राजनीतिक दल, उम्मेदवार, समर्थकसँगै विभिन्न संघसंस्थाले सामाजिक मुद्दा, निर्वाचन वा राजनीतिसँग सम्बन्धित कन्टेन्टका लागि निरन्तर खर्च बढाएको देखिन्छ ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका बेला मेटा प्लाटफर्ममा राजनीतिक विज्ञापनका लागि ९० दिनमा मात्रै कम्तीमा १० हजार ७ सय ७ अमेरिकी डलर खर्च भइसकेको छ । राजनीतिक दल, उम्मेदवार, समर्थकसँगै विभिन्न संघसंस्थाले सामाजिक मुद्दा, निर्वाचन वा राजनीतिसँग सम्बन्धित कन्टेन्टका लागि निरन्तर खर्च बढाएको देखिन्छ ।
मेटाको एड लाइब्रेरीमा देखाइएका सबै दल, उम्मेदवार, समर्थक समूह तथा संघसंस्थाका विज्ञापन खर्चलाई न्यूनतम सम्भावित अंकको औसत आधारमा जोडेर यो राशि निकालिएको हो । मेटाले ८ सय ९८ वटा विज्ञापनलाई ‘१ हजार डलरभन्दा कम’ मूल्यका भनेर दायरा मात्र देखाउने भएकाले त्यस्ता प्रत्येक विज्ञापनलाई १ डलर मानेर जोड्दा पनि कुल खर्च १० हजार डलर नाघेको देखिन्छ । यसको अर्थ, विज्ञापन खर्चको वास्तविक रकम अझै बढी हुन सक्छ ।
अधिकतम दायराअनुसार गणना गर्दा यो अवधिमा फेसबुक र इन्स्टाग्रामका गरिएको खर्च १ लाख डलरसम्म पुग्न सक्ने देखिन्छ । मेटाले १ डलरमा विज्ञापन पोस्ट गर्न दिँदैन । नेपालजस्तो बजारमा पनि न्यूनतम दैनिक खर्च प्रायः ३ देखि ५ डलर वरिपरि हुने गरेको डिजिटल विज्ञापनकर्ताहरूको अनुभव छ । विगत ९० दिनको यो खर्च केलाउँदा ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले ४५ वटा विज्ञापनका लागि १ हजार ४ सय ७४ डलर तिरेर ४५ वटा विज्ञापन पोस्ट गरेको छ ।
उज्यालो नेपाल पार्टीसँग एकता गरेको राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २ सय ७० डलर र उज्यालो नेपालको आधिकारिक पेजले ८ सय २९ डलर खर्च गरेको छ । व्यक्तिगत उम्मेदवारतर्फ श्री गुरुङले ५ सय ९२ डलर र नैनसिंह महरले ३ सय ६६ डलर खर्चेर चुनावी रापलाई मोबाइलका स्क्रिनसम्म पुर्याइरहेका छन् । दिलीप बगदियाले ३ सय ६४ डलर र अजय क्रान्तिका समर्थकहरूले २ सय ३८ डलर खर्च गरेको तथ्यांक छ ।
अझै पनि अञ्चल संरचनाकै आधारमा आँकडा देखाउने मेटाका अनुसार यो चुनावी विज्ञापनमा बागमती अञ्चल डिजिटल विज्ञापनको मुख्य केन्द्र बनेको छ । यहाँबाट झन्डै ६ हजार डलरका राजनीतिक विज्ञापनहरू अर्डर भएको देखिन्छ । बागमतीपछि कोशी अञ्चलमा १ हजार ३ सय ४७ डलर, नारायणी अञ्चलमा १ हजार २ सय ७७ डलर, गण्डकीमा १ हजार ३३ डलर, मेचीमा १ हजार ५ डलर खर्च भएको छ । यसको विपरीत महाकाली, धौलागिरी र कर्णालीमा विज्ञापन खर्च अत्यन्तै न्यून छ । यसले सहरी क्षेत्र र इन्टरनेटको पहुँच बढी भएका भूगोलमा डिजिटल चुनावी प्रचारप्रसार एकोहोरिएको देखिन्छ ।
डिजिटल प्रचारको यो होडबाजीमा कतिपय उम्मेदवारका नाममा खोलिएका फलोअर्स पेजहरूले आधिकारिक पेजभन्दा बढी सक्रियता देखाइरहेका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालको विज्ञापनमा कडाइ गर्ने बताइरहँदा आधिकारिक डिस्क्लेमरबिना नै विदेशबाट र प्रोक्सी एकाउन्टहरूबाट प्रचार भइरहेको छ ।
निर्वाचन डिजिटल प्रचारप्रसारका क्रममा बहस नभएको अर्को पाटो अन्य प्लाटफर्महरूमा भएको खर्चको पारदर्शिता नहुनु हो । मेटाले झैँ अन्य प्लाटफर्महरूले राजनीतिक वा अन्य डिजिटल प्रचारमा भएका खर्च देखाउँदैनन् । त्यसले गर्दा अहिलेको डिजिटल विज्ञापन चर्चामा चुनावका बेला अनगिन्ती बढ्ने एक्स प्लाटफर्ममा ब्लु टिक लगाउनेहरू, युट्युबमा गरिएका विज्ञापन, विभिन्न प्लाटफर्ममा इन्फ्लुएन्सरमार्फत गरिने प्रचारमा लाग्ने खर्च समावेश छैनन् ।
एक्समा भेरिफाइड एकाउन्ट रहेका विभिन्न दलका नेता र राजनीतिक अभियन्तामध्ये कैयौँको एकाउन्ट भेरिफिकेसन खर्च विदेशमा बस्ने समर्थक वा सहयोगीहरूले बेहोरिदिने गरेका छन् । भेरिफिकेसनका लागि प्रतिमहिना ८ अमेरिकी डलरभन्दा माथिका विकल्पहरू उपलब्ध छन् । यस्तै, नेपालका कतिपय पेज र एकाउन्टले १३ देखि १५ डलर प्रतिमहिना शुल्क तिरेर फेसबुक र इन्स्टाग्राममा ब्लु टिक खरिद गर्ने गरेका छन् ।
यसरी एक्स र मेटासँग भेरिफिकेसन किनेर आफ्नो प्रचार गर्नेहरूका बारेमा यी प्लाटफर्मले पारदर्शी सूचना दिँदैनन् । अर्कोतिर, गैरराजनीतिक प्रकृतिका तर उम्मेदवार वा उनीहरूको अपडेटसँग सम्बन्धित विज्ञापन पनि मेटाको एड लाइब्रेरीमा समावेश हुँदैन । अहिले मेटामा भिडियो भ्यु खरिद गर्ने, इन्गेजमेन्ट (लाइक, सेयर, कमेन्ट) बढाउने, फलोअर किन्नेजस्ता विकल्पहरू उपलब्ध छन् र यस्ता खर्च पनि मेटाको एड लाइब्रेरीमा देखिँदैन ।
कतिपयले एक्समा पनि राजनीतिक प्रकृतिका प्रचारहरू गर्ने गरेको देखिए पनि एक्सको विज्ञापनलाई त्यति प्रभावकारी मानिँदैन । यस्तै, युट्युब, एडसेन्स, गुगल सर्चजस्ता अल्फाबेटका विभिन्न प्लाटफर्म प्रयोग गरेर राजनीतिक र गैरराजनीतिक दुवै खाले प्रचारप्रसार गर्ने क्रम पनि उल्लेख्य बढेको देखिन्छ । त्यसैले, मेटाको एड लाइब्रेरीमा देखिने अंक नेपालबाट राजनीतिक डिजिटल विज्ञापन र प्रचारप्रसारका लागि बाहिरिने खर्चको सानो अंश मात्रै हो भन्न सकिन्छ ।
१८१ कन्टेन्ट क्रिएटरलाई कारबाही तयारी
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने गरी हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गरेको भन्दै निर्वाचन आयोगले १ सय ८१ कन्टेन्ट उत्पादक/सम्प्रेषकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोगले मिथ्या तथा हानिकारक सूचना सम्प्रेषकको पहिचान गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कारबाहीका लागि १ सय ८१ उत्पादक/सम्प्रेषकको विवरण साइबर ब्युरोमा पठाइएको जानकारी दिए । ७ कन्टेन्ट उत्पादकमाथि कारबाहीका लागि भने आयोगले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।
आमसञ्चारमाध्यमबाट भएका आचारसंहिता विपरीतका कार्यका ४० उजुरी भने प्रेस काउन्सिललाई पठाइएको प्रवक्ता भट्टराईले बताए । ‘आचारसंहिता पालनामा मूलधारका मिडियाहरू प्रतिबद्ध देखिएका छन् । अपवादमा मात्रै उल्लंघन गरेको पाइएको छ । सही सूचना दिन फ्याक्ट चेक गर्ने जस्ता मूलधारको मिडियाको प्रयास सराहनीय छन्,’ उनले भने, ‘मूलधारका मिडियाले सही सूचना प्रवाह गरेर गलत सूचनालाई रोकेका छन् ।’
पैसा कमाउने लोभमा कन्टेन्ट क्रिएटरहरूबाट मनलाग्दी सूचना प्रवाहित भइरहेको उल्लेख गर्दै भट्टराईले त्यसलाई नियन्त्रण गर्न आयोग प्रयासरत रहेको बताए । ‘केही कन्टेन्ट उत्पादक तथा इन्फ्लुएन्सरले आफ्नो लोकप्रियता र आम्दानी बढाउन आचारसंहिता उल्लंघन गरेको देखिएको छ,’ उनले भने, ‘त्यस्ता उत्पादनमाथि निगरानी बढाइएको छ ।’
निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद सूचना र अभिव्यक्ति प्रवाहित गर्नेमाथि निगरानी गर्न र कानुनको दायरामा ल्याउन आयोगले सूचना सम्प्रेषण केन्द्रअन्तर्गत सदाचार प्रवर्धन इकाइलाई क्रियाशील पारिएको पनि आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा उम्मेदवार, राजनीतिक दल वा विभिन्न निकायबाट आचारसंहिता उल्लंघन गरिएका ३४ वटा उजुरी परेका छन् । सबैसँग स्पष्टीकरण माग गरिएकामा २४ वटाको जवाफ आयोगले प्राप्त गरेको छ । जिल्लामा प्राप्त उजुरीको अनुसन्धान जिल्ला तहबाटै हुने प्रवक्ता भट्टराईले जानकारी दिए ।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । आर्थिक कारोबारका विषयमा भएका उल्लंघनको अनुगमन तथा कारबाहीको जिम्मेवारी प्रमुख कोष नियन्त्रकलाई तोकिएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वनयका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील रहेको आयोगले जनाएको छ ।
