समाजवादी अर्थतन्त्रले मात्रै जनताको जीवन फेरिने पुनको भनाइ
What you should know
काठमाडौँ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक व्यवस्थाबिना नागरिक अधिकारको सुनिश्चितता नहुने बताए ।
२०५२ फागुन १ मा सुरु भई १० वर्षसम्म चलेको तत्कालीन सशस्त्र द्वन्द्वको ३० वर्ष पुगेको सन्दर्भमा शुभकामना व्यक्त गर्दै पुनले युद्धले मुलुकमा थुप्रै परिवर्तन ल्याएको दावी गरे।
'त्यस युद्धले लोकतान्त्रिक व्यवस्था र गणतन्त्रको स्थापना गरेको हो। आज हामीले जे जति अधिकार प्राप्त गरेका छौं, त्यसको कारण तत्कालीन युद्ध र परिवर्तन नै हो,' उनले भने। फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पाबाट उम्मेदवार बनेका उनले शुक्रबार रोल्पाको लिवाङमा बोल्दै तत्कालीन जनयुद्ध दिवसको शुभकामना समेत व्यक्त गरे।
तत्कालीन सशस्त्र द्वन्द्वलाई भुल्दै गएको प्रसंगका बीच पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रीसमेत रहेका पुनले शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन अझै समय लाग्ने बताए । 'तत्कालीन सशस्त्र द्वन्द्वमा सहभागी भएर परिवर्तनकामीहरुले ज्यान दिएकाले परिवर्तन आएको हो। अब पीडितलाई न्याय र सबैलाई परिवर्तनको महसुस गराउने हो,' उनले भने।
उम्मेदवारको हैसियतमा घरदैलो अभियान चलाइरहेका पुनले भूराजनीतिक अवस्था र राष्ट्रिय स्वाधीनता खलबलिएको समेत बताए । निर्वाचनमार्फत राष्ट्र र राष्ट्रियताको जगेर्ना हुने उनको धारणा छ। समाजवादी अर्थतन्त्रले मात्रै जनताको जीवन फेरिने उनको ठम्याइ छ। आसन्न निर्वाचनको महत्त्व लोकप्रियताको पक्षमा मात्रै होइन, राष्ट्रियताको पक्षमा पनि हुनुपर्ने उनले बताए । उनले भने, 'हाम्रो पार्टी सम्पूर्ण परिवर्तनको लागि लडेको हो। फेरि पनि समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा निर्णय गर्न निर्वाचन मार्फत मत प्राप्त गर्ने हो।'
