शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायताको जिम्मेवारी राज्यले लिनुपर्छ : उपेन्द्र यादव

सप्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले उपचार सेवा सहज नहुँदा जग्गा बेचेरै टाढा–टाढासम्म पुगेर उपचार गराउनुपर्दा सर्वसाधारण पीडामा रहेको बताए ।

माघ २८, २०८२

विद्यानन्द राम

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालमा उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायताको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । 

बुधबार उनले राजविराजमा पत्रकार सम्मेलन गर्दै चुनावी अभियानका क्रममा गाउँ–गाउँ जाँदा अहिले यी ३/४ वटा समस्याले सर्वसाधारणलाई दरिद्र हुनुपर्ने र घरबार बेच्नुपर्ने अवस्था आइसकेको बताए ।

‘राम्रो शिक्षा, सुविधा सम्पन्न अस्पताल र उपचार सेवा, रोजगारी तथा कानूनी सहायता जस्ता कुराले सर्वसाधारण अहिले बढी आक्रान्त र पीडित रहेको पाएँ,’ यादवले भने, ‘यहाँका सरकारी विद्यालयमा राम्रो राम्रो पढाइ भएन। भविष्य विग्रिने चिन्ताले घरबारी जग्गा बेचेर बच्चालाई सहर लगेर निजी विद्यालयमा पढाउँदा महँगो खर्च व्यहोनुपर्दा पीडा छन् ।’

सप्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले उपचार सेवा सहज नहुँदा जग्गा बेचेरै टाढा–टाढासम्म पुगेर उपचार गराउनुपर्दा सर्वसाधारण पीडामा रहेको बताए ।

‘अर्को विचित्रको घटना के देख्छु भन्ने हरेक ठाउँमा स–साना कुरामा मुद्दा लागेको छ अनि सर्वसाधारणले ऋण लिएर/घरबार बेचेर मुद्दा लडिरहेका छन्,’ यादवले भने, ‘अहिले गाउँ–गाउँमा सर्वसाधारण यी समस्याले दरिद्र र घरबार बेच्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।’

छिमेकी मुलुक भुटानसहित संसारको अधिकांश मुलुकले यस्ता जिम्मेवारी हेर्ने परिपार्टी बनाइसकेको उनको भनाइ छ । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully