रुपन्देही–४ मा ‘भेट्रान’ शुक्लालाई युवा उम्मेदवारको चुनौती

रुपन्देहीको मर्चवारका तीन र भैरहवा–लुम्बिनी सडक खण्डभन्दा उत्तरका पालिका समेटिएको यो क्षेत्रमा यसपटक बिरासत जोगाउने र स्थापित गर्नेबीच प्रतिस्पर्धा भइरहेको छ ।

माघ २९, २०८२

दीपेन्द्र बडुवाल

What you should know

भैरहवा — जिल्लाका पाँच मध्ये रुपन्देही–४ सिमावर्ती पालिका समेटिएको निर्वाचन क्षेत्र हो । सदरमुकामबाट नजिकै भएर पनि विकास निर्माणमा पिछडिएकाले यहाँ शिक्षा, स्वास्थ्य, सिँचाइ, मल, बीउ चुनावी एजेण्डा बन्दै आएका छन् । यसपटक पनि आधारभूत मानवीय आवश्यकताकै विषयलाई उम्मेदवारले एजेण्डा बनाएका छन् ।

रुपन्देहीको मर्चवारका तीन र भैरहवा–लुम्बिनी सडक खण्डभन्दा उत्तरका पालिका समेटिएको यो क्षेत्रमा यसपटक बिरासत जोगाउने र स्थापित गर्नेबीच प्रतिस्पर्धा भइरहेको छ । लामो समय विभिन्न दलबाट उम्मेदवार बन्दैं आएका सर्वेन्द्रनाथ शुक्ल यसपाली जसपा (नेपाल) बाट उम्मेदवार बनेका छन् । 

०७४ को संसदीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर विजयी प्रमोद यादव यसपटक एमाले प्रवेश गरेर उम्मेदवार बनेका छन् । शुक्ला र यादव आफ्नो विरासत जोगाउन लागिपरेका छन् । दुबैलाई कांग्रेस, जनमत र रास्वपाका उम्मेदवार रोक्ने प्रयासमा देखिएका छन् । यसपटक जित दोहोर्‍याउने र पहिलो पटक विजयी हुने होड्बाजीले रुपन्देही–४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

अहिले यस क्षेत्रका उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । ‘पुरानै वाचा’ बोकेर चुनावी मैदानमा होमिएका उम्मेदवार मतदाताको मन जित्न घरदैलोमा व्यस्त छन् । ०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौंपटक चुनौवी मैदानमा छन् । यहाँबाट जित/हारको अनुभव संगालिसकेका शुक्लालाई यसपटक पुराना प्रतिस्पर्धीसँगै नयाँ उम्मेदवारले चुनौती दिइरहेका छन् ।

यस क्षेत्रमा विगतमा मधेशवादी दलबीच प्रतिस्पर्धा हुन्थ्यो । तर, यसपटक अवस्था बदलिएको छ । कांग्रेसबाट उम्मेदवार बनेर ०७४ मा शुक्लालाई पराजित गरेका यादव ०७९ मा तिनै शुक्लासित वेहोरेको पराजयको बदला लिने दाउमा छन् । यादव मनोनयनकै दिन कांग्रेस छाडेर एमालेबाट उम्मेदवार बनेका हुन् । 

०७९ मा तत्कालीन तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (लोसपा)बाट प्रदेशसभा सदस्य निर्वाचित कन्हैया बनियाँ यसपटक रास्वपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । प्रदेशसभा सदस्यबाट राजीनामा गरेर उनी उम्मेदवार बनेका हुन् । जसपा नेपाल र लोसपा एक भएपछि शुक्लालाई केही राहत मिलेको देखिन्छ । तर, रास्वपा प्रवेश गरेका बानियाँप्रति युवाको ‘क्रेज’ कारण उनी शुक्लाका लागि चुनौती बनिरहेका छन् । ‘विकास र सुशासन चाहिएको छ’, कन्हैयाले भने, ‘यसकालागि प्रदेश छाडेर प्रतिनिभिसभामा उम्मेदवार बनेको हुँ ।’

विगतमा यहाँबाट चुनाव जितेर पटकपटक मन्त्री भएका व्यक्तिले मर्चवारको विकासभन्दा व्यक्तिगत स्वार्थमा ध्यान दिएको आरोप लगाए । एमालेबाट रुपन्देही–४, का उम्मेदवार यादव तेस्रोपटक प्रतिस्पर्धामा छन् । यादव जातीय मतमा पकड र बिगतमा गरेका राम्रा काम देखाउँदै मत मागिरहेका छन् । पूर्वाधार विकाससँगै मर्चवारको मुहार बदल्न आफूले जित्नुपर्ने दाबी गर्छन् । ‘मर्चवारलाई मुलुकमै चिनाउन चाहन्छु’, उनले भने, ‘केन्द्रका नेताहरुले मर्चवारलाई नेपाल सम्झिदैँनन्, अब त्यो अवस्था रहने छैन । मर्चवार नेपाल हो भनेर चिनाउन चाहन्छु ।’

कांग्रेसले स्थानीय राजनीतिमा भिजेका र युवा आशुतोष मिश्रालाई उम्मेदवार बनाएको छ । मतदाता भेटघाटका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाइराखेको उनले बताए । ‘सबैको साथ पाइरहेको छु, बद्लिएको कांग्रेसले मर्चवारसँगै मुलुकको मुहार बदल्नेछु ।’ शिक्षा, स्वास्थ्य र कृषिलाई फोकस गरेर आफूले योजना बनाएको उनले बताए । यस क्षेत्रमा जनमत पार्टीको राम्रो प्रभाव छ । जनमतबाट भोपेन्द्रप्रसाद यादव उम्मेदवार छन् । ०७९ मा पनि उनी यहीँ पार्टीबाट उम्मेदवार बनेर तेस्रो बनेका थिए । त्यतिबेला आफूले प्राप्त गरेको मत र यसपटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेकाले आफूलाई सहज भएको उनले बताए । 

रुपन्देही–४ मा ५ दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि चुनाव लडेका उम्मेदवारले पुरानै वाचा दोहोर्याउँदै मत मागिरहेका छन् । नयाँ उम्मेदवारले यसअघि जितेकाले काम गर्न नसकेको बताउँदैं अवसर माग गरिरहेका छन् । ‘राष्ट्रियता जोगाउनु छ, मर्चवारको विकास पनि गर्नुछ’, जसपा नेपालका उम्मेदवार शुक्लाले भने, ‘संघीयतालाई सबलीकरण गर्दै जननजीविकाको पक्षमा काम गर्ने गरी अगाडि बढेका छौं ।’ 

२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्र मधेशी समुदायको बाहुल्यता छ । अधिकांश भू–भाग भारतको सीमासँग जोडिएको छ । उत्तरमा मत्स्यपालन पकेट क्षेत्रमा रुपमा रहेको सियारी गाउँपालिकाको छपियासहितका केही वडा र लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा समेत समेटिएका छन् । मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई पूरै र मायादेवी गाउापालिकाका अधिकांश वडा यस क्षेत्रमा पर्छन् । १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका छन् ।  

०४८ को आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ताले जितेका थिए । ०५१ मा राप्रपाबाट उम्मेदवार बनेर शुक्ला विजयी भएका थिए । ०५६ मा सद्भावनाका यज्ञजित शाहले जितेका थिए । भने मधेशमा भएको विद्रोहपछि ०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी भएका थिए ।

०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमाा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेर शुक्ला विजयी भएका थिए । ०७४ मा कांग्रेसबाट यादव विजयी बन्दा ०७९ लोसपाबाट शुक्ला नै निर्वाचित भएका थिए । अन्न भण्डार मानिने क्षेत्रमा विगतमा निर्वाचन जितेकाले जनभावना अनुसार काम गर्न नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

दीपेन्द्र

Link copied successfully