नेकपाबाट निर्वाचित गोदावरीका कार्यपालिका सदस्यसहितका नेता कांग्रेस प्रवेश

गोदावरीका स्थानीय तहमा स्थापित नेताहरू पार्टी प्रवेश गरेको कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको भनाइ थियो ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीबाट ललितपुरको गोदावरी नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित बिना नगरकोटीसहितका नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले शुक्रबार गोदावरी नगरपालिका-२ विशंखुनारायणमा आयोजना गरेको कार्यक्रममा नगरकोटीसहितका नेताहरू कांग्रेस प्रवेश गरेका हुन् । नेकपाका कार्यकर्ताहरूलाई कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले स्वागत गरेका थिए । 

पार्टी प्रवेश गर्नेमा गोदावरी नगरपालिकाका यसअघिको स्थानीय तहको निर्वाचनका उम्मेदवार पनि रहेका छन् । पार्टी प्रवेश गर्नेमा निता बिसुङ्खे, राजन विष्ट, दिनेश विष्ट, मदन परियार र एमालेको युवा संघ विशंखुनारायणका पूर्वअध्यक्ष सनम खत्री रहेको कांग्रेसले जनाएको छ । 

गोदावरीका स्थानीय तहमा स्थापित नेताहरू पार्टी प्रवेश गरेको कांग्रेस सहमहामन्त्री राणाको भनाइ थियो । बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले देशभर कांग्रेस प्रवेशको लहर चलेको दाबी गरेका थिए ।

कांग्रेसमा भएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताले आफूहरू पार्टी प्रवेश गरेको नवप्रवेशीहरूको भनाइ थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully