यसअघिको उपनिर्वाचनमा सुहाङलाई तत्कालीन माओवादीको पनि सहयोग थियो। अहिले माओवादीसहितको अन्य दलबाट बनेको गठबन्धनको दल नेपाली कम्युनिस्ट पार्टीको आफ्नै उम्मेदवार चुनावी मैदानमा छन् ।
पाँचथर — २०७० को संविधानसभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग चुनाव हारेका कांग्रेसका भेषराज आचार्य यसपटक सुवासकै छोरा सुहाङ नेम्वाङसँग चुनावी प्रतिस्पर्धामा छन्।
दोस्रो संविधानसभा निर्वाचनमा आचार्य नेम्वाङसँग २ हजार १ सय १२ मतले पराजित भएका थिए । त्योबेला एमालेका सुवासचन्द्र नेम्वाङले १४ हजार ९ सय ३० मत प्राप्त गर्दा कांग्रेसका आचार्यले १२ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।
सुवासचन्द्र नेम्वाङसँग १२ वर्षअघि प्रतिस्पर्धा गरेका आचार्य र सुहाङ बीच यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुबीचको प्रतिस्पर्धा बारे इलामका चोकदेखि चौतारा हुँदै चिया गफसम्म चर्चा भइरहेको छ । माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै आचार्य र नेम्वाङसहित १४ जना उम्मेदवार इलाम–२ मा घरदैलो गरिरहेका छन् ।
उम्मेदवारहरु मतदाता भेट्न व्यस्त छन् भने मतदाता उम्मेदवारका बाचा सुन्दै उनीहरुका एजेण्डाको लेखाजोखा गरिरहेका छन् । यद्यपि अधिकांश दलले प्रतिबद्वता, एजेण्डा र घोषणा पत्र सार्वजनिक गरेका छैनन्।
इलाम–२ मा निरन्तर चुनाव जितेका संविधानसभा अध्यक्ष नेम्वाङको निधन भएपछि २०८१ वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा उनकै छोरा सुहाङ यहाँबाट निर्वाचित भएका थिए । त्योबेला उनलाई तत्कालीन माओवादीसहितका कम्युनिष्ट पार्टीहरुले समर्थन गरेका थिए । त्योबेला सुहाङसँग प्रतिस्पर्धामा कांग्रेसका डम्बर खड्का थिए । सुहाङको दोस्रो पटकको चुनावी दौडमा १२ वर्षअघि आफ्नै बुवासँग चुनाव लडेका आचार्यसँग प्रतिष्पर्धा भइरहेको छ।
सुहाङले १६ महिनाको संसदीय अभ्यासमा आफूले गरेका काम र जिल्लाका लागि गरेको कामले पनि आफूलाई यसपटक पनि यहाँका मतदाताको साथ मिल्नेमा विश्वस्त रहेको बताँउछन् ।
२०४८ पछिका प्रत्येक निर्वाचनमा इलाम–२ मा कांग्रेस दोस्रो बन्दै आएको थियो । आचार्य पार्टी नेतृत्व नै बद्लिएको सन्दर्भमा यस पटक नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । लामो समयदेखि इलामको सामाजिक र राजनीतिक क्षेत्रमा योगदान गरेको बताउने आचार्य अघिल्लो निर्वाचनमा एमालेसँग सहकार्य गरेका कम्युनिष्ट घटक र आफ्नो दल सबै एक्ला एक्लै प्रतिस्पर्धामा रहेका कारण पनि चुनाव जित्न सजिलो हुने टिप्पणी गर्छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ मा संविधानसभा अध्यक्ष नेम्वाङले यस क्षेत्रबाट ३० हजार २० मत प्राप्त गरी विजयी भएका थिए । त्यो बेला कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेर ११४ को झिनो मतान्तर थियो ।
त्यसअघि २०७४ प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि नेम्वाङले कांग्रेस उम्मेदवार केशव थापालाई पराजित गरेका थिए । त्योबेला माओवादी केन्द्रसँगको बाम गठबन्धन गरेर चुनाव लड्दा नेम्वाङले ३६ हजार ६ सय १७ मत प्राप्त गर्दा कांग्रेसका थापालाई २६ हजार ८ सय ६५ मत प्राप्त भएको थियो । अनुभवी र हार वेहोरेका नेता आचार्य २०७९ को झिनो मतान्तरलाई उल्ट्याएर विजयी हुनेमा दाउमा देखिन्छन् ।
यो क्षेत्रमा १ लाख १९ हजार ४८९ मतदाता छन् । स्थानीय पालिका र अघिल्ला निर्वाचनको मतपरिणाम हेर्दा पनि अन्य दल र नयाँ उम्मेदवारको जनमत बुझ्दा यस पटक पनि एमाले–कांग्रेसकै बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि संघठन निर्माण र चुनाव केन्द्रीत गतिविधिलाई तिब्रता दिएकाले कांग्रेस र एमालेको मत पहिले भन्दा खुम्चिने स्थानीयको आँकलन छ ।
यसअघिको उपनिर्वाचनमा सुहाङलाई तत्कालीन माओवादीको पनि सहयोग थियो तर अहिले माओवादीसहितको अन्य दलबाट बनेको गठबन्धनको दल नेपाली कम्युनिस्ट पार्टीको आफ्नै उम्मेदवार चुनावी मैदानमा छन् ।
संविधानसभा अध्यक्ष तथा तत्कालीन प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनपछि भएको २०८१ को उपनिर्वाचनमा कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ प्राप्त गरेका थिए । उक्त निर्वाचनमा एमालेका सुहाङको मतान्तर ५ हजार ७८० थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो स्थानमा थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मत प्राप्त गरेर चौथो भएका थिए ।
यसपटक नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ओमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश दुलाल, श्रम संस्कृति पार्टीबाट सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईसहित १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
