रोजगारी र भ्रष्टाचारको 'लोडसेडिङ' अन्त्य गर्छौं : घिसिङ

घिसिङले प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याएको, गाउँगाउँमा विद्युत् विस्तार गरेको र जलविद्युत् निर्यात सुरु गरिएको दाबी गरे ।

माघ २९, २०८२

एलिना राई

What you should know

धरान — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले देशका विभिन्न क्षेत्रमा देखिएको 'लोडसेडिङ' अन्त्य गर्ने लक्ष्यसहित पार्टी स्थापना गरिएको बताएका छन् ।

चुनावी अभियानका क्रममा बिहीबार धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा विद्युत्‌को लोडसेडिङ अन्त्य गरेको बताए । उनी भन्छन्, ‘एउटा लोडसेडिङको अन्त्य गरेर आयौं, अब रोजगारी, गरिबी र भ्रष्टाचारको लोडसेडिङ पनि अन्त्य गर्न आएका छौं ।’

घिसिङले प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याएको, गाउँगाउँमा विद्युत् विस्तार गरेको र जलविद्युत् निर्यात सुरु गरिएको दाबी गरे । यस्तै, जलविद्युत्‌लाई भारत र बंगलादेशसम्म बेच्न सफल भएको उल्लेख गर्दै उर्जा क्षेत्रमा ठूलो रुपान्तरण भएको बताएका छन्  । उनले भने, ‘उज्यालो पार्टी देशलाई उज्यालो बनाउन, हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन आएको पार्टी हो ।’ 

'अब देशको रुपान्तरण गर्नुपर्ने समय आएको छ, उज्यालो नेपालको लागि देशको रुपान्तरणको लागि नै उज्यालो नेपाल पार्टी स्थापना गरेका छौं,’ उनले भने,‘गफ गरेर होइन, काम गरेर परिणाम दिएर आएका छौं ।’

‘हामीलाई जिताएर आगामी सरकारको नेतृत्वमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास छ । अरुले बोल्छन्, तर पूरा गर्दैनन् । हाम्रो पार्टी काम गरेर परिणाम देखाएर आएको हो,’ उनले भने,‘यहाँ जलाधार र सहकारीको समस्या ठूलो छ । तमोर सुरुङमार्गदेखि विद्युत्‌को लाइन स्थानान्तरण गर्नुपर्ने समस्या पनि छन्, त्यो समाधान गर्न हामीलाई मतदान गर्नुपर्छ । देशको समग्र क्षेत्रको विकासको लागि मत दिनुपर्छ । भोट मात्र होइन, पार्टी पनि परितर्वन गर्नुस् । उज्यालो नेपाल पार्टी लिएर आएका छौं, जसले परिणाम दिइसकेको छ र आगामी दिनमा पनि हाम्रा बाचाहरु पूरा गर्नेछौं ।'

घिसिङले भ्रष्टाचारमुक्त, सुशासनयुक्त समाज बनाउन, विकृति र विसंगति हटाई देशलाई समृद्ध बनाउन, रोजगारी सिर्जना गरेर युवाहरु विदेश जान नपर्ने अवस्था बनाएर आर्थिकरुपमा आत्मनिर्मर बनाउन आफूहरु पार्टी खोलेर आएको बताए । उनले धरानको स्थानीयस्तरका समस्यालाई पनि समाधान गर्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि उम्मेदवार डम्बर लावतीलाई जिताएर प्रतिनिधिसभामा पठाउन पनि आग्रह गरे ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully