कोमामा रहेको संविधान ब्युँताउन फागुन २१ को निर्वाचन अनिवार्य :  महामन्त्री घिमिरे

महामन्त्री घिमिरेले जेन-जी आन्दोलनपछि सृजना भएको विषम परिस्थितिमा गठन भएको सरकारको नेतृत्वले ६ महिनाभित्र तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने बाटोतर्फ उन्मुख भएको बताए ।

फाल्गुन २, २०८२

सुन्दर शिल्पकार

भक्तपुर — नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कोमामा रहेको संविधानलाई ब्युँताउनका लागि फागुन २१ को निर्वाचन अनिवार्य रहेको बताएका छन् । 

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमितिले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै महामन्त्री घिमिरेले जेन-जी आन्दोलनपछि सृजना भएको विषम परिस्थितिमा गठन भएको सरकारको नेतृत्वले ६ महिनाभित्र तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने बाटोतर्फ उन्मुख भएको बताए । यो निर्वाचन शान्ति, स्थिरता, उज्यालो र देशलाई दिगो शान्ति चाहनेहरु र अस्थिरता, अशान्ति चाहनेहरूबीचको जनमतसंग्रहको रूपमा आफूले लिएको बताए । निर्वाचन पाण्डप र कौरव बिचको महाभारत भइको उनको टिप्पणी थियो । 

महामन्त्री घिमिरेले जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई कांग्रेसले सम्बोधन गर्दै विशेष महाधिवेशनमार्फत गगन थापालाई नेतृत्व सुम्पिएको बताए । उनले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसका सबै नेता तथा कार्यकर्ताले १६५ वटै निर्वाचन क्षेत्रमध्ये १६४ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजय गराउन लाग्नुपर्नेमा जोड दिए । 

सुन्दर शिल्पकार

Link copied successfully