४० वटा वडा रहेको मकवानपुर-१ मा १३ दलका १३ र स्वतन्त्र १० जना गरी २३ जना उम्मेदवारमध्ये ५ महिला छन् ।
What you should know
हेटौंडा — प्रत्येक निर्वाचनमा मन बदल्ने निर्वाचन क्षेत्रको पहिचान बनाएको मकवानपुर-१ निर्वाचन क्षेत्रमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पाका उम्मेदवारलाई युवा उम्मेदवारले चुनौती दिएका छन् ।
त्यसो त पाका उम्मेदवारहरुबीचमै पनि तीव्र प्रतिस्पर्धा देखिन्छ । चिसो घट्दै जाँदा चुनावी रापताप बढ्दै गएको छ । प्रत्येक उम्मेदवार घरदैलोमा पुगिरहेका छन् । उम्मेदवाहरु आ-आफ्ना एजेन्डा प्रस्तुत गर्दै घरदैलोमार्फत मतदाता समक्ष हात अपिल गरिरहेका छन् ।
यो निर्वाचन क्षेत्रमा मकवानपुरको हेटौंडा उपमहागनगरपालिकाको १५ वडा, बकैया, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा पर्छन् । ४० वटा वडा रहेको मकवानपुर-१ मा १३ दलका १३ र स्वतन्त्र १० जना गरी २३ जना उम्मेदवार छन् । २३ जनामध्येमा ५ महिला छन् । तीमध्ये तीन महिला विभिन्न दलबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो क्षेत्रमा पूर्वसांसद ६४ वर्षीय दिपकबहादुर सिंहलाई पुनः प्रतिस्पर्धामा उतारेको छ । कांग्रेसले ६१ वर्षीया महालक्ष्मी उपाध्याय ‘डिना’लाई उम्मेदवार बनाएको छ। एमालले ६३ वर्षीय रामेश्वर रानालाई उठाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ४० वर्षीय विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ वर्षीय प्रकाश गौतम, नेकपा माओवादीले ३८ वर्षीर्य महेश नेपाली, उज्यालो नेपाल पार्टीले ३६ वर्षीय सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ४१ वर्षीय रमेशप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीको तर्फवाट ४१ वर्षीया विद्या श्रेष्ठ महर्जन उम्मेदवार छन् ।
जनता समाजवादी पार्टीका (एकल चुनाव चिन्ह) ३४ वर्षीय दीपक सिन्तान, मंगोल नेशनल अर्गनाइजेशनका ४३ वर्षीय युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी ५४ वर्षीया रञ्जना सुवाल मगजु, जसपा नेपालका ४७ वर्षीय रुपक लामा उम्मेदवार छन् ।
पुराना र विगतका ठूला दलका पाका उम्मेदवारहरुलाई युवा उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । पाका उम्मेदवारहरुलाई विरासत जोगाउन हम्मे परेको छ । २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट राप्रपाका दिपकबहादुर सिंह २७ हजार ८१६ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी महालक्ष्मी उपाध्यायले २५ हजार ४ सय २३ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा साविकको माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस उम्मेदवार महालक्ष्मीलाई समर्थन गरेको थियो ।
उक्त निर्वाचनमा एमालेको सूर्य चिन्ह लिएर एमालेकोतर्फबाट उम्मेदवारी दिएका तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत ल्याएका थिए भने रास्वपाका उम्मेदवार टाकाराज थापाले १ हजार ८ सय ६० मत प्राप्त गरेका थिए ।
यो निर्वाचन क्षेत्रमा २०४८ सालदेखि २०७९ सालसम्म सम्पन्न भएका सात वटा आमनिर्वाचनमा फरक/फरक दलका उम्मेदवारलाई यस क्षेत्रका मतदाताले विजयी गराएका छन् । फागुन २१ गतेको निर्वाचनलाई नजिकैबाट नियालिरहेका त्यसै क्षेत्रका पूर्वशिक्षक एव लेखक रमेश लामिछानले भने,‘मकवानपुर-१ का मतदाता अस्थिर खालका छन्, पोखरीको जमेको पानी जस्तो छैनन् । बगेको पानी जस्तो भएकाले निर्वाचनको नतिजा सहजै ढगले अनुमान गर्न सकिँदैन ।’
प्रजातन्त्रको पुर्नस्थापना भएपछिको पहिलो २०४८ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका कमल थापा थिए । २०५१ को मध्यावधि निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका कृष्णप्रसाद दाहाललाई पराजित गरेर कमल थापा जितेका थिए।
२०५६ सालको निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका थिए । त्यतिबेला पनि कमल थापा उनको निकटतम प्रतिस्पर्धी बन्न पुगेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका दिलबहादुर घिसिङले जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका बद्री लम्साल थिए । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका ईन्द्रबहादुर बानियाले यो क्षेत्रबाट जित हात पारेका थिए । त्यतिबेला उनको निकटतम प्रतिस्पर्धी एमालेका अणराज जर्घामगर थिए ।
२०७४ को आमनिर्वाचनमा मकवानपुर-१ बाट एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका थिए । राप्रपाका कमल थापा निकटतम प्रतिस्पर्धी बनेका थिए । उक्त निर्वाचनमा एमालेले कमल थापालाई समर्थन गरेको थियो । २०७९ को निर्वाचन राप्रपाका दिपकबहादुर सिंह विजयी बने । कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’निकटतम प्रतिस्पर्धी बनिन् ।
‘यस क्षेत्रका मतदाताको मत र मन नै अस्थिर छ त्यसैले अनुमान गरेको भन्दा फरक नतिजा आउन सक्छ,’ लामिछानेले भने,‘यहाँका मतदाता सचेत र जागरुक भएकाले हरेक पटक परिणाम बदलिएको हुनसक्छ ।’ यो क्षेत्रमा हेटौंडा उपमहानगरपालिका १९ वटा वडामध्ये बजारसहित १५ वडा यसै क्षेत्रमा पर्छन् । हेटौंडा नगरपालिकाका क्षेत्रकै मतदाता यहाँका निर्णायक हुन् ।
यो क्षेत्रमा स्वतन्त्रबाट अमर दंगाल, अमिक परियार, टीका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेश कुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञानसागर लामा उम्मेदवार छन् ।
एमालेका राना, कांग्रेसकी डिना र राप्रपाका सिंह उमेरलेमात्र पाका होइनन्, विभिन्न क्षेत्रका राजकीय जिम्मेवारी पनि सम्हाली सकेका छन् । राना तत्कालीन जिल्ला विकास समिति मकवानपुरको सभापति र भूमि आयोगका जिल्ला अध्यक्षसमेत भइसकेका छन् । कांग्रेसकी डिना जलस्रोत राज्यमन्त्री पनि भइसकेकी छिन् भने राप्रपाका सिंहले उर्जा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त क्षेत्रबाट नेकपाका उम्मेदवार विजय गौतम र रास्वपाका प्रकाश गौतम पहिलो पटक चुनावी मैदान होमिएका हुन् ।
मकवानपुर-१ को २०७९ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमालेले २२ हजार ६७६ मत ल्याएको थियो भने रास्वपाले १८ हजार ६६२ मत प्राप्त गरेको थियो । यसैगरी कांग्रेसले १४ हजार ८१४ मत प्राप्त गरेको थियो भने राप्रपाले १३ हजार ७७० मत पाएको थियो । तत्कालीन माओवादी केन्द्रले १३ हजार १६० र साविकको एकीकृत समाजवादीले १ हजार २५१ मत पाएको थियो ।
४० वटा वडामा विभाजित मकवानपुर-१ निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थल रहेका छन् भने १७८ वटा मतदान केन्द्र छन् । १ लाख ५८ हजार ४३५ मतदाता रहेको यस क्षेत्रमा ७८ हजार ८१० महिला मतदाता छन् । ४ जना अन्य मतदाता छन् ।
