दाहालपुत्रीको ‘ट्याग’ तोड्दै रेनु

रेनु आफू पनि अब्बल र नीति निर्माणमा दक्खल राख्ने व्यक्ति भएका कारण आसन्न प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएको दाबी गर्छिन् ।

माघ २९, २०८२

रमेशकुमार पौडेल

What you should know

चितवन — २०६४ मा संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित चितवन आए, भरतपुरको लंकुस्थित लक्ष्मी मावि केन्द्रबाट मतदान गरे । उनी आफू भने रोल्पा–२ र काठमाडौं–१० मा उम्मेदवार थिए । ०७० को संविधानसभा निर्वाचनमा पनि दाहाल सपरिवार मतदान गर्न लंकु आए । उनकी माइली छोरी रेनुलाई चितवनवासीले स्थानीय मतदाताका रूपमा देखेको/चिनेको त्यही ०६४ र ०७० को संविधानसभा निर्वाचनमा हो । ०७४ को अर्को निर्वाचनमा भने दृश्य फरक भयो ।

९ वैशाख ०७४ मा तत्कालीन माओवादीले भरतपुरको कृष्णपुरस्थित कार्यालयमा पार्टी स्थापना दिवस कार्यक्रम राखेको थियो । कार्यक्रममा तत्कालीन वरिष्ठ नेता अमिक शेरचनले चितवनका सातमध्ये ६ पालिकाका लागि मेयर र उपमेयरका उम्मेदवार घोषणा गरे, भरतपुर महानगरपालिकाको भने खुलाएनन् । पाँच दिनपछि १४ वैशाखमा घोषणा भयो– माओवादीबाट मेयरमा रेनु दाहाल उम्मेदवार । 

भोलिपल्ट पार्टी कार्यालयमा कार्यक्रम भयो, जहाँ नीलो कुर्ता–सुरुवालमा रेनु उपस्थित थिइन् । गलामा सयपत्रीको माला र निधारमा रातो अबिरको धर्सो लगाएकी उनले मञ्चबाट भनिन्, ‘म प्रचण्डकी छोरी मात्रै होइन, राजनीतिक कार्यकर्ता पनि हुँ । गृहस्थी सम्हालेर वा आफ्नो व्यक्तिगत काममा लागेर बसेकी भने थिइनँ ।’ 

चितवन ढिला आएकामा थकथकी लागेको पनि उनको अभिव्यक्ति थियो । उनले भनेकी थिइन्, ‘चितवनमा म २० वर्षपछि फर्केकी छु । ५–६ महिनाअघि आएको भए लगभग सबैलाई चिन्थें होला । तर अहिले प्रचण्डपुत्रीकै रूपमा धेरैले मलाई चिन्ने गरेका छन् ।’ 

त्यसो त, उनी यसअघि नै सांसद भइसकेकी थिइन् । उनलाई पार्टीले ०६४ मा नै संविधानसभा सदस्य बनाएको थियो । ०७० मा उनी काठमाडौं–१ मा उम्मेदवार थिइन् तर कांग्रेसका प्रकाशमान सिंहले १५ हजार १ सय ३८ मत ल्याएर चुनाव जित्दा रेनुले भने ४ हजार ६४ मत ल्याएकी थिइन् । त्यसपछि भने उनी भरतपुर झरेकी हुन् ।

०७४ को स्थानीय निर्वाचन हुँदा कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकार थियो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल थिए । भरतपुरमा उम्मेदवारी दर्ता गर्दा कांग्रेस, एमाले र तत्कालीन माओवादी अलगअलग थिए । 

२१ वैशाख ०७४ मा कांग्रेसबाट मेयर पदका उम्मेदवार दिनेश कोइराला र उपमेयरकी उम्मेदवार पार्वती शाह ठकुरीले भरतपुरमा पत्रकार सम्मेलन गरेर चुनावी अभियान सुरु भएको घोषणा गरे । पत्रकार सम्मेलन नसकिँदै भरतपुरमा मेयर पद माओवादीलाई दिने गरी कांग्रेसले चुनावी तालमेल गरेको खबर आयो । 

कांग्रेसका जिल्ला नेता–कार्यकर्ताका लागि यो ‘सरप्राइज’ थियो किनकि त्यो बेला भरतपुरमा कांग्रेसलाई बलियो शक्ति मानिन्थ्यो । लगत्तै कांग्रेसका तत्कालीन जिल्ला सभापति जितनारायण श्रेष्ठले विज्ञप्ति निकालेर कसैसँग चुनावी तालमेल नहुने बताए । तर त्यही दिन तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि कांग्रेसका कोइरालाको उम्मेदवारी रद्द भयो । तीन दिनपछि मात्रै कांग्रेस र माओवादी एकै मञ्चमा देखा परे । 

चुनाव प्रचार र मतदान सौहार्दपूर्ण ढंगले नै सकियो तर मतगणनामा यस्तो घटना भयो, जसले नेपालको समग्र राजनीतिलाई नै बदनाम गराएको छ । १४ जेठ ०७४ को मध्यरातसम्म भरतपुरका २९ वडामध्ये २७ वटाको गणना सकिएको थियो । वडा नं. १९ को मत गणना हुँदै थियो । त्यसपछि २० नं. वडाको मतगणना सकिँदा भरतपुरको अन्तिम परिणाम आउँथ्यो । एमालेका देवी ज्ञवाली ७ सय ३३ मतले अगाडि थिए । जसले उनी निर्वाचित हुने निश्चित भइसकेको थियो । तर गणना चलिरहेका बेला अचानक मतपत्र नै च्यातियो, गणना स्थगित भयो ।

निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको आदेशअनुरूप २० साउन ०७४ मा भरतपुरको १९ नम्बर वडामा फेरि मतदान भयो । त्यसपछि मतगणना हुँदा मेयरमा रेनु दाहाल विजयी भइन् । एमालेका ज्ञवाली भने २ सय ३ मतले पराजित भए । 

मतपत्र च्यातेको आरोपमा माओवादीका द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने पक्राउ परे । चार दिनपछि १८ जेठमा एक–एक लाख रुपैयाँ धरौटीमा उनीहरू छुटे । दुई वर्षपछि ३१ जेठ ०७६ मा चितवन जिल्ला अदालतले उनीहरू दुवैलाई दोषी ठहर गर्दै एक–एक लाख रुपैयाँ जरिवाना सुनायो । तर उनीहरूको उद्देश्य पूरा भइसकेको थियो ।

रेनु नेपालका महानगरपालिकाकै पहिलो मेयर महिला बनिन् । ०७९ को निर्वाचनमा पनि कांग्रेससँग तालमेल गर्दै तत्कालीन माओवादीबाट रेनुले नै मेयरमा उम्मेदवारी दिइन् । 

भरतपुर नगरपालिकाको उपमेयर र राष्ट्रिय सभा सदस्य भइसकेका जगन्नाथ पौडेलको उम्मेदवारीले भने ठूलो तरंग ल्यायो । उनको उम्मेदवारी फिर्ता गराउन पार्टीका शीर्ष नेताहरू भरतपुर धाए । पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नै दुई दिन बस्ने गरेर भरतपुर पुगे । देउवा र दाहालले भरतपुरस्थित बसपार्कमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गरे । 

देउवाले सत्तारूढ गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यो सफल भए गठबन्धन पनि नरहने र कांग्रेस पनि खत्तम हुने बताएका थिए । ‘त्यसैले कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरबाट हुनुभएन,’ उनले भनेका थिए ।

दाहालले गठबन्धनलाई १०–२० वर्षसम्म लैजाने दाबी मात्र गरेनन्, आफ्नी छोरीले चुनाव नजिते देश दुर्घटनामा पर्ने चेतावनी पनि दिए । ‘हँसिया हथौडामा भोट हाल्दिनँ भन्नुभयो भने मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने देश दुर्घटनामा पर्ने खतरा छ ।’ 

कांग्रेसका विद्रोही उम्मेदवार पौडेलले १४ हजार ७ सय २८ मत ल्याए । तर पनि रेनुले चुनाव जितिन् । अघिल्लो पटक ४३ हजार १ सय २७ मत ल्याएकी रेनुले यसपालि भने ५२ हजार २८ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीका पक्षमा ३९ हजार ५ सय ८२ मत थियो । 

पुष्पकमल दाहालले चितवनलाई ध्यान दिन थालेको भने ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–१० बाट पराजित भएपछि हो । उनी त्यति बेला सिरहा–५ बाट पनि मुस्किलले विजयी भएका थिए । 

२६ पुस ०७३ मा तत्कालीन भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद् आयोजना भएको थियो । तत्कालीन प्रधानमन्त्री दाहाल नगर परिषद्को प्रमुख अतिथि बनेर आएका थिए । भरतपुर उपमहानगरको कार्यालयभित्र यो नै उनको पहिलो सार्वजनिक कार्यक्रम थियो । त्यहाँ उनले अप्रत्याशित रूपमा पृथ्वीनारायण शाहको बखान गरे । भोलिपल्ट पृथ्वीजयन्ती थियो ।

दाहालले पृथ्वीनारायण शाहको भूमिकालाई नकार्न हुँदैन भनेका थिए । यसअघि भने पृथ्वीनारायण शाहलाई माओवादीले आलोचना गर्दै आएको थियो । तर भरतपुरको कार्यक्रममा दाहालले नेपाललाई केन्द्रीकृत बनाउन पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्ने र देशको यस्तो इतिहासप्रति इमानदार नागरिकले गौरव गर्नुपर्ने अभिव्यक्ति दिए । भुरेटाकुरे राज्यबाट बलियो राज्य बनाउने कदम प्रगतिशील नै भएको पनि दाहालले बताएका थिए ।

रेनु आफू पनि अब्बल र नीति निर्माणमा दक्खल राख्ने व्यक्ति भएका कारण आसन्न प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएको दाबी गर्छिन् । दाहालले भरतपुरलाई महानगरपालिका बनाउने, गोलाघाटदेखि नारायणी नदीमा पुल राखेर नवलपरासी जोड्ने, नारायणी नदी किनारको नारायणगढदेखि गोलाघाटसम्म तटबन्ध गरेर सडक निर्माण गर्ने र भरतपुरमा चक्रपथ निर्माणको अध्ययनमा सहयोग गर्ने बचन पनि दिए ।  

भाषण सुनेका धेरैले लख काटेका थिए, ‘अबको चुनावमा दाहाल पक्कै चितवनबाट उठ्नेछन् ।’ नभन्दै ०७४ मा छोरी रेनुलाई भरतपुरमा मेयरमा जिताए । त्यसको चार महिनापछि प्रतिनिधिसभा निर्वाचन आयो । दाहाल पनि प्रतिस्पर्धाका लागि चितवन नै झरे । भरतपुर महानगरपालिकाका २९ वटा वडा र माडी नगरपालिका पर्ने चितवन–३ मा उम्मेदवारी दिए । साउनमा स्थानीय तह चुनाव हुँदा छोरीलाई कांग्रेससँग मिलेर जिताएका थिए भने मंसिरमा चुनाव हुँदा भने आफू एमालेसँग गठबन्धन गरेर मत माग्न आए । दुवै पटक गठबन्धन भएकाले बाबुछोरीलाई नै चुनाव जित्न सहज भयो ।

रेनु अहिले त्यही चितवन–३ मा नेकपाकी उम्मेदवार छिन् । तर यसपाली बिना गठबन्धन । नेकपाको सांगठनिक पकड र नेतृत्व विकास भने चितवनमा उति बलियो देखिँदैन । संगठन बलियो हुँदो हो त पार्टी अध्यक्ष दाहाल ०७९ को निर्वाचनमा चितवन छाडेर गोरखा सायदै जाने थिए । अहिले त उनी पूर्वी रुकुम पुगेका छन् ।

गएको निर्वाचनमा कांग्रेस, एकीकृत समाजवादीको समेत सहयोग रहँदा तत्कालीन माओवादीका उम्मेदवार भोजराज अधिकारीले यो क्षेत्रमा २५ हजार ८ सय २४ मत ल्याएका थिए । विजयी राप्रपाका विक्रम पाण्डेले ३५ सय ६० मत ल्याएका थिए । समानुपातिकमा माओवादीको मत रास्वपा र राप्रपापछि तेस्रो थियो । रास्वपाले २८ हजार ४०१, राप्रपाले १६ हजार ७५५, माओवादीले १६ हजार ९०, एमालेले १४ हजार ५२२ र कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेका थिए । 

माओवादी चितवन जिल्ला समिति संयोजक तथा हाल नेकपाका संयोजक रामचन्द्र अधिकारी पछिल्ला वर्षहरूमा चितवनमा पार्टीको अवस्था पनि सुदृढ हुँदै गएको दाबी गर्छन् । ‘पार्टी सदस्यहरू १६ हजारबाट बढेर २७ हजारसम्म पुगेका छन् । जिल्लामा क्षेत्र नं. ३ सुदृढ छ । क्षेत्र नं १ र २ मा पनि हाम्रो उपस्थिति बलियो हुँदै गएको छ । पार्टीको प्रभावले रेनुजीले पहिले मेयरमा जित्नुभएको हो । पार्टीको राम्रो नीतिले प्रभावकारी काम भएका हुन् । रेनुजीको कामले संगठनलाई पनि शक्ति दिएको छ,’ संयोजक अधिकारी भन्छन् । 

रेनु आफू पनि अब्बल र नीति निर्माणमा दक्खल राख्ने व्यक्ति भएका कारण आसन्न प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएको दाबी गर्छिन् । भरतपुरमा मेयर भएर आफूले गरेको काम र माडीमा राम्रो संगठन भएकै कारण प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने आत्मविश्वास उनको छ । 

मेयर भएको ९ वर्षमा भरतपुर महानगरले सडक लगायतका पूर्वाधारमा ठूलो फड्को मारेको रेनुको दाबी छ । ‘०७४ को स्थानीय तह निर्वाचन अगाडिसम्म भरतपुर नाम मात्रैको महानगरपालिका थियो । महानगर हुन चाहिने न्यूनतम पूर्वाधार पनि थिएन । तर आज भरतपुर देश र विदेशमा सुनिने, चिनिने गरी लोभलाग्दो विकास क्रममा लम्किरहेको छ,’ महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन गर्ने क्रममा गत २ माघमा उनले भनेकी थिइन् । 

त्यही कार्यक्रममा प्रमुख अतिथि रहेका दाहालले भरतपुरको विकासबारे एउटा प्रसंग सुनाए । ‘म प्रधानमन्त्रीको हैसियतले राष्ट्रसंघको महासभामा भाग लिन जाँदा न्युयोर्कमा भरतपुर घुमेर फर्केका अमेरिकीहरूसँग भेट भयो । उनीहरूले भरतपुरको विकासबारे चर्चा गर्दै रेनु दाहाललाई चिन्छौ भनेर सोधे । मैले रेनु मेरी छोरी हो भन्ने जवाफ दिएँ,’ दाहालले पुलकित हुँदै भनेका थिए ।

रेनु मेयर भएपछि भरतपुरमा निकै विकास भएको भनेर जति दाबी गरिन्छ, त्यही मात्रामा उनी पुष्पकमलकी छोरी भएका कारण योजना र बजेट भरतपुरमा परेको भनेर टीकाटिप्पणी पनि हुने गरेको छ । आफू पुष्पकमलकी छोरी भएकैले मात्रै नभई आफ्नै बलले विकास गरेको तर्क उनले गर्दै आएकी छन् । 

मेयरको हैसियतमा ३ माघमा गरेको अन्तिम पत्रकार सम्मेलनमा पनि रेनुले यसबारे बोलिन् । ‘०७४ सालमा प्रचण्डकी छोरीको हैसियतले आयो, सानी फुच्चीले के गर्ली र भनेर मलाई कम आँकेका हुन् । कम आँकेको कारणले पनि मलाई काम गरेर देखाइदिन्छु भन्ने हुटहुटी जाग्यो,’ उनले भनेकी थिइन्, ‘देशका लागि, व्यवस्थाका लागि, परिवर्तनका लागि हिजोदेखि नै योगदान गर्दै आएकी थिएँ । नेताका छोरी भएर ऐसआराम गर्नुको साटो राजनीतिमा लागेर सेवा गरेकी छु ।’ 

रेनुले ०७४ मा मेयरको उम्मेदवार बन्दै गर्दा सडक, खानेपानी, ढल निकास, विद्युत् व्यवस्थापन, खेल मैदान, पार्क जस्ता विषयलाई प्राथमिकतासाथ उठाएकी थिइन् । उनले भरतपुरलाई व्यवस्थित सहर बनाउने उद्घोष गरेकी थिइन् ।

भरतपुर महानगरपालिका भएपछिको पहिलो नगरसभा २१ पुस ०७४ मा हुँदा प्रमुख अतिथि दाहाल थिए । त्यतिबेला उनी चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा भर्खर निर्वाचित भएका थिए, प्रधानमन्त्री भने थिएनन् । नगरसभामा मेयर रेनुले लिखित भाषणमार्फत प्रतिबद्धता गरेकी थिइन्, ‘नगर्ने कुरा नभन्ने र भनेको कुरा गर्ने ।’ 

गत २ माघमा नयाँ प्रशासकीय भवन उद्घाटन कार्यक्रममा रेनुले आफूले विगतमा गरेका कामको लामो विवरण प्रस्तुत गरेकी थिइन् । महानगरमा भएका पछिल्ला उपलब्धिको चर्चा गर्दा कालोपत्रे सडक प्रमुख मानिन्छ । आफ्नो कार्यकालमा एक हजार ७२ किलोमिटर सडक कालोपत्रे गरेको रेनुको दाबी छ । ‘भरतपुरमा पहिला कालोपत्रे कहाँ छ भनेर खोज्नुपर्थ्यो । अहिले कालोपत्रे कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ रेनु भन्छिन् । 

भरतपुर महानगर हुँदै जाने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–भरतपुर गोन्द्राङ खण्ड ६ लेनको भएको छ । संघीय योजना र बजेट भए पनि त्यो महानगरको तत्परता र सक्रियताले निर्माण भएको रेनुको दाबी छ । ६ किलोमिटरको यो सडक विस्तारको शिलान्यास र उद्घाटन प्रधानमन्त्रीका हैसियतमा केपी शर्मा ओलीले गरेका थिए, जुन बेला केन्द्रीय राजनीतिमा फरक धार र गठबन्धनमा रहेका कारण दाहाल र ओलीको सम्बन्ध तनावपूर्ण थियो ।

महानगरको भित्री खण्ड भएर बग्ने पुङ्गखोला, केरुङ्गा घोलको सौन्दर्यीकरण, जंगली जनावरबाट बस्ती जोगाउन निकुञ्जको मध्यवर्ती वनको सिमानामा निर्माण भएको मेस जाली जस्ता योजना पनि नौ वर्षको अवधिमा सम्पन्न भएका छन् । देवघाटमा विद्युतीय शवदाह गृह निर्माण भएको छ, यद्यपि सञ्चालनमा आउन सकेको छैन । खानेपानी सेवा ९८ प्रतिशतसम्म पुगेको दाबी महानगरको छ । मासिक ७ हजार लिटरसम्म पानी प्रयोग गर्दा शुल्क लाग्दैन ।

महानगरमा ८८ किलोमिटर लामो चक्रपथ निर्माण, नारायणी नदीमा तटबन्धन जस्ता कामले महानगरवासीलाई सुविधाका साथै सुरक्षा पनि दिएको दाबी रेनुले गर्दै आएकी छन् । 

रेनु महानगरमा आउनुअघि ०७३ मा तत्कालीन भरतपुर उपमहानगरपालिकाको परिषद् बैठकमा ८९ करोड ५० लाख ९९ हजार चार सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । त्योभन्दा केही कम बजेट अर्थात् ५३ करोडमा नयाँ प्रशासकीय भवन नै बनेको छ, २ माघमा उद्घाटन गरियो । अहिले भरतपुरको वार्षिक बजेट ५ अर्ब १९ करोड रुपैयाँ छ । भरतपुरले आन्तरिक आय नै एक अर्ब ६५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य तय गरेको छ ।

चक्रपथ निर्माण, नारायणी नदी किनारमा तटबन्ध, नारायणगढ नदी किनारलाई व्यवस्थित बनाउने भन्दै ‘सी बिच मोडल’ (समुद्री किनारजस्तै) मा सौन्दर्यीकरण, दूध किसानलाई अनुदान, छोरी बिमा, गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खेलेको भूमिका यसबीचका उल्लेख्य काम हुन् । महानगरको भित्री खण्ड भएर बग्ने पुङ्गखोला, केरुङ्गा घोलको सौन्दर्यीकरण, जंगली जनावरबाट बस्ती जोगाउन निकुञ्जको मध्यवर्ती वनको सिमानामा निर्माण भएको मेस जाली जस्ता योजना पनि नौ वर्षको अवधिमा सम्पन्न भएका छन् । देवघाटमा विद्युतीय शवदाह गृह निर्माण भएको छ । खानेपानी सेवा ९८ प्रतिशतसम्म पुगेको दाबी महानगरको छ । महिनामा ७ हजार लिटरसम्म पानी प्रयोग गर्दा शुल्क लाग्दैन ।

सडकमा तीव्र गतिमा विकास भए पनि भरतपुरको ठूलो समस्या फोहोर व्यवस्थापनमा भने रेनुले उल्लेखनीय काम गर्न सकिनन् । दैनिक ८० टनभन्दा बढी फोहोर निस्कने भरतपुर महानगरपालिकामा फोहोर विसर्जनका लागि व्यवस्थित ‘ल्यान्डफिल साइट’ छैन । पहिलो नगरसभाबाटै यो विषय उठ्दै आएको हो । गत असारमा सम्पन्न नगरसभामा पनि रेनुले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक–निजी साझेदारी मोडलमा ल्यान्डफिल साइट निर्माण थाल्ने उल्लेख छ । तर कार्यान्वयनमा आएको छैन । 

दिगो फोहोर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राख्दाराख्दै पनि परिणामा ल्याउन नसकेको रेनुको स्वीकारोक्ति छ । ‘मेरो पहिलो कार्यकालमा नै ल्यान्डफिल साइट बनाउन कोरियाली सरकार, संघीय सरकार र महानगरबीच त्रिपक्षीय सम्झौता भएको थियो । एक अर्ब ४० करोड रुपैयाँ कोरियाबाट अनुदान आउने भनिएको थियो । तर कोरोना महामारीपछि कोरियाले यस योजनाबाट हात झिक्यो,’ उनी भन्छिन् । 

महानगरको फोहोर लामो समय नारायणी नदी किनारमा लगेर पुर्ने गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वतसँग जोड्ने बरन्डाभार जंगलअन्तर्गत पर्ने जलदेवी सामुदायिक वनमा गत वर्षदेखि फोहोर लगेर पुर्ने गरिएको छ । 

ल्यान्डफिल साइट निर्माण गर्न सरकारले भरतपुरलाई २०६८ मै जलदेवी वनमा १५ बिघा जग्गा दिएको थियो । वन कार्यालयलाई सट्टाभर्ना दिनुपर्ने सम्झौता रहेका कारण माडीमा १५ बिघा जग्गा भरतपुरले किनेको थियो । तर त्यो जग्गा सट्टाभर्ना लिन मिल्ने मापदण्डभित्र नपरेको जिकिर वन कार्यालयले गरेपछि जग्गाको साटो नियमअनुसार नगद नै पाँच करोड रुपैयाँ भुक्तान गरेको र ल्यान्डफिल साइट बनाउने प्रक्रिया फेरि सुरु गरेको रेनुको भनाइ छ । 

भरतपुरलाई चर्चा र विवादमा ल्याइरहने विषय हो क्रिकेट मैदान । नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएपछि मुलुकमा यस खेलको माहोल ह्वात्तै बढ्यो । जनस्तरमा अभियान चलाएर आर्थिक सहयोग जुटाई विभिन्न समुदायमा बस्ती निर्माण गर्दै आएका कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को संस्था धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला बनाउने योजना ल्यायो । उपयुक्त ठाउँमा जग्गा उपलब्ध भए देश, विदेशबाट सहयोग जुटाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रस्ताव फाउन्डेसनले ल्यायो । यसका लागि रामपुरमा जग्गा उपलब्ध गराउन भरतपुर महानगरपालिका तयार भयो ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा जग्गा तत्कालीन उपकुलपतिहरूसँग समझदारी गरेर महानगरले लियो । १६ माघ २०७५ मा काठमाडौंमा फाउन्डेसन र महानगरपालिकाले रंगशाला बनाउने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका तत्कालीन महामन्त्री शशांक कोइराला कार्यक्रममा उपस्थित थिए । 

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कट्टेलले यो रकम भुक्तानीका लागि धेरै पटक महानगरमा धाए । मन्त्रालय र महानगर धाउँदा पनि केही हात नपरेपछि उनी सपरिवार अमेरिका पुगेका छन् । समझदारीपत्रमा हस्ताक्षरपछि भरतपुरकी तत्कालीन मेयर रेनुले रंगशाला निर्माण छिटो सकेर भारत र पाकिस्तानबीच खेल गराउने सपना देखेको बताएकी थिइन् । ३० हजार दर्शक अट्ने क्षमताको रंगशाला दुई वर्षभित्रै निर्माण गर्ने भनेर धुर्मुस–सुन्तली फाउन्डेसनले काम सुरु गर्‍यो । जसको निर्माण लागत अनुमानित तीन अर्ब रुपैयाँ थियो । काम सुरु भएको वर्ष दिन बितेलगत्तै कोरोना महामारी सुरु भयो । सोचे जस्तो आर्थिक सहयोग नजुटेको र उधारोमा धेरै काम गर्नुपरेको भन्दै फाउन्डेसन भदौ ०७८ मा रंगशाला निर्माणबाट अलग भयो । त्यसै वर्षको २ पुसमा रंगशालाको स्वामित्व लिन आग्रह गर्दै फाउन्डेसनले महानगरलाई पत्र लेख्यो ।  

रंगशाला निर्माण कसरी अगाडि बढाउने भन्ने अन्योल लामो समय रह्यो । २१ कात्तिक २०८० मा भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर रंगशाला निर्माण पूरा गर्ने सहमति गर्‍यो । २३ कात्तिकमा संघीय सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । ३० महिनाभित्र १५ हजार दर्शक अट्ने रंगशाला बनाउन २३ असार २०८१ मा नयाँ ठेक्का सम्झौता गरियो । अहिले ४५ प्रतिशत काम सकिएको छ ।

नयाँ सम्झौता र विधिले काम सुरु भए पनि पुरानो विषय टुंगिएको छैन । धुर्मुस–सुन्तली फाउन्डेसनले ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम गरेको र उधारोमा १८ करोड ४३ लाख रुपैयाँको काम भएको दाबी गर्दै आएको छ । फाउन्डेसनले उधारोमा काम गराएको सो रकम पाएको छैन ।

संघीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ । तर यसरी रकम तिर्ने व्यवस्था नीतिमा नभएको भनेर फाउन्डेसनलाई भुक्तानी दिएन । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कट्टेलले यो रकम भुक्तानीका लागि धेरै पटक महानगरमा धाए । मन्त्रालय र महानगर धाउँदा पनि केही हात नपरेपछि उनी सपरिवार अमेरिका पुगेका छन् । 

२०७९ को स्थानीय निर्वाचनका बेला रेनुले जारी गरेको घोषणापत्रमा महानगरको सहरी पूर्वाधारलाई एसियाली मापदण्डअनुरूपको बनाउने भनिएको थियो । नारायणगढ र भरतपुरका चोकहरूमा ‘एआई ट्राफिक लाइट’ राख्ने, आवश्यक स्थानमा 

फ्लाइओभर र अन्डरपास बनाउने भनिएको थियो । भरतपुरलाई औपचारिक मेडिकल सिटी घोषणा गरेर प्रभावकारी मेडिकल बोर्ड गठन गर्ने जस्ता विषय पनि त्यसमा समेटिएका थिए । यी योजना पनि कार्यान्वयनमा आएनन् । 

भरतपुर महानगरपालिकाले निजी कम्पनीलाई भाडामा दिएको वडा नं. ३ नारायणगढ लायन्स चोकको जग्गामा १४ तले ‘मेट्रो प्लाजा’ बनाउन सम्झौता भएको थियो । महानगरको स्वामित्वमा रहेको जग्गामा कम्पनीले तीन वर्षभित्र भवन बनाउने भन्दै ९ भदौ २०७८ मा शिलान्याससमेत भयो । लायन्स चोकको ११ कट्ठा सात धुर जग्गामा बन्ने प्लाजाको शिलान्यास त्यो बेलाको सत्तारूढ माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।

सो प्लाजा ३० वर्षपछि महानगरलाई हस्तान्तरण गर्ने र त्यो बेलासम्म महानगरले जग्गा भाडा र रोयल्टीबापत कम्पनीबाट ८२ करोड रुपैयाँ पाउने सर्त थियो । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा मेट्रो प्लाजा बनाउन आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालिले महानगरसँग सम्झौता गरेको थियो । यसलाई भरतपुर महानगरले गौरवको आयोजना घोषणा गरेको थियो । तर काम अगाडि बढेन ।

महानगरले सम्बन्धित कम्पनीसँग ठेक्का सम्झौता तोड्यो । ‘कोभिडको कारण देखाएर कम्पनीले काम सुरु नगरेपछि हामीले धरौटी जफत गर्दै ठेक्का तोड्यौं । त्यसपछि पनि चौथो पटकसम्म ठेक्का आह्वान गर्‍यौं । यो कामले गति लिएन,’ रेनु भन्छिन् । 

भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ नपुगेका कारण ठूलो क्षमताका जहाजहरूले भरतपुरमा उडान भर्न सकेका छैनन् । धावनमार्गको लम्बाइ बढाएर ठूला जहाज राति चलाउने चर्चा चल्दै आएको छ । यसका लागि पनि महानगरले पहल गरेको थियो । 

‘हवाई मैदान आडमा रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई अन्यत्र सारेर त्यहाँसम्म धावनमार्ग लैजाने विषयमा हामीले धेरै पहल गर्दै आयौं । काम हुने अवस्था पनि थियो । तर यहीबीचमा जेन–जी आन्दोलन भयो । संसद् विघटन भयो । नयाँ सरकारले चुनाव घोषणा गर्‍यो । यो सरकार चुनावमै केन्द्रित भएर होला, यस्ता आयोजनामा काम अगाडि बढाएको छैन,’ रेनु भन्छिन् । 

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको भरतपुर हुँदै जाने प्रस्तावित रुटविरुद्ध स्थानीय आन्दोलित भए । प्रस्तावित रुटका कारण भरतपुर–७ र ८ का पाँच वडाका २ हजार २ सय घरधुरी प्रभावित हुने जिकिर स्थानीयको थियो । रुट परिवर्तनका लागि पहल गर्ने बचन दाहालले दिएकी थिइन् । गएको ११ साउनमा रेल विभागले भरतपुर महानगरपालिकालाई पत्र लेखेर चालु आर्थिक वर्षको बजेटमा पूर्व–पश्चिम राजमार्गलाई आधार मानी विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिने उल्लेख भएको जानकारी गरायो । रेल विभागको यो पत्रलाई स्थानीयले पहिलाको रुटबाट रेलमार्ग नजाने भयो भन्दै २१ साउनमा कृष्णपुरमा धन्यवाद सभा नै गरे । सभामा रेनु पनि उपस्थित थिइन् । नयाँ रुटको अध्ययन भने अगाडि बढेको छैन ।

 दोस्रो कार्यकालमा टिमसँग असमझदारी बढेको सुनिएन । मेयरका रूपमा रेनुको अन्तिम पत्रकार सम्मेलनमा सहभागी भएका उपमेयर चित्रसेन अधिकारीले निर्विवाद रूपमा काम गरेको बताए ।

पहिलो कार्यकालमा तत्कालीन उपमेयर पार्वती शाह ठकुरीसँग केही समय रेनुको मतान्तर जस्तो देखियो । दोस्रो कार्यकालमा टिमसँग असमझदारी बढेको सुनिएन । मेयरका रूपमा रेनुको अन्तिम पत्रकार सम्मेलनमा सहभागी भएका उपमेयर चित्रसेन अधिकारीले निर्विवाद रूपमा काम गरेको बताए । कार्यसम्पादन मूल्यांकनमा भने भरतपुर महानगर लगातार जस्तो उत्कृष्ट भयो ।

भरतपुरको वीरेन्द्र क्याम्पसका प्रमुख भइसकेका र अवकाशपछि साहित्य क्षेत्रमा सक्रिय रहेका एलबी क्षेत्री रेनुलाई काम गर्न खोज्ने व्यक्तिका रूपमा चिन्छन् । ‘रेनु काम गर्न चाहना राख्ने मान्छे हुन् । तर चाहना मात्रै भएर भएन । भिजन पनि चाहिन्छ,’ उनी भन्छन्, ‘भिजन आफूसँग मात्रै नहुन 

सक्छ । यसका लागि राम्रा विज्ञ र सल्लाहकार राख्नुपर्थ्यो । यसमा उनले ध्यान दिएको भए भरतपुर अझै राम्रो हुन्थ्यो ।’ रेनुको धेरै ध्यान बाटोमा गएको तर विकासका अन्य पाटामा काम नभएको क्षेत्रीको भनाइ छ । महानगरमा प्रज्ञा प्रतिष्ठान गठन भए पनि सोचेअनुरूप साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम नभएको पनि उनी बताउँछन् । ‘उनैले घोषणा गरेका ठूला योजना नौ वर्ष बित्दा पनि अधुरा रहे,’ क्षेत्री भन्छन्, ‘तर रेनु संसद्मा जानुपर्ने नेता हुन् ।’

भरतपुरको विकास मोडलका विषयमा असहमति प्रकट गर्दै आएका डा. जीवन क्षेत्री सडकलाई नै विकास मान्ने महानगरको सोच गलत भएको टिप्पणी गर्छन् । ‘विकास भनेकै सडक हो भन्ने भाष्य निर्माण भयो । आज भरतपुर सार्वजनिक यातायातको क्षेत्रमा दयनीय अवस्थामा छ । सबैभन्दा महँगो भाडा यहीं छ होला । यस्ता विषय महानगरले हेर्नुपर्ने हो । तर ध्यान गएन,’ उनी भन्छन् । सार्वजनिक यातायातमा म्याजिक र अटो रिक्सालाई प्रोत्साहन गर्दा सर्वसाधारणले महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । 

फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम नगरेको, नारायणगढको नारायणी नदी किनारमा बाढीले क्षति पुर्‍याउने खतरा हुँदाहुँदै पनि ‘सी बिच मोडल’ को संरचना बनाएको जस्ता विषयले महानगर दिगो र पर्यावरणमैत्री विकासमा नलागेको देखाउने डा.क्षेत्री तर्क गर्छन् । 

अलि ‘भिजन’ भएको नेतृत्वले गर्न सक्ने काम पनि भरतपुरमा नभएको उनले बताए । विश्वव्यापी समस्याका रूपमा रहेको तापक्रम वृद्धिलाई ख्याल गरेर योजना नबनाउँदा भरतपुर उच्च तापमानको टापु बन्छ कि भन्ने खतरा रहेको पनि डा. क्षेत्रीले बताए । ‘भरतपुरको विकास भनेर ड्रोनबाट खिचेका फुटेजमार्फत धेरै प्रचारप्रसार गर्ने तर प्रश्न सामना नगर्ने, जवाफदेही हुन नखोज्ने, जे कुरा गर्दा प्रचार हुन्छ, त्यही गर्ने परिपाटी रह्यो,’ उनले भने । 

चितवन–३ मा रेनुका प्रतिस्पर्धीका रूपमा कांग्रेसका टेकप्रसाद गुरुङ, एमालेका शंकरराज थपलिया, रास्वपाका सोविता गौतम, राप्रपाका दीपक थापा मगरलगायत छन् । यस क्षेत्रमा गएको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत (२८ हजार ४ सय १) रास्वपाले पाएको थियो । त्यही कारण रास्वपा उम्मेदवार सोवितालाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । सोविताले पनि मुख्य चुनौतीका रूपमा रेनुलाई हेरिरहेको उनको अभिव्यक्तिमा पाइन्छ । 

रेनुले भने आफूसँग संविधानसभा सदस्यका रूपमा देशको मूल कानुन निर्माणमा संलग्न रहेको अनुभव रहेको पनि बताइन् ।मनोनयन दर्ता गरेलगत्तै सोविताले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर जाने व्यक्तिले कानुन निर्माण गर्ने हो, त्योभन्दा अन्य आशा र आश्वासन देखाउन नहुने प्रतिक्रिया दिएकी थिइन् । ‘जो कानुन निर्माण गर्न सक्नुहुन्छ, उहाँ त्यो पदका लागि योग्य हुनुहुन्छ भनेर नेपाली जनताले पहिचान गर्ने हो,’ पूर्वसांसद एवं अधिवक्तासमेत रहेकी सोविताको भनाइ छ, ‘त्योभन्दा अन्यथा विकास निर्माणको कुरामा कसैले लोभ देखाउँछ, आश्वासन दिन्छ भने नेपाली जनताले मूल्यांकन गर्नुपर्ने विषय हो जस्तो लाग्छ ।’  

भरतपुर महानगरमा दुई कार्यकाल मेयर भएर गरेको कामका आधारमा रेनुले प्रचार गर्न सक्ने आकलनका आधारमा सोविताको यस्तो टिप्पणी आएको थियो । ‘संविधानमा संसद्को म्यान्डेट कानुन निर्माण हो भनेर मैले पढेकी, बुझेकी हुँ । त्योभन्दा अन्य दायरा छैन,’ सोविताको थप भनाइ छ । 

जवाफमा रेनुले भने आफूसँग संविधानसभा सदस्यका रूपमा देशको मूल कानुन निर्माणमा संलग्न रहेको अनुभव रहेको पनि बताइन् । ‘स्थानीय सरकारले पनि कानुन बनाउँछ,’ उनले भनिन्, ‘भरतपुरमा १४१ भन्दा बढी ऐन, नियम बनेका छन् । त्यसैले कानुन निर्माण र यसको प्रक्रियाबारे म जानकार छु ।’

उम्मेदवारी दर्तापछि घरदैलो गरिरहेकी रेनु आफू मेयर हुँदा भरतपुरमा गरेको कामको मूल्यांकन मतदाताले गर्ने बताउँछिन् । ‘मलाई मतदाताले जसरी स्वागत गर्नुभएको छ, त्यसले मैले मेयर हुँदा गरेको कामको कदर भएको छ भन्ने पुष्टि भएको छ,’ उनी भन्छिन्, ‘भरतपुरका मतदाताले तपाईंले काम गर्नुभएको छ, मत दिन्छौं भनिरहनुभएको छ । माडीमा भरतपुर जस्तै विकास हुन्छ भनेर मत दिन तयार हुनुहुन्छ ।’

कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङ विगतमा आफूहरूले सहयोग, समर्थन गरेकै कारण रेनु मेयर भएको बताउँछन् । ‘उहाँ मेयरको कार्यकाल बाँकी रहँदै उम्मेदवार नभएको भए हुने । जनताले त उहाँलाई काम गर्न भनेर पाँच वर्षका लागि मत दिएर पठाएको हो नि,’ उनी भन्छन् । गएको निर्वाचनमा प्रत्यक्षततर्फ कांग्रेसको उम्मेदवार नभए पनि समानुपातिकमा १० हजार ५ सय २४ मत खसेको थियो ।

०७४ र ०७९ मा तालमेलका कारण कांग्रेस र एमालेका उम्मेदवार थिएनन् । यसपालि एमालेले पनि उम्मेदवारी दिएको छ । ०७९ मा एमालेले समानुपातिकमा १४ हजार ५ सय २२ मत प्राप्त गरेको थियो । 

०७९ मा चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे विजयी भएका थिए । यो पटक राप्रपाले पार्टीको भरतपुर महानगर समितिका अध्यक्ष दीपक थापा मगरलाई उठाएको छ । ०७९ मा राप्रपाले समानुपातिकतर्फ १६ हजार ७ सय ५५ मत ल्याएको थियो ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully