त्रिविमा अखिल क्रान्तिकारीको अराजकता जारी

यस्ता गतिविधिले पदाधिकारीसहित प्राध्यापक, विद्यार्थी र कर्मचारीलाई आतंकित पारेको प्राध्यापकहरूको गुनासो छ ।

माघ २६, २०८२

कान्तिपुर संंवाददाता

All-Revolutionary Anarchy Continues at TU

What you should know

काठमाडौँ — नेकपाको भ्रातृ संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्दै आएको विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकले गुनासो गरेका छन् । विश्वविद्यालयमा गरेको तालाबन्दी प्रहरी प्रशासनको सहयोगमा खुलेपछि आक्रोशित क्रान्तिकारीले अभद्र व्यवहार प्रदर्शन गरेका हुन् ।

यसै कारण करिब ५ लाख विद्यार्थीले उच्चशिक्षा पढ्ने विश्वविद्यालयको शैक्षिक गतिविधि बिथोलिँदै गएको छ । शुक्रबार बिहानै क्रान्तिकारीका कार्यकर्ताले उपकुलपति र रजिस्ट्रारको कुर्सीमा अपशब्द प्रयोग गरी पर्चा टाँसेका थिए ।

पर्चा टाँसिएको तस्बिर क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष दिनेश ऐरले सामाजिक सञ्जालबाट सार्वजनिक गरे । उपकुलपति दीपक अर्याल र रजिस्ट्रार केदार रिजालको कुर्सीमा ‘म शैक्षिक माफिया हुँ’, ‘म विश्वविद्यालयको शैक्षिक धमिरा हुँ’ लगायत दुर्व्यवहारयुक्त शब्द लेखिएका पर्चा टाँसिएको छ ।

शुक्रबारको घटनाका सन्दर्भमा ऐरले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उपकुलपति र रजिस्ट्रारलाई शैक्षिक माफिया र दमनकारीको संज्ञा दिएका छन् । त्रिवि मानविकी संकायअन्तर्गतका चारवटा आत्मनिर्भर (सेल्फ–सस्टेन) कार्यक्रम केन्द्रीय विभागका रूपमा स्तरोन्नति भइसके पनि शुल्क समायोजनसम्बन्धी सहमति कार्यान्वयन नगरेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘त्यसैले पदाधिकारीका कुर्सीहरूमा फोटो टाँसेर गरिएको सांकेतिक विरोध व्यक्तिमाथि होइन, कर्तव्यविहीनतामाथि हो, उनीहरूले देखाएको वास्तविक चरित्रको पर्दाफास हो । सहमति गर्ने र तोड्ने खेल बन्द गरियोस् । तत्काल वार्ता खोलियोस्, सहमति लागू गरियोस् ।’

यही समूहले गत सोमबार रेक्टर खड्ग केसीको कार्यकक्ष बाहिरको नेमप्लेट फालेको थियो । नेमप्लेट तोडफोड गरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । उद्दण्ड र अराजक क्रियाकलाप गरेको भन्दै सामाजिक सञ्जालमा क्रान्तिकारीको आलोचना हुँदै आएको छ ।

‘रेक्टर रिजाल विश्वविद्यालयको काममा भैरहवा जानु भएको थियो । क्रान्तिकारीका ५/६ विद्यार्थी आए । यो रेक्टर काम लाग्दैन । हामी अर्को रेक्टर नियुक्त गर्छौं भन्दै नेमप्लेट झिकेर लगे,’ रेक्टर कार्यालयका एक कर्मचारीले भने, ‘नेमप्लेट तोडफोड गरी क्षति गराएको तस्बिर सामाजिक सञ्जालमा देख्यौं ।’

क्रान्तिकारीले उपकुलपतिलगायत पदाधिकारीको कार्यकक्षमा लगाएको ताला प्रशासनले खोलेपछि १२ माघमा विश्वविद्यालयमा मसाल जुलुस निकालेको थियो । क्रान्तिकारीका ऐरले तालाबन्दी खुलेपछि सार्वजनिक रूपमै पदाधिकारीलाई भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । यस्ता गतिविधिले पदाधिकारीसहित प्राध्यापक, विद्यार्थी र कर्मचारीलाई आतंकित पारेको प्राध्यापकहरूको गुनासो छ ।

‘विश्वविद्यालयमा सुरक्षाको वातावरण बिग्रिएको छ । जसले जतिबेला जे गरे पनि हुने बाहुबल चलेको छ,’ त्रिविका एक प्राध्यापकले भने, ‘दण्डहीनता बढेको छ । जस्तासुकै गैरकानुनी क्रियाकलाप गरे पनि कारबाही हुँदैन ।’ 

नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष पद्मप्रसाद खतिवडा र महासचिव सुमन खरेलले विज्ञप्ति जारी गरेर विश्वविद्यालयका पदाधिकारीमाथि अराजक व्यवहार भएको र लोकतान्त्रिक प्रणालीमा यस्तो व्यवहार स्वीकार्य नहुने जनाएका छन् । शान्तिपूर्ण तरिकाबाट असहमति राख्न आग्रह गरिएको छ । प्राध्यापक संगठनले वार्ता र सहकार्यबाट अवरोध अन्त्य गर्न त्रिवि र विद्यार्थी संगठनलाई आग्रह गरेको छ ।

क्रान्तिकारीले १९ पुसमा उपकुलपति, रेक्टर, रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले लगाएको ताला माघमा खुलाउन त्रिविले अल्टिमेटम दिएको थियो । ताला नखुलाएपछि प्रशासनको सहयोगमा तोडिएको उपकुलपति अर्यालले बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएको भन्दै तालाबन्दी गरिएको थियो । त्रिविले शुल्क सम्बन्धनका लागि शुल्क पुनरावलोकन कार्यदल गठन गरी काम अघि बढाएको जनाएको छ । विद्यार्थीका माग आर्थिक प्रशासनसँग पनि सम्बन्धित रहेकाले विस्तृत अध्ययनपछि मात्रै पूरा गर्न सकिने उपकुलपति अर्यालको भनाइ छ । ‘शुल्क पुनरावलोकन कार्यदल गठन गरेर माग पूरा गर्ने प्रक्रिया थालिएको छ,’ उनले भने ।

सर्वोच्च अदालतको आदेशअनुसार ताला खोलिएको त्रिविले जनाएको छ । सर्वोच्चले गत १८ असारमा त्रिविमा तालाबन्दी नगर्न र गरेको भए खुलाउन अन्तरिम आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन गरिएको उपकुलपति अर्यालले जनाए । ताला खोलेकै दिन क्रान्तिकारीका विद्यार्थीले लखेट्ने र भौतिक आक्रमण गर्ने धम्की दिएको उनले बताए ।

धम्कीका कारण ताला खुले पनि पदाधिकारीले विश्वविद्यालयको कार्यकक्षमा पुगेर काम गर्न पाएका छैनन् । उनीहरूले फरक–फरक डिन कार्यालय र विभागलगायत त्रिविका अन्य निकायमा बसेर दैनिक कार्यसम्पादन गर्दै आएका छन् । ऐरले प्रहरी प्रशासन लगाएर ताला खोलिएकोमा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यार्थी संगठन र आन्दोलनलाई जिस्काएर निहुँ खोजेको हो ? हेरौंला तिमीहरू विश्वविद्यालयमा कसरी छिर्दा रहेछौं ।’ 

विद्यार्थी संघ–संगठनले यसअघि पनि त्रिविका पदाधिकारीलाई धाकधम्की दिएर विश्वविद्यालय आउजाउमा अवरोध गर्दै आएका थिए । ‘हामी अदालतको आदेशको सम्मान गर्छौं र गर्दै आएका छौं । तर अदालतको आदेशको आडमा विद्यार्थीका जायज मागहरू दबाउने, अन्याय थोपर्ने र प्रशासनिक दमन स्वीकार्य छैन । यसको विरुद्ध प्रतिकार गर्नु हाम्रो अधिकार र दायित्व हो,’ ऐरले भनेका छन्, ‘प्रशासनको धम्की र दमनको बलमा क्रान्तिकारीका शान्तिपूर्ण आन्दोलनमाथि धावा बोल्ने प्रयास गर्छ भने चुप लागेर बस्दैनौं । सशक्त र संगठित प्रतिकार गर्न बाध्य हुनेछौं ।’ विगतको सहमति कार्यान्वयन गर्नुपर्ने, वार्ता र संवादबाट समाधान खोजिनुपर्ने क्रान्तिकारीले विज्ञप्तिमार्फत माग राख्दै आएको छ ।

त्रिविले बजेट, कार्यक्रममार्फत आत्मनिर्भर कार्यक्रमका रूपमा सञ्चालित यी ४ विषयको विभाग बनाएको थियो । क्रान्तिकारीले विभागको मापदण्डअनुसार शुल्क घटाउन माग राख्दै गत असारमा ३४ दिनसम्म आन्दोलन गरेपछि सहमति भएको थियो । 

कान्तिपुर संंवाददाता

Link copied successfully