नेता–कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिरहँदासमेत बालेन्द्र गाडीबाटै ओर्लिएनन् ।
राजविराज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह मंगलबार सप्तरीको राजविराज आउँदा गाडीबाटै हात हल्लाउँदै फर्किएका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उनी राजविराज आएका थिए । नेता–कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिरहँदासमेत बालेन्द्र गाडीबाटै ओर्लिएनन् ।
गजेन्द्र चोक आउँदा उनले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा माला फ्याकेर हिँडेपछि नेता–कार्यकर्ता र समर्थक हेरेको–हेर्यै भएका छन् ।
गजेन्द्र बाबुको सालिकमा माल्यार्पण गरेर त्यसको छेउमै रहेको पार्टी कार्यालय पुग्ने कार्यक्रम रहे पनि बालेन्द्र पार्टी कार्यालय अगाडिबाटै गाडी नरोकी हिँडेका हुन् ।
राजविराजकै एक होटलमा खाना खाइरहँदा पुनः फर्किएर पार्टी कार्यालय र गजेन्द्र बाबुको सालिकमा माल्यार्पण गर्ने ठानेर नेता–कार्यकर्ता र समर्थकहरु एक घण्टाभन्दा बढी त्यहाँ पर्खेका थिए । तर, खाना खाएर उनी हुलाकी सडक हुँदै पश्चिमतर्फ लाग्दा नेता–कार्यकर्ता र समर्थक निरास भएर फर्किएका छन् ।\
रास्वपा सप्तरीका सभापति डम्बर साहले वरिष्ठ नेता शाह हतारमा भएकाले गाडीबाटै सम्मान गर्दै गजेन्द्रनारायण सिंहको सालिकमा माला अर्पण गरेको बताए । ‘बालेनजी झापाको लागि उम्मेदवार हो । प्रधानमन्त्रीको प्रस्तावित पनि हो । देशभरीका जिल्लामा यसरी कार्यक्रम गर्नुपर्ने भएकाले जसरी हामी बाबाधाम जाँदा नजिक जान नपाए टाढैबाट पैसा फ्याकेर सम्मान गर्छौं त्यसरी नै उहाँले गजेन्द्रनारायण सिंहलाई मधेशको हस्ती बुझेर कम समयमा माला अर्पण गरेर सम्मान दिनुभएको हो,’ उनले भने ।
*अपडेट गरिएको ।
