जसपाले ल्यायो घोषणापत्र, संविधान संशोधन र पुनर्लेखन मुख्य एजेण्डा 

जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ। यी तीनै कुरामार्फत नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउन सकिने जसपा नेपालको ठहर छ ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणापत्र ल्याएको छ ।

घोषणापत्रमा पार्टीले संविधान स‌ंशोधन र पुनर्लेखनलाई मुख्य एजेण्डा बनाएको छ । जसपाले अहिलेको संविधानले समावेशी तथा सामाजिक लोकतन्त्रको आधारभूत मान्यताहरूलाई आत्मसाथ गर्न नसकेको भनेको छ ।

प्रशासनिक संघीयताको पक्षपोषण गरेकोले संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन हुनुपर्ने र त्यसले दिने सुझावको आधारमा संशोधन/परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । 

जसपा नेपालले ‘संघर्षसँगै समृद्धि’ नारा दिएको छ । ‘जसपा नेपाल यो घोषणापत्रमार्फत यस्तो राज्य मोडल चाहन्छ– जहाँ राज्यको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो,’ घोषणापत्रमा भनिएको छ । 

जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ। यी तीनै कुरामार्फत नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउन सकिने जसपा नेपालको ठहर छ । 

घोषणपत्रमार्फत समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने जनाएको छ । ‘प्रस्तावित कार्यक्रमहरूको कार्यान्वयनमार्फत लोककल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने,’  घोषणापत्रमा भनिएको छ।

कान्तिपुर

Link copied successfully