट पानी बोकेर ल्याउनुपर्ने वर्षौंदेखिको बाध्यता अझै कायमै भएको उनले बताए । निर्माणको काम गर्दा गाउँले मिलेर पानी बोक्नुपर्ने बाध्यता छ । सुनारीका अनुसार चैत, वैसाखको गर्मीमा कतिपयले खोला, कुवामा पानी नपाएपछि रित्तै फर्किनुपर्ने हुन्छ ।
खानेपानी समस्या समाधानका लागि डियाङ्खोला (सत्यवती) लिफ्टिङ खानेपानी योजना २०७८ सालमा सुरु भएको योजनाका पूर्वसचिवसमेत रहेका सुनारीले बताए । अहिलेसम्म एउटा ट्यांकी मात्र बनेर अलपत्र छ । बजेट अभावले समस्या भएको उनले बताए । बजेट नहुँदा योजनाले निरन्तरता पाउन सकेको छैन । यो योजनालाई निरन्तरता दिन चासोसमेत कसैले नदिएको उनले बताए । त्यसैले यहाँका मतदाता यसपटक गाउँमा खानेपानी ल्याइदिने ग्यारेन्टी गर्नेलाई मतदान गर्ने योजनामा छन् ।
तिनाउ गाउँपालिका–४ का वडाध्यक्ष तुलबहादुर आलेका अनुसार सत्यवती लिफ्ट, नाफखोला, ढापनडाँडालगायतका योजना खानेपानी तथा सरसफाई कार्यालय पाल्पामार्फत् निर्माण सुरु भएका छन् । गिजनचौर, लुगुवाघाट, थपनडाँडालगायतका स्थानमा बनेका ट्यांकीसमेत जीर्ण बनेको वडाध्यक्ष आलेले बताए।
पछिल्लो समय सत्यवती खानेपानी योजना संचालनका लागि लालबहादुर दर्लामीको अध्यक्षतामा समिति बनाएका छन् । ‘योजना सुरु गर्ने, बजेट कम राख्ने र अलपत्र पार्ने काम भएको छ,’ उनले भने, ‘कतिपय मर्मतमा वडाले पनि सहयोग गरेको छ । तर उपभोक्ताको पनि चासो कम भएर समस्या सधै बल्झेको हो ।’
नयाँ योजनाका लागि गाउँपालिका र वडाको योजना नभएको तर हरेक वर्ष मर्मतको काममा भने बजेट खर्च गर्ने गरेको उनले बताए ।
प्रदेशले सुरु गरेको योजनामा पालिका र वडाले बजेट राख्न नमिल्ने भएकाले पनि कतिपय वर्षौंदेखि अधुरै रहेको उनले बताए । पहुँचका आधारमा पाल्पा जिल्लाका अन्य गाउँमा दोहोरो, तेहोरो खानेपानी योजना संचालन भएका थुप्रै उदाहरण छन् । सत्यवती क्षेत्रमा भने धेरै पूराना योजनासमेत जेनतेन चलेका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत खानेपानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेलका अनुसार बजेट कम हुने भएकाले कतिपय योजना पूरा हुन ढिलाई हुने गरेको हो । तिनाउ गाउँपालिका–४ अन्तर्गत नाफखोला, ढापनडाँडा र सत्यवती लिफ्ट (डियाङखोला) अन्तर्गत ५/५ लाख बजेट रहेको उनले बताए ।
