लामो समयसम्म प्रतिस्पर्धामा देखिँदै आएका अनुहारहरु एकैचोटी मैदान बाहिर हुँदा इलाम–१ को चुनावी दृश्य पूर्णतः नयाँ बनेको मतदाताहरु सुनाउँछन् ।
पाँचथर — बहुदल आएपछि २०४८ सालदेखि २०७९ सम्मका सबै निर्वाचनमा इलाम–१ बाट अविछिन्न उम्मेदवार बनेका थिए, झलनाथ खनाल । खनाल ७ पटक चुनाव लड्दा २०५६ र २०७९ सालको आमनिर्वाचनबाहेक ५ पटक यस क्षेत्रबाट निर्वाचित भए ।
२०४८, २०५१, २०५६ र २०७४ को आम निर्वाचनसँगै २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा एमालेको सूर्य चिन्हबाट चुनाव लडेका खनाल २०७९ मा कांग्रेस र माआवादी केन्द्रको समर्थनमा बनेको गठबन्धनबाट आफ्नै पार्टी (एकीकृत समाजवादी) को कलम चिन्ह लिएर उम्मेदवार बन्दा एमालेका महेश बस्नेतसँग पराजित भए ।
त्यसअघि २०५६ को आमनिर्वाचनमा कांग्रेसका बेनुपराज प्रसाईसँग पराजित भएका उनले बाँकी ५ वटा निर्वाचन जितेका थिए । खनाल यसपटक उम्मेदवार छैनन् । इलामको धरातलबाट निरन्तर केन्द्रीय राजनीतिको केन्द्रबिन्दुमा रहेका खनाल सँगै २०५६ र २०७९ सालमा उनलाई हराएका प्रसाई र बस्नेत पनि यसपटक उम्मेदवार छैनन् ।
झलनाथसहित उनका समकक्षी कसैको उम्मेदवारी नभएकाले यसपटक इलाम–१ को राजनीतिले मूलधारमा त्यति धेरै चर्चा पाएको छैन । फिक्कल बजारका मणिराम क्षेत्री झलनाथसहित पटक–पटक चुनाव लडेका उम्मेदवार प्रतिस्पर्धामा नहुँदा इलामेली मतदातालाई नयाँ मध्येका पनि योग्य उम्मेदवारलाई भोट हाल्ने अवसर मिलेको बताउँछन् ।
‘पहिलेका चुनावमा प्रतिष्ठाको लडाइँ हुन्थ्यो, कहिले इलामले प्रधानमन्त्री पाउँछ भनेर भोट हालियो, कहिले पार्टीका शीर्ष नेता हार्दा जिल्लाकै इज्जत जान्छ भनेर हालियो, कहिले पहिले पनि दिइयो यिनैलाई दिनुपर्ला भनेर दिइयो, यसपटक उहाँको उम्मेदवारी नभएकाले नयाँलाई परीक्षण गर्ने मौका मिलेको छ,’ उनले भने ।
खनाल २०४८ सालको संसदीय निर्वाचनमा पहिलोपटक इलाम–१ बाट निर्वाचित भएका थिए । उनी त्यही बेलादेखि मुलुकको राजनीतिको केन्द्रमा रहे । उनी २०५१ को मध्यावधि निर्वाचनमा पुनः विजयी भए । २०५६ सालमा भने उनी कांग्रेसका बेनुपराज प्रसाईसँग पराजित भए ।
त्यसपछि २०६४ र २०७० का संविधानसभा निर्वाचनमा पुनः जित निकाल्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकामा पुगे। २०७४ मा प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित विजयी भएका खनाल एमाले विभाजन सँगै एकीकृत समाजवादीबाट चुनाव लड्दा २०७९ मा भने एमालेका महेश बस्नेतसँग पराजित भए । त्यो हारपछि पनि उनी इलाम–१ को राजनीतिक बहसबाट भने बाहिरिएका छैनन् ।
लामो समयसम्म प्रतिस्पर्धामा देखिँदै आएका प्रमुख अनुहार एकैचोटी मैदान बाहिरिँदा इलाम–१ को चुनावी दृश्य पूर्णतः नयाँ बनेको मतदाताहरु सुनाउँछन् ।
स्थानीय मतदाताका अनुसार इलाम–१ मा यसअघिका संसदीय र संविधानसभा निर्वाचन खनाल र उनको प्रतिष्ठासँग जोडिन्थ्यो । स्थानीय तह निर्वाचनमा टिकट पाउने र जित्ने पनि उनी निकटकै नेता कार्यकर्ता हुन्थे । मतदाताको निर्णय पनि प्रायः उनको पक्ष वा विपक्षमा केन्द्रीत हुन्थ्यो । उनी उम्मेदवार नभएकाले अहिले त्यो अवस्था छैन । पछिल्लो पटक खनाल आवद्ध दल नेपाली कम्युनिष्ट पार्टीमा मिसिएपछि बद्लिदो राजनैतिक प्रभावले उनको क्रेज घट्दो अवस्थामा छ । मतदाताहरु यसपटक उम्मेदवारका एजेन्डा र दृष्टिकोण हेरेर भोट दिने पक्षमा छन् ।
इलाम चिया खेती, पर्यटन र सिमाना व्यापारसँग जोडिएको क्षेत्र हो । यो क्षेत्रबाट पटक पटक जितेका खनाल २०५३ सालमा सूचना तथा सञ्चार मन्त्री र २०६७ सालमा प्रधानमन्त्री बने । यद्यपि यहाँको पर्यटन विकास र पूर्वाधारले तीन दशक भन्दा लामो समय अवधिसम्म पूर्णता नपाएको गुनासो यस क्षेक्रका बासिन्दाको छ । रोजगारीका अवसर सिर्जना नहुँदा युवा शत्ति विदेश पलायन हुने क्रम तीब्र छ ।
यसपटक दलहरूले नयाँ–नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् । इलाम–१ बाट यसपटक एमालेका काजीमान कागते, कांग्रेसका निष्कल राई, नेपाली कम्युनिष्ट पार्टीका रनबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल र श्रम संस्कृति पार्टीका विनोद नेम्वाङसहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ १ लाख १२ हजार ३ सय २० जना मतदाता छन् ।
