गोरखाबाट सर्लाही झरेका श्रेष्ठ

नेकपा नेता नारायणकाजी श्रेष्ठले सर्लाही–३ रोज्नुका पछाडिको ठोस कारण सुरक्षित क्षेत्रको खोजी नै हो, गत निर्वाचनमा यस क्षेत्रमा तत्कालीन माओवादी केन्द्रको समानुपातिक मत राम्रो थियो 

फाल्गुन १, २०८२

शिव पुरी

What you should know

सर्लाही — नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले यस पटक प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–३ बाट उम्मेदवारी दिएका छन् । २०७९ को निर्वाचनमा गोरखाबाट चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरे पनि दलबीच गठबन्धनका कारण श्रेष्ठ वञ्चित बनेका थिए । त्यसपछि उनी राष्ट्रिय सभा सदस्य बने । यस पटक प्रत्यक्ष निर्वाचनमार्फत जनअनुमोदित हुन मधेश झरेका हुन् ।

कांग्रेस सभापति गगन थापाले निरन्तर जित्दै आएको काठमाडौं–४ छाडेर सर्लाही नै किन रोजे भन्ने प्रश्न अहिले श्रेष्ठमाथि पनि तेर्सिने गरेको छ । २०७० को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पनि यस क्षेत्रबाट उम्मेदवार बन्न श्रेष्ठमाथि दबाब थियो । उनले इच्छा नदेखाएपछि तत्कालीन पार्टीले भरतकुमार थापालाई उम्मेदवार बनाएको थियो । थापा एमालेका हरि उप्रेतीसँग पराजित भए । त्यसपछि थापा बागमती नगरपालिकाको प्रमुख बने । 

सर्लाही–३ मा आएर नेतृत्व गरिदिन त्यस बेला पार्टी र मतदाताको ठूलो हिस्साले भने पनि आफूले अस्वीकार गरेको श्रेष्ठले बताए । ‘विकासका दृष्टिकोणले मधेश अहिले पनि पछि छ । जनसंख्या बढ्दै छ,’ श्रेष्ठले भने, ‘शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने देखिएको छ । मिटरब्याजीको समस्या उत्तिकै छ । म यसको सुधारमा लाग्छु ।’ मधेशमा सबै वर्गबीच सामाजिक एकताका निम्ति बलियो आधार तयार पार्न आफ्नो उम्मेदवारी रहेको उनले सुनाए । सुरक्षित स्थान खोजी गर्दै सर्लाही आएको नभई समग्र मधेशको विकासका लागि आएको उनको दाबी छ । 

श्रेष्ठले सर्लाही–३ रोज्नुका पछाडिको ठोस कारण सुरक्षित क्षेत्रको खोजी नै रहेको राजनीतिक विश्लेषक बताउँछन् । गएको निर्वाचनमा यस क्षेत्रमा तत्कालीन माओवादी केन्द्रको समानुपातिक मत राम्रो थियो । एकीकृत समाजवादीसँगको एकता र वर्तमान सत्ता गठबन्धनको बलमा यस क्षेत्रलाई उनले ‘सेफ जोन’ मानेका छन् । मधेशसँगको सम्बन्ध विस्तार र मधेशको मुद्दा र राजनीतिमा पकड जमाउन सर्लाही–३ उनका लागि परीक्षण र अवसर दुवै रहेको विश्लेषकको भनाइ छ । यस क्षेत्रमा एमालेबाट हरिप्रसाद उप्रेती उम्मेदवार छन् । उप्रेती पूर्वरक्षामन्त्री पनि हुन् । कांग्रेसका विनोदकुमार खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार र उज्यालो नेपालका त्रिभुवनकुमार सिंह यहाँ उम्मेदवार छन् । उनीहरूसित प्रतिस्पर्धाका क्रममा श्रेष्ठले आफ्नो ‘हेभिवेट’ व्यक्तित्वको लाभ लिन खोजेको देखिन्छ । तर विपक्षीले उनलाई ‘टुरिस्ट उम्मेदवार’ को संज्ञा दिएका छन् । 

निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँका भित्री गाउँमा रौनक देखिँदैन । २०५६ देखि बसोबास गरे पनि अहिलेसम्म लालपुर्जा हातमा नपरेको बागमती–१२ का विनोद साहले गुनासो पोखे । प्रत्येक चुनावमा लालपुर्जाको कुरा उठाउँदा उम्मेदवारले आश्वासन बाँड्ने गरेको सुनाए । ‘नेताहरू चुनावमा आउँछन्, जितेपछि फर्किन्नन्,’ उनले भने । 

श्रेष्ठका लागि आफ्ना एजेन्डा स्थानीयस्तरमा बुझाउनु र बाहिरी नेताको छाप मेटाउनु मुख्य चुनौती छ । प्रायः उम्मेदवारले शिक्षा, स्वास्थ्य, बाटो र किसानले भोगिरहेका समस्याको समाधानलाई चुनावको मूल नारा बनाएका छन् । गाउँमा स्तरीय क्याम्पससमेत नभएको बरहथवा–६ मुसैली टोलका शिवजी महतोले दुखेसो पोखे । बागमती–१२ स्थित सुकुम्बासी बस्तीमा एउटै विद्यालय छैन । तीन सय परिवार रहेको बस्तीका बालबालिका २ किलोमिटर टाढा मंगलपुर वा कमैया पढ्न जानुपर्ने बाध्यता रहेको स्थानीय सानो तामाङले जनाए । 

सर्लाही–३ को चुनावी गणित रोचक छ । २०७९ मा एमालेका उप्रेतीले ७ सय ७० मतान्तरले तत्कालीन माओवादीका नरेन्द्र साह कलवारलाई पराजित गरेका थिए । उप्रेतीले ३२ हजार ९ सय ३८ मत पाउँदा तत्कालीन पाँचदलीय गठबन्धनका उम्मेदवार कलवारले ३२ हजार १ सय ६८ मत पाए । पहिलो पटक प्रतिनिधिसभाको चुनाव जितेपछि उप्रेती ३ माघ २०७९ देखि १६ फागुनसम्म रक्षामन्त्री बनेका थिए । दोस्रो कार्यकालमा २३ फागुन २०८० देखि २० असार २०८१ सम्म रक्षामन्त्री थिए । आफूहरूले जिताएर पठाएका उप्रेती मन्त्री बनिसकेपछि पनि फर्किएर नआएको गुनासो स्थानीयको छ । यसपालि पनि उम्मेदवार रहेका उप्रेती विरासत जोगाउनुपर्ने दबाबमा छन् । यस पटक कलवार नेकपा त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् । जसले गर्दा मत विभाजन हुने सम्भावना देखिन्छ । कलवार युवा र असन्तुष्ट मत तान्ने दाउमा छन् । श्रेष्ठ २०७० मा मकवानपुर–२ र २०७४ मा गोरखा–२ बाट चुनाव लडेर पराजित भएका थिए । 

सर्लाही–३ अन्तर्गतको बागमती नगरपालिकामा तत्कालीन माओवादीको पकड छ । यहाँका नगर प्रमुख भरतकुमार थापाले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा लगातार जितेका थिए । उनले गरेका विकास निर्माण र पर्यटकीय कामको स्थानीयस्तरमा पार्टीको प्रभाव राम्रो छ । यही कारण सुरक्षित आधार इलाका बुझेर श्रेष्ठले यो क्षेत्र रोजेको मान्नेहरू धेरै भेटिने गरेका छन् । 

यस क्षेत्रमा २०४८ यताको इतिहास हेर्दा कांग्रेसका रामहरि जोशीले २०४८ र २०५१ मा चुनाव जितेका थिए । २०५६ मा राप्रपाका रामचन्द्र रायले जिते भने २०६४ मा तमलोपाकी सुमित्रादेवी यादवले जितिन् । २०७० मा एमालेका उप्रेतीले जिते । २०७४ मा राप्रपा छाडेर तत्कालीन माओवादीबाट चुनाव लडेका रामेश्वर रायले जिते । २०७९ मा उप्रेतीले पुनः जिते । 

२०७४ मा वाम गठबन्धनका उम्मेदवार राय यादवले कांग्रेसका हरेशकुमार महतोलाई पराजित गरेका थिए । तेस्रा बनेका कलवार तराई मधेश लोकतान्त्रिक, स्वतन्त्र र माओवादी हुँदै अहिले रास्वपा प्रवेश गरेर चुनावी मैदानमा छन् । यस क्षेत्रमा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका उप्रेतीले जितेका थिए । उप्रेतीले माओवादीका थापालाई पराजित गरेका थिए । भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन गरेको आरोपमा थापाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तमलोपाकी यादव विजयी भएकी थिइन् । 

सर्लाही–३ एमाले, माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने क्षेत्र हो । २०४८ यताको निर्वाचनमा २ पटक कांग्रेस, २ पटक एमाले र राप्रपा, तमलोपाले एक/एक पटक जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि भने कहिले एमाले त कहिले माओवादी पल्लाभारी हुँदै आएको छ । २०७९ को निर्वाचनमा तत्कालीन माओवादीले सर्लाहीमा सबैभन्दा बढी ४७ हजार ३ सय २९ समानुपातिक मत पाएको थियो । त्यसमा पनि सर्लाही–३ मा १५ हजार ४ सय ७१ समानुपातिक मत थियो । 

११ पुस २०७९ मा दाहाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री थिए । यसपटक रास्वपाका  कलवार २०७० मा महेन्द्र राय यादव नेतृत्वको तराई मधेश लोकतान्त्रिकबाट समानुपातिक सांसद थिए । २०७० यता दुई पटक चुनाव लडे पनि पराजित भएका थिए । फरक–फरक पार्टी र चिह्नबाट चुनाव लड्दै आएका कलवार जेन–जी आन्दोलनपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

बरहथवा–११ घर भएका कलवार व्यवसायी हुन् । उनी यस पटक नेकपाबाट चुनाव लड्ने तयारीमा थिए । पार्टीले नेता श्रेष्ठलाई उम्मेदवार बनाएपछि रास्वपा रोजेका हुन् । ‘नेकपाबाटै चुनाव लड्न चाहन्थें । मेरो अधिकार पनि थियो,’ कलवारले भने, ‘भूगोलबाट मेरो नाम नै सिफारिस गरिदिएनन् ।’ 

कांग्रेसका खनाल जिल्लाको राजनीतिमा एक प्रभावशाली र निष्ठावानका रूपमा चिनिन्छन् । लामो समयदेखि कांग्रेसमा आबद्ध रहेर पार्टीको संगठन विस्तारमा खनाल सक्रिय छन् । नेविसंघमार्फत राजनीति सुरु गरेका उनी पूर्वजिल्ला सभापति हुन् । अहिले कांग्रेस केन्द्रीय सदस्य छन् । सर्लाही–३ मा कृषि, सिँचाइ र शिक्षाको सुधारलाई एजेन्डा बनाएको उनले सुनाए । जसपा नेपालबाट जयप्रकाश राय, जनमतबाट सुनीलप्रसाद गुप्तासमेत ३४ उम्मेदवार छन् । १९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा १ लाख ३४ हजार ४ सय १२ मतदाता छन् । यस क्षेत्रमा बागमती र बरहथवा नगरपालिकाका ११ वडा, हरिवनको १ नं. वडा, चक्रघटा गाउँपालिका र कविलासी नगरपालिकाका ३, ४, ५ र ६ वडा, बसबरिया गाउँपालिकाका ४, ५ र ६ नम्बर वडा छन् । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully