सञ्चारकर्मी सन्तोष देउजाले डिजिटल मिडियाका सञ्चारकर्मीले विगतमा हेपाइ खाए पनि हाल प्रभावकारी रूपमा आइरहेको बताए।
काठमाडौँ — राजनीतिककर्मी तथा अभियन्ताले जनताका गुनासा र प्रश्न सुन्न नसक्दा समस्या आएको बताएका छन् । उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट जनताका आवाज उठाइरहेको जनाएका छन् ।
कान्तिपुर कन्क्लेभको ‘जनताको प्यानल’ सत्रमा बोल्दै आम जनता पार्टीका नेता एवं पूर्वपत्रकार ऋषि धमलाले आफू जनताको सेवा गर्न राजनीतिमा आएको बताए ।
‘मैले रौतहटको पीडा देखेको छु, सबै कुरा छोडेर गरिब जनताको सेवा गर्न रौतहट–४ मा उम्मेदवार हुन गएको हो,’ उनले भने, ‘मैले जनताको काम गरेको छु, उखु बोकेको छु, चटपटे बनाएको छु ।’ देशको भ्रष्टाचार अन्त्य गर्दै सुशासनका लागि राजनीतिमा आएको बताए । ‘मधेशको समस्या देख्दा सबैको मन रुन्छ,’ उनले भने ।
आफू २०४६ देखि नै प्रजातन्त्र र प्रेस स्वतन्त्रका पक्षमा लागेको बताए । ‘प्रश्न सोध्न सजिलो छ, काम गर्न गाह्रो छ । त्यसैले काम गर्न राजनीतिमा आएको हो,’ उनले थपे, ‘जेन–जी आदोलनको सेफ ल्यान्डिङ मैले गराएको हो, संविधानबाटै समाधान खोजौं भनेको हो ।’
उनले आफू कांग्रेस नेता प्रदीप गिरिको विचार बोकेर हिँडेको दाबी गर्दै स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउनुपर्ने तर्क पनि गरे । उनले थपे, ‘म त्यसै र अनायास राजनीतिमा आएको छैन, नेताहरूसँग संगत गरेको अनुभव छ र मैले सबै कुरा बुझेको छु ।’
मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंले उपचारको अभावमा सर्वसाधारणले आत्महत्या गर्ने अवस्था आएकाले आफू व्यवस्था बदल्न अभियानमा लागेको बताए । ‘पैसा नहुँदा झुन्डिएर मर्नुपर्ने ? यसले मलाई पीडा भयो,’ उनले भने, ‘यो व्यवस्था फ्याँक्नुपर्छ ।’ आफू चर्को ब्याजको विरुद्धमा उभिएपछि हाल ब्याजदर घटेका कारण सबैलाई लाभ भएको उनको भनाइ छ । ‘म ब्याज चर्को भयो भनेर लड्दा विरोध भयो, अहिले ६ प्रतिशत भएको छ, लाभ कसलाई भयो ?’ उनले भने ।
अन्तर्राष्ट्रिय शक्तिले नचाहेका कारण नेपालका शासकले हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विदेशी शक्तिले नचाहँदा हेलिकोप्टर चढेर भाग्नुपर्ने रहेछ,’ उनले असली शासन राजतन्त्र भएको दाबीसमेत गरे । ‘दूध गाई–भैंसीको हुन्छ । कटहरको सेतो चोप खाएर हुँदैन । त्यसैले जनताले राजा खोजेको हो,’ उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले अभिभावक मानेको उनको भनाइ छ । ‘बच्चाहरू अभिभावकसँग रिसाउँछन् नि, त्यस्तै हो,’ उनले भने । प्रसाईंले ठूला दलका सबै नेताहरूसँग आफूले संगत गरेको बताउँदै पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गराएपछि आफूलाई ‘मार्सी’ भन्न थालिएको बताए ।
उनले आफूले मेडिकल कलेज खोलेपछि सञ्चारमाध्यमका निसानामा परेको दाबी गरे । ‘मेचीमा मेडिकल खोलें, सबै मिडियाले खेदे, तर म नेगेटिभमा पोजेटिभ खोज्ने मान्छे हो,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता खुस्बु ओलीले राजनीतिक धरातलबाट मात्र टिक्न सकिने बताइन् । ‘क्षणिक रूपमा सामाजिक सञ्जालमा लगानी गरेर आफूलाई पपुलर बनाउन सकिन्छ, यसको आधारमा नेता चुन्ने एकदम खतरनाक कुरा हो,’ उनले भनिन्, ‘अहिलेको समयमा ट्रेन्ड र लहर हेर्ने तर व्यक्ति कस्तो छ, व्यक्तित्व कस्तो छ, विचार के छ प्रश्न पनि नगर्ने, त्यो नेतामा जवाफदेहिता पनि नखोज्ने, सामाजिक सञ्जालबाटै भोट माग्ने अवस्था देखिन्छ ।’
उनले आफूले सामाजिक सञ्जालबाट विचारको बहस सिर्जना गर्न थालेको बताइन् । ‘राजनीतिको मुख्य धरातल विचार हो, मैले सामाजिक सञ्जालमा पार्टीको विचार दिने गरेको छु,’ उनले भनिन्, ‘लोकतान्त्रिक संस्था कमजोर हुँदा सामाजिक सञ्जाल बलियो छ, सामाजिक सञ्जालले विचारको लहर ल्याएको छ ।’
उनले सामाजिक सञ्जालबाट ‘पपुलिस्ट’ नेता छान्ने प्रवृत्ति भएको बताइन् । गत आम निर्वाचनमा आफू महिलाको आत्मबल बलियो बनाउन उम्मेदवार भएको बताइन् । ‘म गत निर्वाचनमा उम्मेदवार हुनुको कारण महिला पनि नेता हुन सक्छ भन्ने विश्वास दिनु थियो,’ उनले भनिन्, ‘गत निर्वाचनमा पार्टीविरुद्ध स्वतन्त्र चुनाव लडें ।’
सञ्चारकर्मी सन्तोष देउजाले आफूले समाजसेवा गर्न सञ्चारकर्म गरेको बताए । ‘हामीलाई हेर्ने चस्मा फेर्नुस् । दस वर्षको बच्चाको आमा खोजिदिएँ मैले के बिराएँ ?’ उनले भने, ‘मूलधारका मिडियाले नेताको भन्दा जनताको कुरा बोल्नुस्, जनतामुखी हुनुहोस् ।’ उनले राम्रो काम गर्ने जो व्यक्तिलाई पनि आफूले समर्थन गर्ने बताए । ‘राम्रो काम गर्ने व्यक्तिलाई समर्थन गर्दा के बिग्रियो ? राम्रो काम गर्ने व्यक्तिलाई मन पर्छ,’ उनले भने ।
डिजिटल मिडियाका सञ्चारकर्मीले विगतमा हेपाइ खाए पनि हाल प्रभावकारी रूपमा आइरहेको उनको भनाइ छ । ‘पहिले हामीलाई युट्युबे भनेर हेपियो, अब प्रभावकारी रूपमा आइरहेका छन्,’ उनले भने ।
