६७ वर्षपछि कांग्रेसलाई जिताउने दाउमा कांग्रेसका दिनेश राई, एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सानबहादुर राईलगायतका दल र स्वतन्त्र उम्मेदवारसित प्रतिष्पर्धा गरिरहेका छन् ।
What you should know
धनकुटा — राणा शासनको अन्त्यपछि विसं २०१५ सालमा सम्पन्न पहिलो आम निर्वाचनबाट मुलुकमा प्रजातान्त्रिक अभ्यासको सुरुवात भयो । उक्त निर्वाचनमा १ सय ९ मध्ये नेपाली कांग्रेसले ७४ सिट जितेको थियो ।
सोही निर्वाचनमा पूर्वको पहाडी जिल्ला धनकुटाले पनि कांग्रेसलाई एकछत्र जनमत दिएको थियो । त्यसबेला धनकुटा पूर्व क्षेत्रको प्रशासनिक केन्द्र थियो ।
अहिलेको ‘धनकुटा’ भूगोलबाट ०१५ सालमा कांग्रेस नेता डगलसेन लिम्बु र लीलानाथ दाहाल बिजयी भएको कांग्रेसका कार्यवाहक जिल्ला सभापति निर्मलप्रसाद ओझाले बताए । त्यसयताका कांग्रेसले जिल्लामा प्रतक्ष्यतर्फ सफलता पाउन सकेको छैन ।
२०१७ पुस १ मा निर्वाचित सरकार भंग गरिएको थियो । २०४६ सालमा जनआन्दोलन सफलतापछि २०४८ सालमा संसदीय निर्वाचन भयो । २०४८ को निर्वाचनमा धनकुटा–१ बाट तत्कालीन कांग्रेस सभापति जनकसेन लिम्बु उम्मेदवार बनेका थिए । उनी एमालेका रकम चेम्जोङसाग पराजित भए । धनकुटा–२, मा कांग्रेसका अर्जुन थापा एमालेका गोपाल गुरागाइँसित पराजित भएका थिए ।
२०५१ को मध्यावधि निर्वाचनमा पनि धनकुटाका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भए । त्यतिबेला धनकुटा–१ बाट कांग्रेसका तत्कालीन जिल्ला उपसभापति हरिकुमार राई तेस्रो स्थानमा सिमित भए । राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो भयो । एमालेका चेम्जोङ दोस्रोपटक बिजयी भएका थिए । धनकुटा २ बाट कांग्रेसका मनोहरनारायण श्रेष्ठ राप्रपा नेता सूर्यबहादुर थापासित पराजित भएका थिए ।
पत्रकार महासंघ धनकुटा शाखाका पूर्वसभापति नगेन्द्र राई त्यसपछि पनि कांग्रेसको हारको सिलसिला टुट्न नसकेको उनले बताए । २०५६ को निर्वाचनमा पनि कांग्रेसले निराशामात्र हात पार्यो । धनकुटा १ मा एमाले र धनकुटा २ बाट राप्रपाका थापा नै बिजयी भएका थिए । कांग्रेसका उम्मेदवार हरिकुमार राई र अर्जुन थापा पराजित भएका थिए ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस झन्पछि पर्यो । धनकुटाका दुवै निर्वाचन क्षेत्रबाट तत्कालीन माओवादीका उम्मेदवार बिजयी भएका थिए । धनकुटा १ बाट संविधानसभा सदस्यमा तत्कालीन माओवादीका हेमराज भण्डारी र २ बाट हरिराज खेवा निर्वाचित भएका थिए ।
२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा धनकुटा १ मा कांग्रेसबाट अजित नारायण सिंह थापा र एमालेका टीकाराम चेम्जोङबीच प्रतिष्पर्धा थियो । उक्त निर्वाचनमा एमाले उम्मेदवार चेम्जोङ बिजयी भए । धनकुटा २ बाट राप्रपाका सुनिलबहादुर थापा बिजयी भएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससहित लोकतान्त्रिक दलको समर्थनमा राप्रपाका सुनिलबहादुर थापा उम्मेदवार बने पनि एमालेका राजेन्द्रकुमार राईसाग पराजित भए । प्रदेशसभातर्फ पनि कांग्रेसका उम्मेदवारले पराजय भोगे । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजेन्द्रकुमार राई र राप्रपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका थापाबीच प्रतिष्पर्धा भयो । त्यसपटक पनि कांग्रेसका थापा पराजित भए । एमालेका राई दोस्रोपटक बिजयी भए ।
०१५ सालयता प्रतक्ष्य निर्वाचन नजितेको कांग्रेसबाट २०६४ मा लीला सुब्बा समानुपातिक तर्फबाट सांसाद बनेकी थिइन् । २०७० मा कांग्रेस नेता मनोहरनारायण श्रेष्ठ र अञ्जना ताम्ली समानुपातिक सांसद चुनिएका थिए । २०७४ मा समानुपातिक तर्फबाट लीला सुब्बा कोशी प्रदेश सांसद भइन् । २०७९ मा कांग्रेसले इन्दिरा थापालाई समानुपातिक सांसद बनाएको कार्यवाहक जिल्ला सभापति ओझाले जानकारी दिए ।
कांग्रेसले यसपटक नयाँ अनुहारलाई उम्मेदवारलाई बनाएर मत मागिरहेको छ । कांग्रेस जिल्ला सभापति रहेका सीमान्तकृत आठपहरिया समुदायका ४५ वर्षीय दिनेश राई चुनावी मैदानमा छन् ।
६७ वर्षपछि कांग्रेसलाई जिताउने दाउमा कांग्रेसका राई, एमाले केन्द्रिय सदस्य राजेन्द्रकुमार राई, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सानबहादुर राईलगायतका दल र स्वतन्त्र उम्मेदवारसित प्रतिष्पर्धा गरिरहेका छन् ।
कांग्रेस कार्यवाहक सभापति ओझा जिल्लाका दाताले नयाँ स्वाद खोजेकाले आफ्ना उम्मेदवार बिजयी हुने दावी गर्छन् । ‘जेन–जीको भावना कांग्रेसले मात्रै बुझ्न र सोही अनुरुप काम गर्न सक्छ,’ उनले भने, ‘एमालेले पटकपटक जितेर पनि अपेक्षा अनुसार काम गर्न सकेन, जसले गर्दा कार्यकर्ता रुष्ट छन् ।’ यसपटक पार्टीभित्र गुट–उपगुट र बेमेल अन्त्य भएको उनले जनाए ।
