बर्दिया–१ का मतदाताको मुख्य माग वन्यजन्तु आतंक नियन्त्रण

वन्यजन्तुको आक्रमणबाट प्रताडित भएका बर्दियाको बारबर्दिया क्षेत्रका बासिन्दाले अन्य मागलाई दोस्रो प्राथमिकतामा राखेका हुन् ।

फाल्गुन २, २०८२

कमल पन्थी

What you should know

बर्दिया — हरेक चुनावमा मतदाताले उम्मेदवारसँग बाटाघाटा, स्वास्थ्य, रोजगारी, मलखाद, सिँचाइलगायतका समस्या राखेका हुन्थे । तर आसन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ का मतदाताको प्रमुख मुद्दा वन्यजन्तु आतंक नियन्त्रणलाई बनाएका छन् ।

वन्यजन्तुको आक्रमणबाट प्रताडित भएका बर्दियाको बारबर्दिया क्षेत्रका बासिन्दाले अन्य मागलाई दोस्रो प्राथमिकतामा राखेका हुन् । वन्यजन्तुको त्रासले आजित भएका यहाँका मतदाताले उम्मेदवारको मौखिक आश्वासनमा विश्वास नगर्ने बताइरहेका छन् ।  

स्थानीयका अनुसार चितुवा, बाघलगायत वन्यजन्तु आक्रमणको डरले खेतमा एक्लै जान सक्दैनन् । दिउँसै वन्यजन्तुको त्रासले गाउँ, सडक, खेत प्रायःसुनसान हुने गरेको उनीहरु बताउँछन् । चुनाव भन्दा वन्यजन्तुबाट ज्यान जोगाउने चिन्ता रहेको बारबर्दिया नगरपालिका–११ बेलभारका किसान माधु थारुले गुनासो पोखे ।

‘वन्यजन्तु नियन्त्रणका लागि व्यवस्थापन नगरेसम्म उम्मेदवारलाई भोट दिन्नौं,’ उनले भने, ‘चितुवाको त्रासले गाउँ साँझ नपर्दै सुनसान हुने गरेको छ । रातिसम्म एक्लै खेतमा काम गर्ने किसान आजभोली समूह बनाएर मात्रै जान सकेका छौं ।’ आफूहरुले यसपाली वन्यजन्तुको व्यवस्थापनसहित मानव वन्यजन्तु द्वन्द्व समाधान गर्नेलाई भोट दिने मनसाय बनाएको उनले सुनाए ।

गएको साउनयता वन्यजन्तुको आक्रमणबाट यो पालिकाको १० र ११ वडाका ६ जना किसानको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक छ । यो  अवधिमा बारबर्दियासहित अन्य पालिकामा वन्यजन्तुको आक्रमणमा परी १० जनाको ज्यान गएको छ ।

यसअघि हरेक चुनावमा आश्वासन बाड्दै आएका उम्मेदवार निर्वाचित भएर फर्केर पनि नआउने गरेको बारबर्दिया–११ का राधेश्याम थारुले गुनासो पोखे । ‘खेतमा त्रासले काम गर्नु पर्छ, एक्लै जान हिम्मत कसैको छैन,’ उनले भने, ‘खेतमा गएका मानिस वन्यजन्तुको आक्रमणमा कतिखेर पर्ने हो भन्ने त्रासमा हुन्छौं ।’

वनजंगल, खेतलगायत सडकमा दैनिक चितुवा ओहोरदोहोर गरेको स्थानीय बताउँछन् । वन्यजन्तुको त्रासका कारण चुनाव आएको कुनै उत्साह नभएको स्थानीय रामबहादुर चौधरी बताउँछन् । ‘बबई नदीस्थित जब्दीघाट पुल हुँदै बेलभारतिर चितुवाको त्रासले आउजाउ गर्न छाडेका छौं,’ उनले भने, ‘भोट माग्ने उम्मेदवारले वन्यजन्तु नियन्त्रणका लागि ठोस योजनासहित लिखित प्रतिबद्धता नदिए भोट दिँदैनौं ।’ चितुवाले दिउँसै घरछेउमै आएर बंगुर, बाख्रा, कुखुरा मार्ने गरेको बेलभारकी प्रेम कुमारी थारुले बताइन् । 

माघ २२ गते दिउँसो बारबर्दिया नगरपालिका–१० स्थित जनजागृति सामुदायिक वनमा घास काट्ने जाने बेला चितुवाको आक्रमणमा गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकायको ज्यान गयो । माघ ७ गते बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया खिदनी थारुको आफ्नै करेसाबारीमा काम गर्दा चितुवाको आक्रमणमा परी मृत्यु भयो ।

गत पुस ९ गते बारबर्दिया–५२ वर्षीया पवित्रा डाँगीको फेनापति सामुदायिक वनमा घास काट्ने बेलामा चितुवाको आक्रमणबाट मृत्यु भयो । सोही पालिका–१० का पेरहवामा सामुदायिक वनमा शौच गर्दा चितुवाको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका वरिष्ठ सहायक वन अधिकृत रामगोपाल चौधरीले बताए । चालु आर्थिक वर्षमा मात्रै यो पालिकामा चितुवाको आक्रमणबाट ६ जनाको ज्यान गएको छ । 

दुई दिनमा सकिने खेतको काम चितुवाको त्रासले अहिले एक साता लाग्ने गरेको स्थानीय बताउँछन् । सबै गाउँले पालैपालो एकअर्काको तोरी उखाल्न थालेको र खेतमा जाँदा कम्तीमा ५/६ जनाको समूह बनाउनु परेको उनीहरु बताउँछन् । 

वर्षौंदेखि बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तुका समस्या समाधान गर्न माग उठाउँदै आएकोमा अहिले जिल्लाका आठै फालिकाका वन्यजन्तु आक्रमणले आक्रान्त छ । वन्यजन्तुको आक्रमण बढ्दै गएका कारण पीडितले जनप्रतिनिधिलाई दबाब पनि दिन थालेका छन् । 

गुलरिया नगरपालिका–५ बालापुरमा गत जेठ १४ गते घरकै शौचालय गएकी ६ वर्षीया साइरा चौधरीलाई चितुवाले आक्रमण गर्दा मृत्यु भयो । गत साउन ३१ गते घरनजिकको खेतमा काम गरिरहेकी गुलरिया नगरपालिका–१२ भैसाहीकी जगतरानी थारुको पनि चितुवाकै आक्रमणमा मृत्यु भयो । वनमा माक्रै होइन घर, खेतमै चितुवाको आक्रमण हुन थालेपछि यहाँ हरेकजसो बस्तीमा त्रास छ । उनीहरुले वन्यजन्तु नियन्त्रण गर्ने उम्मेदवारको मौखिक आश्वासनको सट्टा लिखित प्रतिबद्धता मागिरहेका छन् ।

गत साउनयता जिल्लामा चितुवाको आक्रमणमा ८ जना, हात्ती र बाघबाट २ जनाको ज्यान गइसकेको छ । बारबर्दियामा दुई वडाका ६ जनाको चितुवाले ज्यान लिएपछि आक्रोशित स्थानीयले साताअघि जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन पनि गरेका थिए ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully