पहिलेका ‘दोस्त’ महतो र यादव १२ वर्षपछि प्रतिस्पर्धी

दुबै जना पार्टी, क्षेत्र र जिल्ला परिवर्तन गरेर चुनावी मैदानमा आमने–सामने हुन्छन् । यसपटक सर्लाही–२, मा महतो र यादवलाई कांग्रेस, रास्वपा र एमालेले पनि चुनौती दिइरहेका छन् ।

माघ २५, २०८२

शिव पुरी

Former 'friends' Mahato and Yadav become rivals after 12 years

What you should know

सर्लाही — यहाँका राजेन्द्र महतो र महेन्द्रराय यादव कुनै बेला एउटै दलमा सहयात्री थिए । उनीहरुबीच सहकार्य लामो समय टिकेन। अलग्गिएर एकअर्काका कट्टर प्रतिस्पर्धी बनेका छन् । ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनबाट प्रतिस्पर्धी बनेर चुनाव लडिरहेका छन् । उनीहरुको पुरानो ‘दोस्ती’ र अहिलेको ‘टक्कर’ रोचक मानिन्छ ।

दुबै जना पार्टी, क्षेत्र र जिल्ला परिवर्तन गरेर चुनावी मैदानमा आमने–सामने हुन्छन् । यसपटक सर्लाही–२, मा महतो र यादवलाई कांग्रेस, रास्वपा र एमालेले पनि चुनौती दिइरहेका छन् । 

महतो र यादव मधेशको राजनीतिमा स्थापित अनुहार हुन् । उनीहरुका लागि निर्वाचन हार–जितमा मात्र सीमित छैन । राजनीतिक ‘इगो’को विषय बनेको छ । दुबैको भूगोल र समुदायमा पकड भएकाले मत विभाजनले नतिजालाई अनपेक्षित बनाउने देखिन्छ । सर्लाही–२ को चुनावी इतिहासमा महतो र यादवको प्रतिस्पर्धा पुरानो र रोचक छ । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुईबीच ‘भिडन्त’ तय भएसँगै क्षेक्र चर्चामा आएको छ । 

महतो राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष हुन् । यादव नेपाली कम्युनिस्ट पार्टीका नेता हुन् । यसअघि यादवले महतोलाई हराएका थिए । सर्लाही–२ मा बिगतदेखि कांग्रेस, सद्भावना, एमाले र तत्कालीन माओवादीबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि महतो र यादव सर्लाही–४ मा आमने–सामने भएका थिए । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महतो धनुषा–३ बाट उम्मेदवार बनेर विजयी भए । प्रतिद्वन्द्वी महतोले निर्वाचन क्षेत्र फेरेपछि यादवले दल बदले । ०७४ मा राष्ट्रिय जनता पार्टी प्रवेश गरेर सर्लाही–२ बाट यादव बिजयी भए । उनले २९ हजार १ सय ९१ मत प्राप्त गरेका थिए । उनका निकटतम कांग्रेसका जंगीलाल राय यादवले १८ हार ९ सय ७६ मत ल्याएका थिए । 

यसपटक जनताको चाहना अनुसार सर्लाही–२ बाट उम्मेदवार बनेको महतोले सुनाए । मधेशी मोर्चाले जबरजस्ती क्षेत्र परिवर्तन गरेर आफूलाई धनुषा पठाएको महतोको जिकिर छ । महतोले धुनषामा कांग्रेसका बिमलेन्द्र निधिलाई २ हजार ९ सय ३ मत अन्तरले पराजित गरेका थिए । महतोले ३० हजार ७ सय ५० मत ल्याएका थिए । भने निधिले २७ हजार ८ सय ४७ मत पाए । 

सर्लाही–२ मा ०७९ मा यादवले २३ हजार ५ सय २९ मत गर्दा महतोले २१ हजार ५ सय १८ मत ल्याएका थिए । ०४८ देखि महतो निरन्तर चुनावी मैदानमा छन् । ०४८ मा सर्लाही–२ मा काग्रेसकी मीना पाण्डेसित महतो २ हजार ८ सय ५७ मतान्तरले पराजित भएका थिए । पाण्डेले १० हजार ६ सय ८४ मत प्राप्त गर्दा महतोले ७ हजार ८ सय २७ मत ल्याएका थिए । ०५१ मा पनि कांग्रेसकी पाण्डेले महतोलाई ६ सय २२ मतान्तरले पराजित गरेकी थिइन् । पाण्डेले १० हजार ७ सय ९५ मत ल्याउँदा महतोले १० हजार १ सय ७३ मत ल्याएका थिए । राप्रपा अध्यक्ष सूर्यबहादुर थापा ९ हजार ७ सय २३ मत ल्याएर पराजित भए ।

०६४ को पहिलो सविधानसभा निर्वाचनमा महतोले क्षेत्र परिवर्तन गरे । सर्लाही–४ बाट उम्मेदवार बनेर १७ हजार ७३ मत पाएर बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी  तत्कालीन तमलोपाका रामचन्द्र्र रायले ८ हजार ७ सय ५२ मत ल्याएका थिए । ०७९ मा सर्लाही–२, ‘कमव्याक’ गरेका महतो तत्कालीन नेकपा माओवादीका यादवसित पराजित भए । यादवले २३ हजार ५ सय २९ मत ल्याउँदा महतोले २१ हजार ५ सय १८ मत पाए । एमालेका राजनारायण साहले १४ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । 

सत्तामा मौन, सडकमा चर्का
महतो विभिन्न दलको नेतृत्व तहमा चक्कर लगाइरने मध्ये पर्छन् । सत्तामा छँदा मौन र सडकमा चर्का नारा उराल्छन् ।  पछिल्लो समय तराई केन्द्रित दल बारम्बार जुट्ने र फुट्ने भइरहेका छन् । ‘पार्टी एकीकृत गर्न निकै प्रयास गर्दा पनि सकिनँ,’ महतोले भने, ‘म सहभागी पार्टीको नाम फेरिए पनि उद्देश्य फेरिएन । त्यसैले छुट्टै पार्टी खोलेर अभियान चलाउँदै आएको छु ।’ महतोले फछिल्लो समय राष्ट्रिय मुक्ति त्रान्ति गठन गरेर मधेसदेखि पहाडसम्म अभियान चलाइरहेका छन् । मधेस आन्दोलनका क्रममा सबैभन्दा बढी आलोचना गरिने नेतामा महतो थिए । 

बहुदल बहालीपछि राजनीतिमा सक्रिय उनी आफ्नो अभिव्यक्तिका कारण बेला–बेला विवादित भइरहन्छन् । संविधान जारी भएका बेला नेपाल–भारत सीमा क्षेत्रमा गएर महतोसहितका नेता धर्नामा बसेका थिए । त्यसबेला अनुकूल संविधान जारी नभएको भन्दै भारतले अघोषित नाकाबन्दी गरेको थियो । ‘मधेशको पहिचानका निम्ति नाकामा गएर बसेँ । पहिचानका लागि लडाइँ जारी छ,’ उनले भने, ‘मधेश आन्दोलन अझै पनि सफल भएको छैन । देशमा सुशासन छैन् । भष्ट्राचार बढेको छ ।’ 

उनी साढे तीन दशक मधेश आन्दोलन हाँकेफछि ‘राष्ट्रिय मुक्ति त्रान्ति’ अभियानमा लागेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय मुक्ति क्रान्ति गर्न तयार नभएपछि आफू अलग्गिएर क्रान्तिको नेतृत्व गरेको उनले बताए । 

क्षेत्र विकास ओझेलमा
महतो र यादव पटक/पटक चुनावमा प्रतिस्पर्धा गरे पनि उनीहरुको निर्वाचन क्षेत्र विकासमा पछि परेको स्थानीय बताउँछन् । पटक–पटक मन्त्री भइसकेका नेताद्वय जिल्लामा विकासको लहर ल्याएको दाबी गर्छन् । यसपटक सप्तरी–२ र धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भए पनि अन्तिममा सर्लाहीका साथीहरुको दबाबमा धनुषा छाडेको महतोले बताए । 

यसपाली भोट माग्न आएमा यसअघिका चुनावमा गरिएका वाचा कति पुरा भए/भएनन् त्यसको हिसाब माग्ने सलेमपुरस्थित रामभरोसे साहले सुनाए । ‘शिक्षा, स्वास्थ्य, बाटो लगायत भौतिक पूर्वाधार खडा गरी जिल्लामा आमुल परिवर्तन गर्छु भनेर नेताले गरेका वाचाको एक/एक हिसाब माग्छौं,’ उनले भने, ‘नेताले चुनावलाई झुक्याउने उत्सव बनेका छन्, यसपाली हेरौंला ।’

अन्तरिम सरकारका बेलमा महतो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री थिए । ०६४ मा पहिलो सविधानसभाको निर्वाचन जिते पछि दोस्रो पटक उनी उद्योग वाणिज्य आपूर्ति मन्त्री भए । ०६६ मा तत्कालीन एमाले नेता माधवकुमार नेपालको मन्त्रीमण्डलमा पुनः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेर ह्याट्रिक गरे । ०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए । त्यही बेला सदरमुकाम मलंगवामा सुविधासम्पन्न अस्पताल बनाएको उनले दाबी गरे । ०७८ मा उपप्रधान तथा सहरी विकास मन्त्री बने । सर्लाही–२ मा शिक्षा, स्वास्थ्य, बाटोको अवस्था दयनीय छ । 

मधेशमा रौतहटपछि धेरै गरिबीको रेखामूनि रहेको जिल्ला सर्लाही हो । यहाँ २६.७० प्रतिशत गरिबी छ । यस क्षेत्रको साक्षरता दर राष्ट्रिय औसत ७६.२ प्रतिसत भन्दा कम छ । सरकारी विद्यालयको संख्या पर्याप्त देखिए पनि गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार अभाव छन् । सदरमुकाम मलंगवा यस क्षेत्रमा पर्ने भएकाले जिल्ला अस्पताल छ । तर, ग्रामीण भेगका स्वास्थ्य चौकीमा दक्ष जनशक्ति (डाक्टर) र उपकरणको अभाव छ ।

सदरमुकाममा ठेला चलाउँदै गरेका मजदुर जगदीश महतोले भने, ‘सदरमुकामकै हालत हेर्नुस् । कोही मानिस बिरामी परे भने उपचारको लागि चितवन र काठमाडौं लैजानु पर्छ, सुविधा सम्पन्न अस्पताल र चिकित्सक छैनन्।’  

हुलाकी राजमार्गको निर्माणले केही राहत दिए पनि भित्री सडक कच्ची छन् । बर्खायाममा भित्री सडक हिलाम्मे हुने र निकासको उचित व्यवस्था नहुँदा यातायात अवरुद्ध हुने समस्या रहेको सर्लाही–२ बाट कांग्रेस उम्मेदबार डा. सरोज यादवले बताए । ‘डुबानको समस्या छ । सदरमुकामकै अवस्था गतिलो छैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, बाटोलगायतका विकासका काम गर्नु पर्नेछ ।’ उनी कांग्रेस पूर्वमन्त्री नागेन्द्रराय यादवका छोरा हुन् । 

१२ वर्षपछि प्रतिस्पर्धा
वामपन्थी राजनीतिबाट उदाएका यादव र महतोबीच १२ वर्ष पछि प्रतिस्पर्धा हुन लागेको हो । ८८ वर्षीय यादवको राजनीतिक यात्रा ०३७ सालमा नेकपा (विष्णु मानन्धर समूह) बाट सुरु भएको हो । उनी एमालेबाट ०५१ मा सर्लाही–१ बाट चुनाव लडेर कांग्रेसका ब्रम्हनारायण चौधरीलाई १० हजार २ सय ५ मतान्तरले पराजित गरेर संसद प्रवेश गरेका थिए ।

यादवले २३ हजार ७ सय ५८ मत ल्याउँदा चौधरीले १३ हजार ५ सय ५३ मत पाएका थिए । ०५६ मा त्यही क्षेत्रबाट २३ हजार ४ सय ४४ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसिंह साह तेलीले १९ हजार १ सय २६ मत पाएका थिए । ०६४ को पहिलो सविधानसभा निर्वाचनमा यादव राष्ट्रिय जनता पार्टीबाट समानुपातिक कोटाबाट चुनिए ।

०७० को दोस्रो सविधानसभा निर्वाचनमा दल बदलेर तराई मधेस सद्भावना पार्टीबाट सर्लाही–४ बाट चुनाव लडेर ११ हजार ५ सय ३४ मत ल्याएर सद्भावना उम्मेदवार महतोलाई पराजित गरे । महतोले ८ हजार ७ सय ९० मत ल्याएका थिए । एमालेका रामनारायण साहले ८ हजार ३ सय ४८ मत ल्याई तेस्रो भए । 

०७४ मा सर्लाही–२ मै पुगेर राष्ट्रिय जनता पार्टी नेपालबाट चुनाव लडेर २९ हजार १ सय ९१ मत ल्याएर बिजयी भए । निकटतम कांग्रेसका जंगीलाल रायले १८ हजार ९ सय ७६ मत ल्याएका थिए । ०७९ मा नेपाल समाजवादी र माओवादी केन्द्र गठबन्धनबाट २३ हजार ५ सय २९ मत ल्याएर सर्लाही–२ बाट विजयी भए । निकटतम लोसपाका महतोले २१ हजार ५ सय १८ मत पाए । यादव २०५५ सालबाट शक्ति केन्द्रमा छन् । ०५५ मा पहिलोपटक राज्यमन्त्री भए । त्यस पछि ०६५ मा उद्योग मन्त्री, ०६९ मा सिचाई मन्त्री, ०७२ मा कृषि मन्त्री र ०७५ मा महिला तथा बालबालीका मन्त्री भइसकेका छन् । 

दुबै ‘दलबदलु’
महतो र यादव दुबै दल बदल्न खप्पिस रहेको उनीहरु निकट सुनाउँछन् । आफू दल बदल्नेमा पर्ने यादव स्वीकार्छन् । ‘पहिचान मिले पनि मधेशले अझै अधिकार पाउन सकेको छैन,’ यादवले भने, ‘मधेशवादी दलमा बसेर १८ वर्ष काम गरे । मिसन पूरा भए पछि वामपन्थ मै फर्किए ।’ महतोको कुनै पार्टी नभएको यादवले जिकिर गरे ।

सत्ता र शत्ति सन्तुलन प्रभाव कायम राख्न दुबै नेताले समय/समयमा गठबन्धन र पार्टी परिवर्तन गर्ने गरेको देखिन्छ । कतिपय अवस्थामा चुनाव जित्न अनुकुल वातावरण बनाउन र बलियो शक्तिसँग मिल्न यादवले पार्टी वा चुनाव चिन्ह फेरेको पाइन्छ । उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेपाल समाजवादी पार्टीको अध्यक्ष मण्डलमा समेत काम गरेका थिए । 

सर्लाही–२ मा २५ वर्षदेखि ७० वर्षका नेता प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार यादव ८८ वर्षीय छन् । महतो पनि ६७ वर्षका भए । उनीहरुसित रास्वपाबाट रविन महतो र कांग्रेसका यादव भिड्दै छन् । यादवको पकड ग्रामीण र यादव बाहुल्य क्षेत्रमा देखिन्छ । महतोको प्रभाव सदरमुकाम र वैश्य समुदायमा बलियो मानिन्छ । यसपटक युवा उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक बन्दै गएको छ । 

कांग्रेसले पकड जोगाउन यादवलाई अघि सारेको छ । डा. यादव जिल्लाको राजनीतिमा परिचित हुन् । पेशाले चिकित्सक भए पनि लामो समयदेखि सामाजिक र राजनीतिक क्षेक्रमा सत्रिय यादवलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी जिल्ला कार्यसमितिमा उपसभापति थिए । 

उनका बुवा कांग्रेस नेता नागेन्द्र राय अनुभवी राजनीतिज्ञ हुन् । उनी ०५६ मा कांग्रेसबाट सर्लाही–४ मा निर्वाचित भएका थिए । ०७४ मा उनी समानुपातिक तर्फबाट दोस्रो पटक सांसद बने । ०७९ मा सर्लाही–४ बाट उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह संग पराजित भए । उनी संघीय सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था सहायक मन्त्रीको रुपमा कार्य गरिसकेका छन् । ०५२ देखि पार्टी जिल्ला सभापति रहेर काम गरेका उनले यस पटक छोरालाई अघि सारेका छन् । 

रास्वपाले सर्लाही–२ मा महतोलाई उम्मेदवार बनाएको छ । ‘परिवर्तन र वैकल्पिक राजनीति’ को नारासहित महतो मतदाता माझ पुगिरहेका छन् । भ्रष्टाचार निवारण, सुशासन, र युवा स्वरोजगारलाई चुनावी अभियान बनाएका छन् । परम्परागत दलप्रतिको वितृष्णालाई आफनो पक्षमा पार्ने उनको रणनीति देखिन्छ । ‘सहरी होस् वा ग्रामीण, युवा मतदाताको समर्थन मेरो शक्ति हो,’ उनले भने,‘अब नयाँ पुस्ता र परिवर्तनले देशमा आमुल परिवर्तन सम्भव छ ।’ ०७९ मा (रास्वपा) बाट उम्मेदवार बनेका जयकरण महतो ५ सय ६९ मत प्राप्त गरेका थिए । 

पूर्वप्राध्यापक योगेन्द्र यादवले पुराना सोच र पुरानै मानसिकता बोकेका दलबाट जनता दिक्क भइसकेकाले यसपटक चुनावी परिणाम फरक पर्न सक्ने बताउँछन् । ‘हिजो मेरो जातका मानिस यति छन् भनेर गनेर जातीय राजनीतिबाट जितेर जान्थे, तर जनताको समस्या उस्तै हुन्थ्यो,’ उनले भने,‘अहिले नयाँ पुस्ता र जेन–जी आन्दोलनले अवस्था फेरिएको छ । यसपटक मधेशमा कसैले कल्पनै नगरेको परिणाम आयो भने आश्चर्य नमाने हुन्छ ।’

सर्लाही–२ मा ३१ जना उम्मेदवार छन् । जसमा १७ स्वतन्त्र छन् । यस क्षेत्रमा सदरमुकाम मलंगवा नगरपालिका, हरिपुर नरपालिका र कविलासी नगरपालिकाको ८, ९ र १० नम्बर वडा र ईश्वरपुर नगरपालिकाको १५ नम्बर वडा पर्छ । कडौना गाउँपालिका, विष्णुपुर गाउपालिकाको ५, ६, ७ र ८ नम्बर वडा, ब्रम्हपुरी गाउपालिका, पर्सा गाउपालिका रहेका छन् । मलंगवा नगरपालिका प्रमुख कांग्रेसले जितेको छ ।

हरिपुरमा एमाले, कडौना गाउँपालिका, कबिलासी नगरपालिका र ब्रम्हपुर गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले जितेको छ । पर्सा गाउँपालिका संघीय समाजबादी फोरम नेपालले जितेको छ । ०७९ को स्थानीय तह निर्वाचनमा भने यस क्षेत्रका मंलगवा नगरपालिका, हरिपुर नगरपालिका, गाउँपालिका, कबिलासी नगरपालिका, ब्रम्हपुर गाउँपालिका, पर्सा गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully