जन अधिकार पार्टीको घोषणा पत्र-‘मधेश केन्द्रीत दल स्वार्थमा अल्झिदा यहाँको विकास भएन’

मंगलबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणा पत्रमा मधेश केन्द्रीत दल स्वार्थमा अल्झिदा यहाँको विकास नभएको उल्लेख गरिएको छ ।

फाल्गुन ५, २०८२

विद्यानन्द राम

Jan Adhikar Party's manifesto - 'Madhesh-centric parties did not develop here because they were entangled in self-interest'

What you should know

राजविराज — जन अधिकार पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणा पत्रमा मधेश केन्द्रीत दल स्वार्थमा अल्झिदा यहाँको विकास नभएको उल्लेख गरिएको छ ।

‘संघीयता आएपछि पहिलो ५ र दोस्रो कार्यकालको ३ वर्ष आफुलाई मधेशी भनिने दलहरुले नै प्रदेशको नेतृत्व गर्‍यो तर दुःखको कुरा प्रदेशमा कुनै पनि सूचकांकमा सुधार भएन’ पत्रमा भनिएको छ, ‘यहाँ भौगोलिक सुगमता, उर्वरभूमि, पूर्वाधारमा सरल पहुँचलगायत श्रोत साधनले सम्पन्न भए पनि मानव विकास सूचकांक, साक्षरता दर, रोजगारी, शिक्षा र स्वास्थ्यमा त्यत्तिकै कमजोर स्थिति छ ।’

अधिकारको आन्दोलनबाट जन्मेको मधेशी दलहरु आफ्नो व्यक्तिगत अधिकार खोज्न, परिवारवाद र आफन्तमै रमाएका कारण प्रदेशमा अपेक्षाअनुकुल विकास हुन नसकेको पार्टीको ठहर छ । ‘मधेशीको बलिदानीबाट २०६३ मा उदाएको तत्कालीन मधेशी जनअधिकार फोरमलाई २०६४ मा जनताले ५३ सिटमा जितायो । अहिले जसपा नेपाल बनिसकेको छ’ पत्रमा भनिएको छ, ‘जनताले तत्कालीन राजपालाई पनि नेतृत्व दिएकै हो । अहिलेसम्म आउँदा यी दलका नेता को कहाँ छन्, के गरिरहेका छन् ? भन्ने स्थिति सबैलाई थाहा भएकै हुनुपर्छ।’

०७९ अघिसम्म प्रदेशमा भ्रष्टाचार बढेको भन्दै सुशासनको कुरा गर्दै आएको जनमत पार्टीले पनि झण्डै डेढ वर्ष प्रदेशको नेतृत्व सम्हाल्दा पनि व्यक्तिगत स्वार्थमै रुम्लिएको पत्रमा आरोप लगाइएको छ । ‘मधेशी पार्टीको नाम धेरै पटक फेरियो, नेता र नेताको प्रवृत्ति नफेरिएका कारण विकास हुन नसकेको भन्दा अनुपयुक्त नहोला’ घोषणा पत्रमा भनिएको छ, ‘सुशासनका निम्ति भएको जेनजी विद्रोहको मर्म र ती नेताहरुले सिर्जना गरेको अवस्थालाई नियाँल्दै जन अधिकार पार्टीको जन्म भएको हो ।’

पार्टीका अध्यक्षसमेत रहेका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार शरदसिंह यादवले सार्वजनिक गरेको घोषणा पत्रमा मधेश प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि, वन तथा वातावरण, श्रम, यातायात, उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रमा उल्लेखनीय सुधारका पहल गर्ने उल्लेख गरिएको छ । खेलकुद, भौतिक पूर्वाधार, सार्वजनिक सेवा, संस्कृति र संस्कारलगायत क्षेत्रमा पनि सुधार गर्ने घोषणा पत्रमा समावेश गरिएको छ ।

यसैबीच सप्तरी क्षेत्र नम्बर २ मा आम जनता पार्टी (आजपा)बाट उम्मेदवार सुनिलराज दासले प्रत्यक्षतर्फ जन अधिकार पार्टीलाई समर्थन गर्ने भएका छन् । सोही पत्रकार सम्मेलनमा दासले मधेशका मुद्दा सबल ढंगले संसदमा राख्नकालागि शिक्षित युवा नै यहाँबाट जितेरै जानुपर्ने मान्यताका कारण आफुले समर्थन दिएको बताए । ‘मधेश केन्द्रीत अन्य दलहरुले त स्वर्गीय नेता गजेन्द्रनारायण सिंहको फोटोसमेत राखेको देख्दिन, यहाँका समस्या र मुद्दा के नै उठाउँलान र !,’ उनले भने, ‘उहाँ (शरद सिंह यादव) जस्तो शिक्षित युवाहरु संसदमा हुनुपर्छ ।’

समानुपातिकमा भने आजपाकै लागि भोट माग्ने गरी जन अधिकार पार्टीसँग आन्तरिक सहमति भएको आजपाका जिल्ला इन्चार्जसमेत दासको भनाइ छ । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully