सर्लाही–२ : महतो–यादव कहिले सहयात्री, कहिले प्रतिस्पर्धी

०७९ को चुनावमा यस क्षेत्रमा महेन्द्रराय यादवले राजेन्द्र महतोलाई पराजित गरेका थिए, यसपटक उनीहरुलाई रास्वपाका रविन महतो र कांग्रेसका सरोज यादव चुनौती दिँदै छन्

माघ २६, २०८२

शिव पुरी

Sarlahi-2: Mahato-Yadav sometimes companions, sometimes competitors

What you should know

सर्लाही — मधेसका दुई स्थापित नेता ६७ वर्षका राजेन्द्र महतो र ८८ वर्षका महेन्द्रराय यादव कहिले एउटै दलमा सहयात्री त कहिले फरक पार्टीबाट प्रतिस्पर्धी भई चुनाव लड्दै आएका छन् । वैशाख २०७४ देखि राष्ट्रिय जनता पार्टीमा सहयात्री रहिसकेका यी नेता २०७६ मा पार्टी टुटपछि प्रतिस्पर्धी बनेर चुनावमा सहभागी हुदै आएका छन् ।

दुवै नेताले पार्टी, क्षेत्र र जिल्ला परिवर्तन गरेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै आएका छन । मधेशमा स्थापित अनुहार भएकाले दुवैबीचको प्रतिस्पर्धा प्रतिष्ठाको लडाइ बन्दै आएको छ । दुबैको भूगोल र समुदायमा पकड भएकाले चुनावी नतिजालाई अनपेक्षित बनाउने गरेको छ । महतो हाल राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष हुन्, यादव नेकपाका नेता । दुवै यसपालि सर्लाही–२ मा प्रतिस्पर्धी छन् ।

उनीहरुसित रास्वपाबाट रविन महतो र कांग्रेसका डा. सरोज यादव भिड्दै छन् । यादवको पकड ग्रामीण र यादव बाहुल्य क्षेत्रमा देखिन्छ । महतोको प्रभाव सदरमुकाम र वैश्य समुदायमा बलियो मानिन्छ । यसपटक यी युवा उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

कांग्रेसले पकड जोगाउन यादवलाई अघि सारेको छ । डा. यादव जिल्लाको राजनीतिमा परिचित हुन् । पेशाले चिकित्सक भए पनि लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय यादवलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी जिल्ला कार्यसमितिमा उपसभापति थिए । उनका बुवा कांग्रेस नेता नागेन्द्र राय अनुभवी राजनीतिज्ञ हुन् ।

रास्वपाले सर्लाही–२ मा महतोलाई उम्मेदवार बनाएको छ । ‘परिवर्तन र वैकल्पिक राजनीति’ को नारासहित महतो मतदाता माझ पुगिरहेका छन् । भ्रष्टाचार निवारण, सुशासन, र युवा स्वरोजगारलाई चुनावी अभियान बनाएका छन् । परम्परागत दलप्रतिको वितृष्णालाई आफनो पक्षमा पार्ने उनको रणनीति देखिन्छ । ‘सहरी होस् वा ग्रामीण, युवा मतदाताको समर्थन मेरो शक्ति हो,’ उनले भने, ‘अब नयाँ पुस्ता र परिवर्तनले देशमा आमुल परिवर्तन सम्भव छ ।’ यहा ०७९ मा रास्वपाबाट उम्मेदवार बनेका जयकरण महतोले ५ सय ६९ मत प्राप्त गरेका थिए ।

०७९ को चुनावमा सर्लाही–२ मा यादवले महतोलाई हराएका थिए । तत्कालीन माओवादीबाट चुनाव लडेका यादव २३ हजार ५ सय २९ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला लोसपाका उम्मेदवार रहेका महतोले २१ हजार ५ सय १८ मत ल्याएका थिए ।

त्यसअघि ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने यी दुवै नेता राष्ट्रिय जनता पार्टीमा थिए । महतो धनुषा–३ बाट उम्मेदवार बनेर विजयी भएका थिए । महतोले ३० हजार ७ सय ५० मत ल्याएका थिए । कांग्रेसका बिमलेन्द्र निधिले २७ हजार ८ सय ४७ मत पाएका थिए । यादव उक्त निर्वाचनमा सर्लाही–२ मा बिजयी भए । उनले २९ हजार १९१ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जंगीलाल राय यादवले १८ हार ९७६ मत ल्याएका थिए ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने नेपाल सद्भावना पार्टीबाट महतो र तराई मधेश सद्भावना पार्टीबाट यादव सर्लाही–४ मा आमने–सामने भएका थिए । यादव त्यतिबेला ११ हजार ५३४ मत ल्याएर विजयी भए, महतोले ८ हजार ७ सय ९० मत ल्याएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा महतो नेपाल सद्भावना पार्टीका उम्मेदवार बनेर सर्लाही–४ मा १७ हजार ७३ मत पाएर बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन तमलोपाका रामचन्द्र्र रायले ८ हजार ७ सय ५२ मत ल्याएका थिए ।

सत्तामा मौन, सडकमा चर्का महतो

महतो विभिन्न दलको नेतृत्व तहमा चक्कर लगाइरने मध्ये पर्छन् । सत्तामा छँदा मौन र सडकमा चर्का नारा उराल्छन् । पछिल्लो समय तराई केन्द्रित दल बारम्बार जुट्ने र फुट्ने भइरहेका छन् । ‘पार्टी एकीकृत गर्न निकै प्रयास गर्दा पनि सकिनँ,’ महतोले भने, ‘म सहभागी पार्टीको नाम फेरिए पनि उद्देश्य फेरिएन । त्यसैले छुट्टै पार्टी खोलेर अभियान चलाउँदै आएको छु ।’ महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी गठन गरेर मधेसदेखि पहाडसम्म अभियान चलाइरहेका छन् ।

बहुदल बहालीपछि राजनीतिमा सक्रिय महतो आफ्नो अभिव्यक्तिका कारण बेला–बेला विवादित भइरहन्छन् । २०७२ मा संविधान जारी भएका बेला नेपाल–भारत सीमा क्षेत्रमा गएर महतोसहितका नेता धर्नामा बसेका थिए । त्यसबेला भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको थियो । ‘मधेशको पहिचानका निम्ति नाकामा गएर बसेँ । पहिचानका लागि लडाइँ जारी छ,’ उनले भने, ‘मधेश आन्दोलन अझै पनि सफल भएको छैन । देशमा सुशासन छैन् । भष्ट्राचार बढेको छ ।’

क्षेत्र विकास ओझेलमा

पटक–पटक मन्त्री भइसकेका नेताद्वय जिल्लामा विकासको लहर ल्याएको दाबी गर्छन् । तर, उनीहरुको निर्वाचन क्षेत्र विकासमा पछि परेको स्थानीय बताउँछन् । यसपाली भोट माग्न आएमा यसअघिका चुनावमा गरिएका वाचा कति पुरा भए/भएनन् त्यसको हिसाब माग्ने सलेमपुरका रामभरोसे साहले सुनाए । ‘शिक्षा, स्वास्थ्य, बाटो लगायत भौतिक पूर्वाधार खडा गरी जिल्लामा आमुल परिवर्तन गर्छु भनेर नेताले गरेका वाचाको एक/एक हिसाब माग्छौं,’ उनले भने, ‘नेताले चुनावलाई झुक्याउने उत्सव बनाएका छन्, यसपाली हेरौंला ।’

०६१/०६२ को जनआन्दोलनपछिको अन्तरिम सरकारका बेलमा महतो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । ०६४ मा पहिलो सविधानसभाको निर्वाचन जिते पछि दोस्रो पटक उनी उद्योग वाणिज्य आपूर्ति मन्त्री भए । ०६६ मा तत्कालीन एमाले नेता माधवकुमार नेपालको मन्त्रीमण्डलमा पुनः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेर उनले ह्याट्रिक गरे । ०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए । ०७८ मा उपप्रधान तथा सहरी विकास मन्त्री बने । तर उनी उम्मेदवार बन्दै आएको सर्लाही–२ मा शिक्षा, स्वास्थ्य, बाटोको अवस्था दयनीय छ ।

मधेशमा रौतहटपछि धेरै जनसंख्या गरिबीको रेखामूनि रहेको जिल्ला सर्लाही हो । यहाँ २६.७० प्रतिशत गरिबी छ । यस क्षेत्रको साक्षरता दर राष्ट्रिय औसत ७६.२ प्रतिसत भन्दा कम छ । सरकारी विद्यालयको संख्या पर्याप्त देखिए पनि गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार अभाव छन् । सदरमुकाम मलंगवामा जिल्ला अस्पताल छ । तर, ग्रामीण भेगका स्वास्थ्य चौकीमा दक्ष जनशक्ति (डाक्टर) र उपकरणको अभाव छ । ‘सदरमुकामकै हालत हेर्नुस् । कोही मानिस बिरामी परे भने उपचारको लागि चितवन र काठमाडौं लैजानु पर्छ, सुविधा सम्पन्न अस्पताल र चिकित्सक छैनन्,’ सदरमुकाममा ठेला चलाउँदै गरेका मजदुर जगदीश महतोले भने ।

हुलाकी राजमार्गको निर्माणले केही राहत दिए पनि भित्री सडक कच्ची छन् । बर्खायाममा भित्री सडक हिलाम्मे हुने र निकासको उचित व्यवस्था नहुँदा यातायात अवरुद्ध हुने समस्या रहेको सर्लाही–२ बाट कांग्रेस उम्मेदबार डा. सरोज यादवले बताए । ‘डुबानको समस्या छ । सदरमुकामकै अवस्था गतिलो छैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, बाटोलगायतका विकासका काम गर्नु पर्नेछ ।’

महतो र यादव दुबै दल बदल्न खप्पिस छन् । आफू दल बदल्नेमा पर्ने यादव स्वीकार्छन् । ‘पहिचान मिले पनि मधेशले अझै अधिकार पाउन सकेको छैन,’ यादवले भने, ‘मधेशवादी दलमा बसेर १८ वर्ष काम गरे । मिसन पूरा भए पछि वामपन्थमै फर्किए ।’

पूर्वप्राध्यापक योगेन्द्र यादवले पुराना सोच र पुरानै मानसिकता बोकेका दलबाट जनता दिक्क भइसकेकाले यसपटक चुनावी परिणाम फरक पर्न सक्ने बताउँछन् । ‘हिजो मेरो जातका मानिस यति छन् भनेर गनेर जातीय राजनीतिबाट जितेर जान्थे, तर जनताको समस्या उस्तै हुन्थ्यो,’ उनले भने,‘अहिले नयाँ पुस्ता र जेन–जी आन्दोलनले अवस्था फेरिएको छ । यसपटक मधेशमा कसैले कल्पनै नगरेको परिणाम आयो भने आश्चर्य नमाने हुन्छ ।’

सर्लाही–२ मा ३१ जना उम्मेदवार छन् । जसमा १७ स्वतन्त्र छन् । यस क्षेत्रमा सदरमुकाम मलंगवा नगरपालिका, हरिपुर नरपालिका र कविलासी नगरपालिकाका ८, ९ र १० नम्बर वडा र ईश्वरपुर नगरपालिकाको १५ नम्बर वडा पर्छ । कडौना गाउँपालिका, विष्णुपुर गाउपालिकाका ५, ६, ७ र ८ नम्बर वडा, ब्रम्हपुरी गाउपालिका, पर्सा गाउपालिका पनि पर्छन् ।

मलंगवा नगरपालिका प्रमुख कांग्रेसले जितेको छ । हरिपुरमा एमाले, कडौना गाउँपालिका, कबिलासी नगरपालिका र ब्रम्हपुर गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले जितेको छ । पर्सा गाउँपालिका संघीय समाजबादी फोरम नेपालले जितेको छ । ०७९ को स्थानीय तह निर्वाचनमा भने यस क्षेत्रका मंलगवा नगरपालिका, हरिपुर नगरपालिका, गाउँपालिका, कबिलासी नगरपालिका, ब्रम्हपुर गाउँपालिका, पर्सा गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully