रास्वपामा 'थितिको अन्त्य, बेथितिको थालनी' भएको भन्दै राणाले छोडे पार्टी

'केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार छन्' - प्रणय शमशेर राणा

माघ २९, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै नेता प्रणय शमशेर राणाले बेथिति बढेको आरोप लगाएका छन् । २०७९ को चुनावमा काठमाडौं-५ बाट रास्वपा उम्मेदवार रहेका राणाले बिहीबार पार्टीबाट राजीनामा गरेका हुन् ।

पार्टीभित्र बेथिति बढेको र नेतृत्वलाई बेथितिलाई प्रश्रय दिएको राणाको भनाइ छ । उम्मेदवार चयनदेखि सदस्यता शुल्कसम्म ठूलो रकम उठाइएको राणाले रास्वपा महामन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

'विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो । रु १००० सदस्यता शुल्कबाट रु ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रिया मात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता/ अपचलन देखियो,' राणाले राजीनामा पत्रमा लेखेका छन्, 'पार्टी स्थापना कालमा गरिएको वाचा 'बेथितिको अन्त्य- थितिको थालनी' ठिक उल्टो भएर 'थितिको अन्त्य - बेथितिको थालनी' हुन पुगेको छ ।'

रास्वपाका पदाधिकारी तथा केन्द्रीय सदस्य बेथितिका साझेदार बनेको राणाको भनाइ छ । 'केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार छन् भने अन्य अजिबोगरिब तवरले मौन छन् । सीमित केही बोल्ने साथीहरूको हविगत आम नेपालीलाई थाहा भइसकेको छ । सुशासन, जवाफदेहिता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै सिमित रहेको छ- अभ्यासमा फिटिक्कै छैन,' उनले भनेका छन् ।

रास्वपामा विशेष परिस्थितिको नाममा बेथितिलाई संस्थागत गरिएको राणाको भनाइ छ । 'राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन् । त्यसैले नै सबै भैपरि आउनसक्ने परिस्थितिहरुलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ । अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?,' उनले प्रश्न गरेका छन् ।

पार्टीलाई सही ढंगले परिचालन नगर्ने पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएमा राम्रो गर्छ भन्ने विश्वास आफूलाई नरहेको राणाको भनाइ छ । 'आफ्नो आन्तरिक अभ्यास सही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिनँ र अन्धभक्ति गर्न पनि चाहन्नँ,' उनले भनेका छन्, 'त्यसैले यी सबै बेथितिका बावजुद मुखदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।'

राणाले रास्वपामा रहेको अवधिमा पार्टीलाई व्यवस्थित गर्दै लोकतान्त्रिक दिशातर्फ लाने क्रममा सांगठनिक कार्य, नीति-निर्माण, तथा अभियानहरूमा पार्टीले दिएको जिम्मेवारी साथै आफ्नो बल बुद्धिले सकेको र जानेको सबै जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले पार्टीका सुरुवाती दिनदेखि नै आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताका लागि पैरवी गर्दै आएको राजीनामा पत्रमा लेखेका छन् । तर, नेताहरूले भने  सुरुवातदेखि नै पार्टी केन्द्र आफ्नो अनुकूल संगठन र सांगठनिक संरचना बनाउनेमा मात्रै केन्द्रित रहेको उनको भनाइ छ । 'कहिले लोकतान्त्रिक पद्धतिबाट बनेको निर्वाचन क्षेत्रलाई हटाउने विधान, त्यो नसकेपछि जहाँ सांसद छ त्यहाँको क्षेत्रीय सभापति उनै हुने विधान बनाउने, न राष्ट्रिय भेला लोकतान्त्रिक प्रक्रिया अनुरूप गरियो, न केन्द्रीय समितिको विस्तारित बैठक; यी दुवै पार्टीको नीति र विधान संशोधन गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको ठाउँमा प्रतिनिधिहरूले लोकतान्त्रिक तवरले आफ्नो मत व्यक्त गर्न पाएनन्,' उनको असन्तुष्टि छ ।

रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्नका लागि पार्टीभित्रबाट प्रतिस्पर्धा गर्ने प्राइमरी चुनाव गराएको थियो । त्यसका लागि रकम उठाइएको थियो । त्यो रकममा पनि अनियमितता भएको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully