राष्ट्रिय सभाको १९ औं अधिवेशन अन्त्य

राष्ट्रिय सभाको १९ औं अधिवेशन समयका हिसाबले छोटो भएपनि कामको हिसाबले निकै महत्त्वपूर्ण भएको अध्यक्ष नारायणप्रसाद दाहालको भनाइ थियो ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराएका थिए । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन् ।  

राष्ट्रिय सभाको १९ औँ अधिवेशन समयका हिसाबले छोटो भएपनि कामको हिसाबले निकै महत्त्वपूर्ण भएको अध्यक्ष दाहालको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनको संघारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गरेको पनि उनको भनाइ थियो । अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ । पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक, २०८१ लाई राष्ट्रिय सभाले पारित गरेको हो । यी विधेयकहरू नयाँ प्रतिनिधिसभा आएपछि त्यहाँ पेस हुनेछन् । 

यस्तै, राष्ट्रिय सभाले अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् । सरकारले राष्ट्रिय सभाको चालु अधिवेशनबाट सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ ।

२७ दिन चालेको यो अधिवेशनमा कुल ९ वटा बैठक बसेका थिए । 

कान्तिपुर

Link copied successfully