लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक दाहालको प्रतिबद्धता

भूमे गाउँपालिका–१ लुकुममा बिहीबार मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताए ।

माघ २९, २०८२

रासस

रुकुम पूर्व — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भूमे गाउँपालिका–१ लुकुममा बिहीबार मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताए । लुकुम गाउँको प्रख्यात झाँक्री नाचका बारेमा आफूले श्रव्य-दृश्य हेरेको उल्लेख गर्दै उनले सामाजिक तथा संस्कृतिक रुपले धनी लुकुमको विकासमा विशेष योजना ल्याइने विश्वास दिलाए । 

दाहालसमक्ष स्थानीयको मागपत्र 

त्यसक्रममा भूमे–१  का वडाध्यक्ष मनकाजी पुनले वडावासीका माग संयोजक दाहालसमक्ष पेस गरेका थिए । सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकास निर्माणबारे उनको ध्यानाकर्षण गराए । 

मागपत्र बुझ्दै संयोजक दाहालले स्थानीयको आवश्यकता र भावनालाई आफूले जतिसक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस

Link copied successfully