कपिलवस्तु-१ मा केन्द्रीय बैंक, वित्तिय संस्था सञ्चालनको अनुभव भएकादेखि भुइँ मान्छेका लागि काम गरिरहेकाहरु चुनावी मैदानमा छन् । कोही ‘बुलेट’ छाडेर ‘ब्यालेट’मा फर्किएर मत मागिरहेका छन् । कृषि उद्यमी, व्यवसायी र कृषि कर्ममा रमाएकाहरु फागुन २१ को निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बन्न मेहनत गरिरहेका छन् ।
What you should know
कपिलवस्तु — राष्ट्रिय औषतभन्दा धेरै गरिबी दर रहेको कपिलवस्तुमा समृद्धिका नारासहित चुनावी अभियान तिब्र भइरहेको छ। आर्थिक विकासका सम्भावना भएर पनि ओझेलमा परेको जिल्लामा यसपटक सीप, क्षमता र विद्वता भएका व्यक्ति उम्मेदवार छन् । संविधान विज्ञदेखि हाइड्रोपावरका डिजाइनर र अपरेसनल विशेषज्ञसम्म प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुलुकको केन्द्रीय बैंक, वित्तिय संस्था सञ्चालनको अनुभव भएकादेखि भूँइ मान्छेकालागि काम गरिरहेकाहरु चुनावी मैदानमा छन् । कोही ‘बुलेट’ छाडेर ब्यालेटमा फर्किएर मत मागिरहेका छन् । कृषि उद्यमी, व्यवसायी र कृषि कर्ममा रमाएकाहरु फागुन २१ को निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बन्न मिहेनत गरिरहेका छन् । यसरी चुनावमा होमिने अधिकांश नयाँ व्यक्ति हुन् । जिल्लास्थित तीन निर्वाचन क्षेत्र मध्ये कपलिवस्तु–१ मा यस्ता दक्षता हाँसिल गरेका र अनुभवी उम्मेदवार रहेका छन् ।
कलिवस्तु–१ मा विभिन्न दलका २० र स्वतन्त्र १४ जना प्रतिस्पर्धामा रहेका छन् । यो क्षेत्रमा तीन जना संविधानसभा सदस्य पनि उम्मेदवार बनेका छन् । यस क्षेत्रमा चुनावी सरगर्मी मात्र बढेको छैन, उम्मेदवारले मतदाताका तीखा प्रश्न सामना गर्नु परिरहेको छ ।
संविधानसभा अन्तर्गत विशेषज्ञ भएर ७ वर्ष काम गरेका मोहनलाल आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेवार बनेका छन् । पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीसित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र कृषि मन्त्रालय लगायत विभिन्न सरकारी निकायकालागि कानून निर्माण, अध्ययन–अनुसन्धान तथा कानूनको विधायिकी परीक्षणमा काम गरेको अनुभव छ ।
बाणगंगा–४ सिद्धीपुरका ५३ वर्षीय आचार्यले अन्तर्राष्ट्रिय कानून र समाजशास्त्र गरी दुई विषयमा स्नाकोत्तर गरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा कानून तर्जुमा, स्थानीय न्यायिक समितिको सुदृढीकरण तथा विशेष क्षमता अभिवृद्धि तालिमका विषय विज्ञ आर्चायले कृषिलाई प्राथमिकता दिएको बताए ।
सिँचाइ र मलखाद किसानको पहुँच पुर्याउन ध्यान दिने बताए । कृषि उपजको बजारीकरण, जिल्लामा मेडिकल कलेज सञ्चालनकालागि पहल गर्ने र बुद्ध सर्किटलाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेको उनले बताए ।
हाइड्रोपावर विशेषज्ञ नरेन्द्रप्रसाद चौधरी पनि चुनावी मैदानमा छन् । जनमत पार्टीबाट उम्मेदवार बनेका उनी २५ वर्षदेखि हाइड्रोपावरको क्षेत्रमा काम गरिरहेका छन् । मुलुकमा हाइड्रोपावरका विषय विज्ञका रुपमा स्थापित मानिन्छन् ।
भोटेकोशी हाइड्रोपावर कम्पनीमा २५ वर्ष भन्दाबढी सिनियर अप्रेसनल एण्ड मेन्टिनेन्स इञ्जिनियरका रुपमा काम गरेको अनुभव छ । दुई दशकमा १२ भन्दा बढी हाइड्रोपावरकाका डिजाइन र इस्टिमेटको काम गरेको उनले बताए । हाइड्रोपावर परामर्शदाताका रुपमा काम गरेको अनुभव छ । मायादेवी–१ पकडीका ५५ वर्षीय चौधरीले सन् १९९६ भारतको बेङलोर विश्वविद्यालय बिइ इलेक्ट्रिकल (स्नातक) उर्त्तीण गरेका छन् ।
जनमत पार्टीका संस्थापकमध्येका एक उनी दोस्रो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन् । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचमा उनी तेस्रो स्थानमा रहेका थिए । गाउँमा बसेर राजनीति गर्दै आएकाले स्थानीय समस्या राम्ररी बुझेर त्यही अनुसार क्षेत्र विकासको योजना बनाएको उनी बताउँछन् । ‘सानो भए पनि गाउँलेलाई उद्यम चाहिएको छ,’ उनले भने, ‘त्यसलाई नीति बनाएर योजना बनाई अघि बढछु । ठूला कुराको आश्वासन दिन्न् ।’ शिक्षा, स्वास्थ्य र विकासको क्षेत्रमा आधारभूत परिवर्तन गर्ने उनले बताए । उनी जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष पनि हुन् ।
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) थाइल्याण्डबाट एमबीए अध्ययन गरेका आशिष शर्मा पनि चुनावी मैदानमा छन् । ४६ वर्षीय शर्मा स्वतन्त्र उम्मेदवार हुन् । बैंक तथा वित्तीय संस्थाको उच्च पदमा १५ वर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ । नविल र हिमालयन बैंकमा निर्देशक पदमा रहेर काम गरेको शर्माले बताए । चौधरी ग्रुपमा नायब महाप्रबन्धक पदमा समेत काम गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघमा बसेर काम गरेको अनुभव छ । युवालाई आयआर्जनसँग जोड्ने योजना र कार्यक्रम आफूसित रहेको शर्मा बताउँछन् ।
जिल्लाको पहिचान स्थापित गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएको उनले बताए । कसैले ‘घर कहाँ हो भनेर सोधे बुटवल’ भन्नु नपर्ने अवस्था सिर्जना गर्ने उनले बताए । ‘कृषिलाई प्राथमकिता दिएर कृषि मिटर सहज बनाउँछु,’ उनले भने, ‘बिजुलीकालागि पोल पाए, तार नपाउने, तार पाए पोल नपाउने अवस्था अन्त्य गर्न लाग्छु।’ कांग्रेस महासमिति सदस्य शर्मा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
जिल्लामा ‘भूँइ’ मान्छेको परिचय बनाएका अतहरकमाल मुसलमान कांग्रेसबाट उम्मेदवार छन् । खरो र स्पष्ट वाककलाबाट चिनिएका उनले २०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्म्मेदवार बनेर चुनाव जितेका थिए । आफू स्वतन्त्र उम्मेदवार भए पनि त्यसबेला उनले सबैलाई देखाएर कांग्रेसको चुनाव चिन्हमा भोट हालेका थिए ।
२०७४ मा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका मुसलमान दुई दशकदेखि मधेशमा सिमान्तीकृत र बञ्चितीकरणमा परेका समुदायका बालबालिकाको शिक्षामा पहुँचकालागि वकालत गर्दै आएका छन् । सामाजिक परिचालन अभियान चलाएर गरिब, विपन्न र पछडिएका समुदायलाई छात्रवृत्ति, पढाइमा निरन्तरता, स्वच्छ खानेपानी र आयआर्जन काममा जोडेका छन् ।
स्वतन्त्र रुपमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको प्रस्ताव गर्दा समेत पार्टी नछाडेको बताउँदै उनले भने, ‘अहिले कांग्रेसबाट उम्मेदवार हुन पाउँदा गर्व छ ।’ बाणगंगा–११ वनकटवाका ५५ वर्षीय मुसलमानले कृषिमा आधुनिकिरण गरेर उत्पादनदेखि बजारिकरणका काम मार्फत स्वरोजगारी बढाउने लक्ष्य लिएको बताए ।
साइकलमा दुध संकलन गरेर बिक्री गर्दै उद्यमी बनेका कृष्णबहादुर कुँवर अहिले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् । ५/६ वर्ष दुग्ध व्यवसाय गरेर सामान्य मजदुरबाट उद्यमी बनेका हुन् । २०७२ बाट गाउँ–गाउँमा बिजुली बल्न थालेपछि उनी विद्युत व्यापारतिर लागेको बताउँछन् ।
बाणगंगा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहका कुँवरले विद्यालयमा छात्रवृत्ति वितरण गर्न एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । आफैले कोषलाई १० लाख प्रदान गरेका थिए । युवालाई खेलकुदमा प्रोत्साहन गर्न अग्रस्थानमा रहेका उनी समाजसेवीका रुपमा चिनिन्छन् । नेपालीमा स्नातक गरेका उनले इमान्दारिता देखाउने र भ्रष्टाचार नगर्ने चुनावी नारा बनाएका छन् । कृषि र सिँचाइलाई प्राथमिता दिने काम गर्ने बताए ।
तत्कालीन माओवादीका कपिलवस्तु जनसरकार उपप्रमुख ५६ वर्षीय संघप्रसाद थारु नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट उम्मेदवार बनेर प्रचार अभियानमा छन् । ०५२/५३ बाट अखिल नेपाल जनवादी युवा लिगबाट राजनीति सुरु गरेर ०५६ मा पूर्णकालीन नेता भएका थिए ।
सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी अवध राज्य समिति सदस्य रहेका थारु २०६४ मा संविधानसभा सदस्य भएका थिए । नेकपा माओवादीका केन्द्रीय सदस्य थारुले कपिलवस्तु–१ मा उपलब्ध स्थानीय स्रोतमा स्थानीयको अधिकार हुनु पर्ने प्रमुख एजेण्डा बनाएर मत मागिरहेका छन् । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रतिनिधिसभा बनाउने प्रमुख एजेण्डा रहेको उनले बताए ।
एमालेबाट ५६ वर्षीय विश्रामप्रसाद चौधरीले उम्मेदवार छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटि सदस्य रहेका उनी बाणगंगा–६ अमौलीका बासिन्दा हुन् । उनी पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन् । सुशासन र भ्रष्टाचार नियन्त्रण प्रमुख एजेण्डा बनाएर प्रचारमा होमिएका चौधरीले बताए । कृषि, मलखाद र सिँचाइलाई पनि प्राथमिकतामा राखेर मतदाताका घरघर पुगिरहेका छन् । समानुपातिक तर्फबाट दोस्रो संविधानसभा सदस्य रहेका चौधरी समाजसेवीका रुपमा चिनिन्छन् ।
कपिलवस्तु–१ मा एक लाख ४७ हजार ६ सय ४९ मतदाता छन् ।
