दुई स्वतन्त्रसहित १३ जना उम्मेदवार रहेको गोरखा २ मा डा. बाबुराम भट्टराई आबद्ध दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले कसलाई समर्थन गर्छ भन्ने महत्वका साथ हेरिएको छ ।
What you should know
गोरखा — २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनयताका हरेक निर्वाचनमा गोरखा–२ चर्चामा रहँदै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता र फिर्ताले गोरखा–२ लाई तरंगित बनायो ।
यसपाली यो क्षेत्रमा दुई स्वतन्त्रसहित १३ जना उम्मेदवार छन् । उम्मेदवारी फिर्तापछि भट्टराईको समर्थन कुन उम्मेदवारलाई हुने प्रस्ट भइसकेको छैन । तर रास्वपा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)निकट दलका कार्यकर्ता भट्टराईको समर्थन आफ्ना उम्मेदवारलाई हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् । यद्यपि भट्टराई आबद्ध दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले कसलाई समर्थन गर्छ भन्ने महत्वका साथ हेरिएको छ ।
२०६४ यताको हरेक निर्वाचनमा भट्टराई र तत्कालीन माओवादी निकटका उम्मेदवार विजयी हुँदै आएको गोरखा–२ मा यसपटक तीव्र प्रतिस्पर्धा छ । नेकपाले यसपटक विद्यार्थी राजनीतिबाट आएका युवा नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसबाट समाजसेवा हुँदै राजनीतिमा आएका प्रकाशचन्द्र दुवाडीलाई उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । एमालेले मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवार बनाएको छ ।
आम जनता पार्टीबाट कल्पना कुमाल, नेकपा माओवादीबाट टेकबहादुर प्रधान, मंगोल नेशनल अर्गनाइजेशनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट रामशरण बुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेशनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ उम्मेदवार छन् । त्यस्तै चुडाप्रसाद ढकाल र हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गोरखा–२ मा यसअघिको निर्वाचनका प्रतिस्पर्धी दल नेकपा र कांग्रेसका कार्यकर्ता खण्डित देखिँदा निर्वाचनमा कुन उम्मेदवारले बाजी मार्छन् भन्ने आँकलन गर्न गाह्रो देखिएको स्थानीय बताउँछन् । ‘पहिलेको माओवादी अहिलेको नेकपाका कार्यकर्ता पनि रास्वपामा गएको देखिन्छ, कांग्रेस कार्यकर्ता पनि रास्वपामा प्रवेश गरेका छन्, प्रतिस्पर्धी दुई पार्टीका कार्यकर्ता खण्डित हुँदै गएका छन्,’ पालुङटारका शिव श्रेष्ठ भन्छन्,‘प्रतिस्पर्धी दलका कार्यकर्ताले पार्टी छाड्दै नयाँमा प्रवेश गरेपछि अहिले यही उम्मेदवार बलियो भन्ने अवस्था छैन, पुराना दलले यसअघिका सबै मत हाम्रै पार्टीमा आउँछन् भन्ने अवस्था चाहीँ देखिँदैन ।’
गोरखा–२ मा मतदाता संख्या १ लाख ८ हजार ५ सय ३३ छ । २०७९ मा यो क्षेत्रमा १ लाख ५ हजार २ सय ४० मतदाता थिए । यसपटक ३ हजार २ सय ९३ मतदाता थपिएका छन् । गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका गोरखा–२ मा पर्छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा ९४ मतदानस्थल र १ सय ५० मतदान केन्द्र कायम गरिएको छ ।
२०६४ को निर्वाचनमा कुल खसेको मतको ८३ प्रतिशत मत ल्याएर तत्कालीन माओवादीका उम्मेदवार बाबुराम भट्टराई गोरखा–२ बाट विजयी बनेका थिए । भट्टराईले ४० हजार मतान्तरसहित ४६ हजार मत ल्याएर विजयी भएर देशभरीबाट फराकिलो मतान्तरले निर्वाचित हुने रेकर्ड नै राखे । तत्कालीन समयमा ३ वटा निर्वाचन क्षेत्र रहेको गोरखामा २०७० को दोस्रो संविधानसभा निर्वाचन भने भट्टराईले गोरखा–१ बाट लडेर विजयी बनेका थिए । २०७० मा गोरखा–२ बाट माओवादीका हितराज पाण्डे विजयी भएका थिए ।
संविधान बनेलगतै माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले २०७४ को प्रतिनिधिसभा निर्वाचन फेरि गोरखा–२ बाटै लडे । भट्टराई र तत्कलीन माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आमनेसामने बनेपछि २०७४ मा पनि गोरखा–२ ले चर्चा बटुल्यो । कांग्रेससँगको गठबन्धनबाट भट्टराई ३१ हजार ८ सय ७ मत प्राप्त गरेर विजयी बने । एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले २८ हजार ९ सय ३३ मत ल्याएका थिए ।
२०७९ को निर्वाचनमा गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफै उम्मेदवार बन्न आइपुगे । २०७४ का प्रतिस्पर्धी उनै भट्टराई र श्रेष्ठलाई दाँयाबाँया राखेर उम्मेदवारी दर्ता गर्न दाहाल आएको दिनबाट नै गोरखा–२ राष्ट्रिय रुपमै चर्चामा आयो। कांग्रेस, तत्कालीन नेपाल समाजवादी पार्टी(नेसपा)सँगको तालमेलबाट उम्मेदवार बनेका दाहालले २६ हजार १ सय १ मत प्राप्त गरेर विजयी बनेका थिए । तत्कालीन माओवादी केन्द्र र नेसपा(हसिया हतौडा चुनाव चिन्ह)ले १९ हजार समानुपातिक मत ल्याएको थियो ।
दाहालका निकटतम प्रतिस्पर्धी रास्वपाका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका थिए । रास्वपाले २०७९ को निर्वाचनमा गोरखा–२ बाट ८ हजार ९ सय ९९ समानुपातिक मत पाएको थियो ।
२०७९ को निर्वाचनमा एमालेले ६ हजार १ सय ८५ समानुपातिक मत प्राप्त गरेको थियो । उत्त पार्टीका उम्मेवार अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत प्राप्त गरेर तेस्रो बने । कांग्रेसले ११ हजार ८ सय ८२ समानुपातिक मत प्राप्त गरेको थियो । प्रत्यक्ष तर्फ भने कांगेसले गठबन्धनका उम्मेदवार दाहाललाई सघाएको थियो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा भट्टराई, दाहाल, श्रेष्ठ उम्मेदवार छैनन् । माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता लेखनाथ न्यौपानेलाई मैदानमा उतारेको छ । स्पष्ट वक्ताको रुपमा परिचित न्यौपानेको पहिलो चुनावी अनुभव हो । उनी यतिखेर गाउँगाउँमा मत माग्न ब्यस्त छन् । विगतको तुलनामा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिए पनि गोरखा–२ मा वामपन्थी मास भएकाले क्रान्तिकारी शक्ति नै मतदाताले रोज्ने संविधानसभा सदस्य तथा नेकपाका नेता परशुराम रम्तेलकाे दाबी छ। ‘लामो त्याग, लगानी गरेर विद्यार्थी राजनीतिदेखि अहिलेसम्म राजनीतिमा मात्र बिताउनुभएका लेखनाथजीको आफ्नै व्यतित्व र विचार छ, गोरखा–२ भनेको पञ्चायतकालदेखि नै शिक्षित र राजनीतिक मतदाता रहेको क्षेत्र भएकाले पनि जित सहज ढंगले जान्छ भन्ने लाग्छ,’ उनले भने ।
रास्वपाले अघिल्लो निर्वाचनमा नेकपा संयोजक दहालसँग पराजित भएका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मैदानमा उतारेको छ । यस पटकको चुनावमा नयाँ दलको महौल देशैभरी देखिएकाले गोरखामा पनि त्यसको राम्रो प्रभाव परेको बुर्लाकोटी बताउँछन् । ‘जनताको परिवर्तनप्रतिको अपेक्षा र हाम्रो पार्टीको परिवर्तनको एजेण्डाको कुरा मिलेको छ, हामी परिवर्तन गर्छौं भनेर आयौं, जनताले परिवर्तन चाहिन्छ भने यसमा मेल भएको छ,’ उनले भने,‘यो नै एउटा जितको आधार हो ।’ २०७९ को निर्वाचन भन्दा अहिले संगठन पनि सुदृढ भएको बुर्लाकोटीको दाबी छ।
कांग्रेसबाट प्रकाशचन्द्र दुवाडी उम्मेदवार छन् । दवाडी २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारलाई हराउँदै गोरखा–२ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी समाजसेवासँगै राजनीतिमा सक्रिय छन् । २०७० को संविधानसभा पछि कांग्रेसले पहिलो पटक आफ्नो चिन्हमा मत खसाल्न पाएकाले पनि कार्यकर्तामा उत्साह देखिएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापा बताउँछन् । २०७४ को निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिका नेता बावुराम भट्टराईलाई सघाएको थियो ।
२०७९ मा नेकपा माओवादी र कांग्रेसको गठवन्धनबाट पुष्पकमल दाहाल उम्मेदवार थिए । ‘२०७० सालपछि कांग्रेस कार्यकर्ता शुभचिन्तकले यसपटक आफ्नै चुनाव चिन्हमा मत हाल्न पाउँदा अर्कै किसिमको उत्साह देखिन्छ,’ थापा भन्छन्,‘उम्मेदवारी छनोट र टिकट वितरणमा पनि कुनै समस्या नदेखिएको र कार्यकर्ता र मतदाताले रुचाएका व्यक्ति नै उम्मेदवार हुँदा उत्साह थपिएको छ ।’ पार्टी संगठन नै यसपटक दवाडीलाई निर्वाचन जिताउन लागि परेको थापाको दाबी छ।
एमालेले गोरखा–२ मा मिलन गुरुङलाई उम्मेदवार वनाएको छ । गुरुङको विगतको पृष्ठभूमि विवादित मानिन्छ । युवाहरु माझ मिलनको लोकप्रियता देखेर नै पार्टीले टिकट दिएको एमाले नेताहरु बताउँछन् । सिरानचोक–५ चित्रेपोखरी घरभएका मिलनलाई उम्मेदवार बनाउँदा गुरुङ समुदायको र युवाहरुको मत जितको मुख्य आधार बन्ने एमाले नेताहरुको तर्क छ । मिलन गुरुङको उम्मेदवारीले गोरखा–२ मा उर्जा थपिएको एमालेका पूर्व जिल्लाअध्यक्ष प्रेम गुरुङ बताउँछन् ।
उम्मेदवारहरुको 'नजर' प्रलोपाको समर्थनमा
२०७९ को निर्वाचनमा पूर्वसहकर्मी नेकपा संयोजक पुष्पकमल दाहाललाई सघाएका प्रलोपाका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई यसपटकको निर्वाचनमा आफै उम्मेदवार बन्न चाहन्थे । तर २०६४ मा कुल खसेको ८३ प्रतिशत मतको रेकर्ड र पुरानो विरासतलाई समेत धक्का पुग्ने देखेपछि उनी पछि हटेको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । भट्टराईसहित प्रलोपाबाट उम्मेदवारी दिएका गोरखा–१ का गोपालबावु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्तापछि फेसबुक लाइभ मार्फत भट्टराईले संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबैको चाहना बमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् । भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै गोरखा–२ मा उनले कुन उम्मेदवारलाई समर्थन गर्छन्, चासो र चर्चाको विषय बन्दै आएको छ ।
यद्यपि प्रलोपाले अहिलेसम्म ठोस निर्णय गरिसकेको छैन ।
माघ १७ मा प्रलोपा गोरखाले प्रत्यक्ष तर्फ कुन पार्टीका उम्मेदवारलाई सघाउने भन्ने विषयमा छलफलका लागि जिल्ला संयोजक यानप्रसाद भट्टको संयोजकत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ । समानुपातिक तर्फ आफ्नो पार्टीका लागि मत माग्नका लागि भने दुवै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेर घरदैलो पनि गरिरहेको छ । गोरखा–२ मा अन्तरगत पालुङटारका ३ वटा वडाको वडाध्यक्ष डा. बाबुराम भट्टराई निकटको प्रलोपाका छन् । भट्टराईको पुरानो विरासत कायम रहेकाले गोरखा–२ मा प्रलोपाको निर्णयलाई महत्वका साथ हेरिएको हो ।
