संविधानसभा सदस्यसमेत रहेका नेता पाण्डेयले मुलुकमा हुन लागेको निर्वाचनमा सही निर्णय लिनुपर्नेमा जोड दिए ।
What you should know
पाल्पा — जेन–जीको माग सम्बोधन गर्न निर्वाचन महत्वपूर्ण रहेको पूर्व उद्योगमन्त्री एवं पाल्पा क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सोमप्रसाद पाण्डेयले बताएका छन् । उनले संविधानको रक्षा र जेन-जीको मागअनुसार काम गर्न अहिलेको निर्वाचन जरुरी रहेको बताए ।
नेपाली कम्युनिस्ट पार्टी पाल्पाले तानसेनमा राखेको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनको विषयलाई यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले महत्वकासाथ लिनुपर्ने हुन्छ ।’ उनले निर्वाचन विथोल्ने विषय बोल्नु गलत रहेको भन्दै जेन–जी आन्दोलन र संसद् विघटनपछि नेकपाका संयोजक पुष्पकमल दाहालले निर्वाचनको कुरा उठान गरेको बताए ।
उनले जेन–जी आन्दोलनको माग र चाहनाअनुसार भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि मात्र नभएर मुलुकको समृद्धिका लागि निर्वाचन हुन लागेको बताए । ‘अबको नेतृत्व चयन गर्ने महान् अभियान फागुन २१ मा हुनेछ,’ उनले भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचन र अबको नेतृत्व नेकपाले गर्नुपर्छ ।’
संविधानसभा सदस्यसमेत रहेका नेता पाण्डेयले मुलुकमा हुन लागेको निर्वाचनमा सही निर्णय लिनुपर्नेमा जोड दिए । सही निर्णय लिएर अघि बढ्न सके मात्र मुलुक समृद्ध हुने बताउँदै उनले विगतमा भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘विगतका गल्ती कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने हुन्छ,’ उनले भने, ‘नसच्चिने हो भने चुनावमा भाग नलिए राम्रो हुन्छ ।’
उनले नयाँका नाममा देखिएका गतिविधिलाई बिना विचार र सिद्धान्त मुलुकलाई दिशानिर्देश गर्न नसक्ने बताए । निर्वाचनपछि सरकार चलाउने नेतृत्व सही हुन नसके मुलुकलाई ठूलो क्षति हुने उनले बताए । विकास निर्माण र मुलुकको नेतृत्व सही दिन आम मतदाताले ध्यान दिनुपर्नेमा उनको जोड छ । ‘मैले मतदातासँगको छलफलमा नागरिकसँग सुख, दुःखमा सधैसँगै रहेको छु,’ उनले भने, ‘आगामी दिनमा पनि निर्वाचित भए वा नभए पनि आम नागरिकको माग र आवश्यकताअनुसार अघि बढ्नेछु ।’
पाण्डेय जिल्लाका पुराना र अनुभवी नेता हुन् । २०५१ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका पाण्डेय पूर्वमन्त्रीसमेत हुन् । पूर्वउद्योगमन्त्री भइसकेका उनी ०५१ सालबाट निर्वाचन लड्दै आएका अनुभवी नेता हुन् । पाण्डेय साविकको २ नम्बर क्षेत्रबाट २०५१, ०५६, ०६४, ०७० का उम्मेदवार हुन् । उनले ०६४ र २०७९ को निर्वाचनमा हार व्यहोरेका थिए । संघीयतापछि २ क्षेत्र भएको पाल्पाको क्षेत्र २ बाट पाण्डेय २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमा फराकिलो मतान्तरसहित जित हासिल गरेका नेता हुन् ।
पाण्डेयले यसअघि जिल्लाका शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, खानेपानीजस्ता अनेक पूर्वाधार विकासका काम गरेको र बाँकी कामका लागि उम्मेदवार भएको बताउने गरेका छन् । उनले यसपटक सिद्धबाबाबाट आफ्नो चुनावी अभियान सुरु गर्दै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख एजेन्डा बनाएको बताए ।
२०७९ सालमा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको साझा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई गैरेले पराजित गरेका थिए ।
गैरेले २७ हजार ८१७ मत पाएका थिए भने एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याएका थिए । क्षेत्र २ मै एमालेबाट ठाकुरप्रसाद गैरे पुनः उम्मेदवार बनेका छन् । कांग्रेसबाट जिल्ला सभापतिसमेत रहेका युवा नेता हिमालदत्त श्रेष्ठ उम्मेदवार छन् । रास्वपामा डा. माधव थापा चुनावी प्रतिस्पर्धामा छन् । राप्रपाबाट जिल्ला अध्यक्ष तथा पुराना नेता डुलबहादुर कुँवर चुनावी मैदानमा छन् ।
राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी (विशाल) ले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमुक्ति पार्टीका टोपबहादुर अस्लामी, जनता समाजवादी पाटी (एकल चुनाव चिन्ह) बाट खिकबहादुर रेश्मी, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट मानबहादुर दर्लामीले मनोनयन गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्व सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट बिष्णु ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसीले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट मोहन कुँवर थापा मगर, केशवप्रसाद बस्यालले स्वतन्त्र उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेन पाल्पाका अनुसार क्षेत्र नं. २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ उम्मेदवार कायम छन् ।
