‘व्यक्तिको आवाजलाई मूल प्रवाहमा ल्याउन सामाजिक सञ्जाल’

अल्गोरिदमले गहन विमर्शभन्दा उत्तेजक र नकारात्मक सामग्रीलाई बढी प्रोत्साहन दिँदा समाजमा भ्रम, ध्रुवीकरण र विशृंखलता निम्त्याएको जानकारहरूको निष्कर्ष

माघ २८, २०८२

सजना बराल

'Social media to bring people's voices into the mainstream'

काठमाडौँ — आवाजलाई मूल प्रवाहमा ल्याउन मद्दत गरे पनि यसको दुरुपयोगले समाजमा भ्रम, ध्रुवीकरण र विशृंखलता निम्त्याएको जानकारहरूले औंल्याएका छन् । विशेषगरी सामाजिक सञ्जालका अल्गोरिदमले गहन विमर्शभन्दा उत्तेजक र नकारात्मक सामग्रीलाई बढी प्रोत्साहन दिँदा त्यसले समस्या ल्याएको उनीहरूको भनाइ छ ।

सञ्जालमा देखिने अराजकता प्राविधिक अल्गोरिदमको मात्र समस्या नभएर विश्वव्यापी उकुसमुकुस र संस्थागत असफलताको परिणाम भएको धारणा उनीहरूले व्यक्त गरे । ‘कान्तिपुर कन्क्लेभ’ को दोस्रो दिन ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ नामक सत्रमा वक्ताले प्रविधिको प्रभाव, सार्वजनिक बहस र विचार निर्माणबारे छलफल गरेका थिए । यो सत्रमा एआई वैज्ञानिक दोभान राई र वरिष्ठ पत्रकार प्रतीक प्रधानसँगै हालै राजनीतिमा प्रवेश गरेका असिममान सिंह बस्न्यात र निशा अधिकारी सहभागी थिए । 

डिजिटल प्लाटफर्मले नेपाली समाज, सञ्चार क्षेत्र र राजनीतिमा पारेका विविध प्रभावबारे ‘कन्टेन्ट क्रिएटर’ दीपेश त्रिपाठीले सहजकर्ताका रूपमा जिज्ञासा राखेका थिए । एआई वैज्ञानिक राईले सामाजिक सञ्जालका सुरुवाती अवधारणा सकारात्मक भए पनि हाल यिनले भ्रम फैलाउन भूमिका खेलेको बताइन् । 

‘अल्गोरिदमको जुन स्वरूप अहिले हामीले देखिरहेका छौं, यो सुरुमा प्रविधि विकास गर्नेले देखेको सपनाजस्तो छैन,’ उनले भनिन्, ‘मेटा, टिकटकजस्ता बिग टेक कम्पनीका मालिकहरू अहिले जनमुखी प्रविधिभन्दा नाफा बढाउने रणनीतिमा केन्द्रित छन् । गहन र अर्थपूर्ण संवादभन्दा गालीगलौज र आक्रोशका कुरामा धेरै इन्गेजमेन्ट हुने भएकाले उनीहरूका अल्गोरिदमले त्यस्तै नकारात्मक कुरालाई बढी प्रवर्द्धन गरिरहेको छ ।’ 

विज्ञ राईले सामाजिक सञ्जालमा देखिएको विद्रूप रूप प्रविधिको मात्र समस्या नभएकोमा जोड दिइन् । बरु समाज एवं विश्वव्यापी रूपमै विद्यमान आर्थिक, भूराजनीतिक एवं पर्यावरणीय संकटको सामूहिक प्रस्फुटन सामाजिक सञ्जालमार्फत भइरहेको उनको भनाइ थियो । ‘अल्गोरिदम भनेको गणितीय मोडल मात्र हो, यसलाई सबै दोष थुपार्न मिल्दैन,’ उनले भनिन्, ‘प्रविधि वा अल्गोरदिम सधैं यस्तै रहिरहन्छ भन्ने पनि छैन । अहिलेको यो समस्या हाम्रो संस्थागत असफलताको परिणाम पनि हो । संस्थाप्रति मानिसको विश्वास धर्मराएकाले नै समाजमा अराजकता बढेको हो ।’

बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले सञ्चारमाध्यम र पत्रकारिता पनि अल्गोरिदम र सामाजिक सञ्जालकै पछि लाग्नु वा ‘फलोअर’ हुनु विडम्बना भएको उल्लेख गरे । उनले पत्रकारिता भनेको ‘कन्टेन्ट क्रिएसन’ मात्र नभएर यसमा अन्य जिम्मेवारी पनि हुने स्पष्ट पारे । ‘यो एउटा यस्तो पेसा हो, जहाँ गलत काम गर्नेले सजाय पाउँछ र उसको व्यावसायिक साख नै समाप्त हुन्छ,’ उनले भने, ‘पत्रकारिता पहिले ओपिनियन लिडर थियो तर अहिले फलोअर भएको छ, कसको टाइमलाइनमा के छ वा कसले के ट्विट गर्‍यो भनेर खोज्ने र सोसल मिडियाको अल्गोरिदमबाट पत्रकारिता निर्देशित भएको छ ।’ 

पत्रकार प्रधानका अनुसार प्रविधिको अल्गोरिदम मात्र समस्या होइन । धर्मदेखि खानेकुरा छनोटमा पनि एल्गोरिदमले नियन्त्रण गरेको र मिडियासमेत यस्तै विभिन्न अल्गोरिदमको उल्झनमा परेको उनले बताए । अहिलेको अल्गोरिदमको मुख्य डर ‘इको च्याम्बर’ मात्र नभएर फेक फलोअर्स, फेक लाइक्स, फेक कमेन्ट्स र एआई जेनेरेटेड डिपफेक सामग्री अझै ठूलो चुनौती भएको उनले औंल्याए । आफ्नै विचार, मान्यता, रुचि र धारणासँग मिल्दाजुल्दा सूचना वा सामग्री मात्र देखाउने गरी सामाजिक सञ्जाल प्लाटफर्मले ‘इको च्याम्बर’ सिर्जना गरेको आरोप लाग्दै आएको छ । 

राजनीतिकर्मी निशा अधिकारीले मित्था र भ्रामक सूचनाले चुनावी अभियानमा संलग्न उम्मेदवारलाई गम्भीर असर पारे पनि यो व्यक्तिगत मुद्दा नभई नीतिगत रूपमै सम्बोधन गरिनुपर्ने विषय भएको विचार व्यक्त गरिन् । ‘हाम्रा हजुरबुबा–हजुरआमा र बालबालिकाहरू सोसल मिडियाको भ्रमबाट बढी प्रभावित छन्, उहाँहरूले सबै कुरा पत्याइदिनुहुन्छ,’ उनले भनिन्, ‘एउटा न्यायपूर्ण समाज निर्माणका लागि हामीले सामाजिक सञ्जाल वा अल्गोरिदमको समस्यालाई नियमन र नीतिगत तवरबाटै सम्बोधन गर्नुपर्छ ।’ 

छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशकसमेत रहेका राजनीतिकर्मी बस्न्यातले सामाजिक सञ्जालको शक्ति र यसको नकारात्मक पाटो दुवै पक्षमा विचार राखे । उनका अनुसार सकारात्मक पक्ष केलाउँदा सामाजिक सञ्जालले सचेतना बढाउनुका साथै आममानिसलाई आफ्नो पहिचान दिएको छ । तर, त्यसकै आडमा सञ्जालमार्फत विचारभन्दा व्यक्तिलाई केन्द्रमा राखेर गरिने आक्रमणले सामाजिक बहसलाई कमजोर बनाएको उनले उल्लेख गरे । ‘हामी सामाजिक सञ्जाललाई बेवास्ता गर्न सक्दैनौं, यसलाई कसरी चलाउने भन्ने कुरामा चाहिँ विचार पुर्‍याउनैपर्छ,’ उनको निचोड थियो । 

आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारसमेत रहेका अधिकारी र बस्न्यात, दुवैले सामाजिक सञ्जालमा क्षणिक लोकप्रियता वा ‘भाइरल’ हुने होडभन्दा एजेन्डामा आधारित र मर्यादित डिजिटल प्रचारलाई जोड दिएको दाबी गरे । 

‘अहिले नै भाइरल हुने, भ्युज कमाउने र भावनामा खेल्ने ‘फन्डा’ गर्न हो कि म्याराथन दौडिएझैं पाँच वर्षसम्म एउटै एजेन्डामा अडिग रहेर त्यसलाई राष्ट्रिय मुद्दाका रूपमा स्थापित गर्ने, यी दुई विकल्प छन्,’ बस्न्यातले भने, ‘मलाई म्याराथन दौडिनु छ ।’ 

अर्की उम्मेदवार अधिकारीले पनि आफ्नो चुनावी अभियानलाई ‘क्लिन क्याम्पेन’ र पूर्णरूपमा ‘एजेन्डा सेन्ट्रिक’ बनाउने निर्णय गरेको उल्लेख गरिन् । ‘सोसल मिडियामा मैले राख्ने कुराको असर समाजमा एकदमै तीव्र र व्यापक हुन सक्छ भन्नेमा म सचेत छु, त्यसैले कुनै पनि प्रकारको भ्रामक, म्यानिपुलेटिभ र तडकभडकपूर्ण प्रचारमा नजाने निर्णय गरेकी छु,’ उनले भनिन्, ‘निर्वाचन आयोग र प्रेस काउन्सिलले सामाजिक सञ्जालमा उम्मेदवारका लागि स्पष्ट निर्देशिका बनाउनुपर्छ । यसले गर्दा निर्वाचनमा डिजिटल स्पेसलाई सफा र राजनीतिक स्पष्टता भएको बनाउन सकिन्छ ।’

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully