'प्रत्यक्ष निर्वाचित कार्यकारीले आफ्नो मन्त्रिमण्डल स्वतन्त्रतापूर्वक विज्ञ तथा राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वहरूबाट बनाउने प्रावधान गरिनेछ'
काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने उल्लेख गरिएको छ ।
प्रलोपाको प्रतिबद्धतापत्र काठमाडौंमा सार्वजनिक गरिएको हो । नेताहरू दुर्गा सोब, सन्तोष परियारलगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्रमा संविधान संशोधनलगायतका विषय समावेश गरिएको छ । 'प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख- संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने प्रणाली लागु गरिनेछ,' प्रतिबद्धतापत्रमा लेखिएको छ, 'एक व्यक्ति एक पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था गरिनेछ ।'
प्रलोपाको प्रतिबद्धतापत्रमा मन्त्रिपरिषद् स्वतन्त्रपूर्वक गठन गरिने व्यवस्था लागु गरिने उल्लेख छ । 'प्रत्यक्ष निर्वाचित कार्यकारीले आफ्नो मन्त्रिमण्डल स्वतन्त्रतापूर्वक विज्ञ तथा राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वहरूबाट बनाउने प्रावधान गरिनेछ,' प्रतिबद्धतापत्रमा उल्लेख छ ।
संसद्को भूमिका कानुन निर्माणमा सीमित गरिने पनि प्रतिबद्धता जनाइएको छ । 'राइट टू रिजेक्ट र राइट टू रिकल'को व्यवस्था गरिने पनि प्रलोपाको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
