मिडियामा कम देखिएका र सामाजिक सञ्जालको ‘अल्गोरिदम’ ले नचिनेका कतिपय उम्मेदवार शान्त तर बलियो प्रतिस्पर्धामा छन् ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै गर्दा ‘हेभिवेट’ भनिएका उम्मेदवारका कारण केही क्षेत्रमा चासो र चर्चा केन्द्रित भइरहेको छ । पार्टी अध्यक्ष/सभापति, पूर्वप्रधानमन्त्री, चर्चित निवर्तमान पालिका प्रमुख र उदीयमान नेताको उम्मेदवारी परेका ती क्षेत्रमा अन्य उम्मेदवार प्रायः ओझेलमा छन् । तर मिडियामा कम देखिएका र सामाजिक सञ्जालको ‘अल्गोरिदम’ ले नचिनेका कतिपय उम्मेदवार शान्त तर बलियो प्रतिस्पर्धामा छन् ।
झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह, सुनसरी–१ श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, सप्तरी–२ जनमत अध्यक्ष सीके राउत, सप्तरी–३ जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव तथा सर्लाही–४ कांग्रेस सभापति गगन थापा र रास्वपा नेता अमरेश सिंहका कारण चर्चामा छ ।
रौतहट–१ नेकपा सहसंयोजक माधव नेपाल, चितवन–२ रास्वपा सभापति रवि लामिछाने, चितवन–३ पूर्वमहानगरप्रमुख रेनु दाहाल र रास्वपा नेता सोविता गौतम, काठमाडौं–३ उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, तनहुँ–१ रास्वपा उपसभापति स्वर्णिम वाग्ले र रुकुम पूर्व नेकपा संयोजक पुष्पकमल दाहालका कारण ‘हटस्पट’ बनेका छन् । तर, यी क्षेत्रमा अन्य दल र स्वतन्त्र उम्मेदवारले बलियो प्रतिस्पर्धा गरिरहेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ का अमृत रसाइली राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार छन् । मेचीनगरस्थित एक गाडी वासिङ कम्पनीका श्रमिक उनी झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलगायतसँग प्रतिस्पर्धा गर्दै छन् ।
पूर्वमा बेला–बेला चर्किंदै सेलाउने पहिचानवादी आन्दोलनसँग उनी नजिक छन् । ‘हामी विचार र पहिचानको राजनीति गर्छौं,’ उनी भन्छन्, ‘शक्तिको राजनीति गर्दैनौं ।’ रसाइली सबै प्रतिस्पर्धीलाई जित्नकै लागि आफू उम्मेदवार बनेको बताउँछन् । ‘हार्नका लागि को मैदानमा जान्छ र !’ उनी थप्छन्, ‘सबैको झैं मेरो पनि लक्ष्य जित नै हो ।’
मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार शानबहादुर मेचे झापा–५ मा प्रतिस्पर्धा गर्ने अल्पसंख्यक आदिवासी समुदायका एक्ला उम्मेदवार हुन् । उनी झापाको मेचीनगर–३ वडाखालमा बस्छन्, खेतीकिसानी गरेर जीविका चलाउँछन् । उनी भन्छन्, ‘देशमा विषम परिस्थिति सिर्जना गर्ने दुई शक्तिबीच झापा–५ मा भिडन्त हुँदै छ । यसबारे मतदातालाई प्रस्ट थाहा छ ।’
ओली र शाहलाई हराउन भनेर सल्यानबाट आएका छन् डम्बर साहु । उनी झापा–५ मा स्वतन्त्र उम्मेदवार बन्नु पछाडिको कथा रोचक छ । कुनै बेला उनी बालेन्द्र शाहका निकट मानिन्थे । स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय अभियानका संयोजक पनि थिए ।
शाह ‘लौरो’ चुनाव चिह्न अलपत्र पारेर हिँडेपछि लौरो खोज्दै उनी झापा आएका हुन् । ‘बालेनले लत्याएर हिँडेको लौरो खोज्दै म झापा आएको हुँ,’ उनी भन्छन्, ‘लोकतन्त्र खतरामा छ । त्यही लोकतन्त्र जोगाउन म पनि झापामा उम्मेदवार बनेको हुँ । मैले जित्ने–नजित्ने कुरा मुख्य होइन ।’
पूर्वमिडियाकर्मी उनी अहिले काठमाडौंमा एउटा इभेन्ट मेनेजमेन्ट कम्पनीमार्फत जीविका चलाउँछन् ।
राष्ट्रिय परिवर्तन पार्टी जेन–जी आन्दोलनपछि जन्मिएको पार्टी हो । आन्दोलनका घाइते राजेश पोर्तेल संयोजक रहेको यो पार्टीले जिल्ला अध्यक्ष सविन राईलाई झापा–५ मा उम्मेदवार बनाएको छ । परिवर्तन पार्टीले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँग चुनावी तालमेलसमेत गरेको छ ।
झापाको कमल गाउँपालिका–५ का राई फोटो स्टुडियो सञ्चालक हुन् । ‘पुराना दलहरूप्रति जनता निराश छन्,’ पत्रकारितामा स्नातक गरेका उनी भन्छन्, ‘पुराना शक्तिहरूको विकल्पका रूपमा हामी चुनावी मैदानमा ओर्लिएका हौं ।’
रञ्जना गौतम स्वतन्त्र उम्मेदवार हुन् । दमक नगरपालिका–९ पूर्वेली टोलमा बस्ने उनी लेखापढी व्यवसायी हुन् । उनी ग्यास चुलो चुनाव चिह्न लिएर मैदानमा ओर्लिएकी छन् । ‘स्वतन्त्र भनेपछि जित्न सक्दैनौं भन्ने नजरले हेर्छन्,’ उनी भन्छिन्, ‘तर, मलाई जित्छु भन्ने पूर्ण विश्वास छ ।’ मत माग्ने क्रममा उनलाई धेरै मतदाताले सोध्छन्, ‘तपाईं जित्न सक्नुहुन्छ त ?’ उनी हाँस्दै भन्छिन्, ‘जित्न नसक्ने भए किन उठ्थें होला ।’
यसै क्षेत्रमा कांग्रेसले मन्धरा चिमरियालाई प्रतिस्पर्धामा ल्याएको छ । २०१९ मा ताप्लेजुङमा जन्मिएकी चिमरिया २०३८ मा लोक सेवा आयोगमार्फत निजामती सेवामा प्रवेश गरेकी थिइन् । २०४८ देखि नै उनी कांग्रेसमा सक्रिय छिन् । वडादेखि जिल्ला तहसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेकी उनी सामाजिक अभियन्ता पनि हुन् । केपी र बालेन्द्रको चर्चा चलिरहँदा जित भने आफ्नो निश्चित भएको दाबी उनी गर्छिन् ।
जनमत पार्टीबाट अमृतलाल महतो उठेका छन् । झापाको गौरीगन्ज–३ घर भएका महतो जनमत पार्टीको स्थापनादेखि नै राजनीतिमा संलग्न छन् । उनी पेसाले होटल व्यवसायी हुन्, काठको फर्निचर किनबेचमा समेत संलग्न छन् ।
राप्रपाले लक्ष्मीप्रसाद संग्रौलालाई टिकट दिएको छ । उनी २०४० देखि निरन्तर राजनीतिमा सक्रिय छन् । विगतमा उनको आफ्नै पार्टी थियो, राष्ट्रिय स्वाभिमान पार्टी । त्यो दल २०७० मा राप्रपासँग विलय भयो । उनी अहिले राप्रपाको केन्द्रीय सदस्य छन् । उनी मार्वल व्यवसायी हुन् ।
जसपा नेपालका उम्मेदवार धीरेन सुब्बा २०३५ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न छन् । अशोक राईले एमालेबाट अलग्गिएर छुट्टै संघीय समाजवादी पार्टी गठन गर्दा उनी झापा जिल्ला अध्यक्ष थिए । हाल उनी जसपा नेपालका केन्द्रीय सदस्य हुन् । २०५४ मा दमक–१३ को वडा सदस्य बनेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीबाट टिकट पाएका रञ्जित तामाङ विद्यार्थी आन्दोलनबाटै राजनीतिमा होमिएका हुन् । तामाङ तत्कालीन माओवादीले सुरु गरेको १२ वर्षे सशस्त्र क्रान्तिमा समेत संलग्न थिए । उनी अखिल क्रान्तिकारीका पहिलो निर्वाचित अध्यक्ष हुन् । झापाको कमल गाउँपालिकास्थित तोपगाछीका तामाङ अहिले नेकपाको केन्द्रीय सदस्य छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ पार्टी सहमहासचिव हुन् । लामो समयदेखि पहिचानको आन्दोलनमा संलग्न उनी श्रम संस्कृति पार्टीमा भर्खरै आबद्ध भएका हुन् । उनले यस क्षेत्रमा आफ्नो पार्टीले तय गरेको एजेन्डाले नै विजय हात पार्ने दाबी गरेका छन् ।
यहाँ पदमबहादुर जबेगुले जनमुक्ति पार्टी, सविन राईले राष्ट्रिय परिवर्तन पार्टी, सुशान्त साम्पाङ राईले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका छन् । नेकपा माओवादीले सञ्जय राई र पिपुल फर्स्ट पार्टीले धर्मराज गुरागाईंलाई उम्मेदवार बनाएको छ । अर्जॅन सापकोटा, खेमनाथ शिवाकोटी, डम्बर साहु, पुस्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाईं र शोभा भण्डारी स्वतन्त्र उम्मेदवार छन् ।
०००
सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङसहित २६ उम्मेदवार छन् । त्यसमा १९ जनाले राजनीतिक दलबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यति धेरै उम्मेदवार भए पनि चुनावी चर्चा साम्पाङकै वरिपरि केन्द्रित देखिन्छ तर अरू पार्टीका उम्मेदवार पनि सशक्त छन् ।
यहाँ रास्वपाले गएको निर्वाचनमा ४ सय ५३ मतले मात्र पराजित भएकी गोमा तामाङ (सरिन) लाई नै यसपालि पनि उम्मेदवार बनाएको छ । तामाङले २०७९ को निर्वाचनमा १६ हजार ६ सय ६ मत ल्याउँदा विजेता जसपा नेपालका अशोककुमार राईले १७ हजार ५९ मत पाएका थिए । तामाङ इजरायलमा ‘केयर गिभर’ का रूपमा १४ वर्ष रोजगारी गरेर ६ वर्षअघि फर्किएकी हुन् । त्यसपछि उनी सामाजिक कार्यमा सक्रिय भइन् । आफूलाई समलिंगी पुरुषका रूपमा चिनाउँछिन् ।
नेकपाका उम्मेदवार सूर्यप्रसाद भट्टराई (मनोज) धरान–१७ का पूर्ववडाध्यक्ष हुन् । लगातार दुई कार्यकाल वडाध्यक्ष जितेका उनी राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । भट्टराई २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन माओवादीमा आबद्ध भएका थिए । उनी भन्छन्, ‘जसको एजेन्डा बलियो छ र जसले जनताको मन जित्न सक्छ, उही निर्वाचित हुन्छ । मेरो प्रतिस्पर्धा हर्क साम्पाङसँग मात्र होइन, सबै उम्मेदवारसँग हो ।’
कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले पार्टीको क्षेत्रीय सभापति हुन् । उनीसँग क्षेत्रीय कोषाध्यक्ष, क्षेत्रीय सचिव, जिल्ला सचिवजस्ता जिम्मेवारी वहन गरेको अनुभाव छ । लामो समयदेखि पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय रहेका कारण आफूले चुनाव जित्ने उनको दाबी छ । ‘म चर्चित हुनेभन्दा पनि आफ्नो एजेन्डा बोकेर जनतामाझ जाने गरेको छु,’ उनी भन्छन् ।
एमालेले ४२ वर्षीय टीकाराम माङ्लेन लिम्बूलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य भइसकेका उनले २०६४ मा एमाले धरान–१० को सचिव भएर पार्टी राजनीति थालेका थिए । उनी २०७७ देखि जिल्ला कमिटी सदस्य छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जिल्ला अध्यक्ष राजकुमार लिम्बू उम्मेदवार छन् । ३१ वर्षका उनी भन्छन्, ‘सामाजिक सञ्जालमा चर्चित हुँदैमा चुनाव जितिन्छ भन्ने हुँदैन । मतदाताले एजेन्डा, इमानदार र काम गर्ने नेता खोज्छन् ।’
जसपाले सञ्जय राईलाई उम्मेदवार बनाएको छ । एमालेबाट राजनीति सुरु गरेका उनी पछि जसपामा प्रवेश गरेका हुन् । अहिले उनी पार्टीको मुख्य सचिवको जिम्मेवारीमा छन् । राई भन्छन्, ‘ठूला दल र सामाजिक सञ्जालको प्रभावका कारण राम्रा एजेन्डा बोकेका उम्मेदवार पछाडि परिरहेका छन् । साना दलका एजेन्डा सार्वजनिक बहसमा आउन सकेका छैनन् ।’
संयुक्त नागरिक पार्टीबाट केन्द्रीय उपमहासचिव नरेश विक चुनावी मैदानमा छन् । ‘हेभिवेट र चर्चाले मात्र चुनाव जित्न सकिँदैन, जनतासम्म पुग्नैपर्छ,’ ४० वर्षीय उनी भन्छन्, ‘शिक्षा, स्वास्थ्य, यातायात, सुशासन र दलित समुदायका मुद्दा बोकेर हामी प्रचारमा लागिरहेकै छौं ।’
५६ वर्षीय स्वतन्त्र उम्मेदवार देउमान लिम्बूले शान्ति, समृद्धि र सुशासनको स्वतन्त्र महाअभियानलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् । चुनावी चर्चा निश्चित उम्मेदवारमा केन्द्रित भएकामा उनको गुनासो छ । भन्छन्, ‘सामाजिक सञ्जालमा चर्चित र चुनावी प्रचार नभएकाले हाम्रो एजेन्डा जनतामाझ पुग्न सकेको छैन ।’
सुनसरी–१ मा नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, राप्रपाबाट उद्धव श्रेष्ठ, जसपा नेपालबाट नगेन्द्रबहादुर लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ, राष्ट्रिय साझा पार्टीबाट भूपी राई, नेकपा माओवादीबाट दिलकुमार बाँस्तोला उम्मेदवार छन् । नेपाल जनमुक्ति पार्टीले यामबहादुर लिम्बू, आम जनता पार्टीले रामबहादुर विष्ट, मितेरी पार्टीले रक्षकुमार राई र नेपाली जनश्रमदान सांस्कृतिक पार्टीले राजकुमार राईलाई उम्मेदवार बनाएका छन् । ओमकृष्ण उदास, चेतबहादुर राई, जीवनकला राई, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा र सुमित राईले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
०००
सप्तरी–२ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतले २०७९ मा प्रतिस्पर्धा गरेको क्षेत्र हो । त्यतिबेला चुनाव जितेका राउतले यस पटक पनि यही क्षेत्रमा उम्मेदवारी दिएका छन्, यादव भने सप्तरी–३ मा प्रतिस्पर्धी छन् ।
स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका सतिशकुमार सिंह पूर्वमुख्यमन्त्री हुन् । सीके राउतको जनमत पार्टी छाडेर र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उनले आफैं नयाँ दल खोलेका हुन् ।
२०५३ मा तत्कालीन सद्भावना पार्टीको विद्यार्थी संगठनबाट राजनीति थालेका सिंह पछि राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेर जिल्ला अध्यक्ष भए, मधेशकेन्द्रित ६ दल मिलेर राजपा गठन भएपछि पनि जिल्ला अध्यक्ष भए ।
राजपाबाट उनी तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा २०७४ मा निर्वाचित भए । २०७९ मा पुनः राजपाबाटै पालिका अध्यक्षमा उम्मेदवार थिए तर पराजित भए । लगत्तै जनमत पार्टी प्रवेश गरेर प्रदेशसभा सदस्य भएका थिए । त्यसपछि मधेश प्रदेशसभामा अर्थ तथा योजना समितिको सभापति हुँदै २०८० मा मुख्यमन्त्री भए ।
उज्यालो नेपाल पार्टीले नेतृत्व र सुशासनमा विद्यावारिधि गरेका दीपक चौधरीलाई उम्मेदवार बनाएको छ । उनी लामो समय विद्युत् क्षेत्रमा काम गरेका नेता हुन् । उनी आफूलाई विकासविद्का रूपमा चिनाउँछन् । उनी भन्छन्, ‘पुराना दल र नेताबाट सर्वसाधारण आजित भइसके, म चुनाव जित्छु ।’
रास्वपाले इन्जिनियर रामजी यादवलाई टिकट दिएको छ । उनले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७३ मा राजनीतिक यात्रा थालेका थिए । ‘नयाँ/पुराना अनुहारभन्दा पनि यहाँ सही/गलतको कुरा छ,’ उनी भन्छन्, ‘चुनावी भेटघाटमा जनताको अथाह माया पाइरहेको छु । जनताले जिताउने विश्वास छ ।’
नेकपाले सप्तरी–२ मा सूर्यनाथ प्रसाद यादवलाई प्रतिस्पर्धामा उतारेको छ । २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा थालेका उनी २०६३ मा तत्कालीन माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बनेका थिए । पछि संविधानसभा सदस्य भए ।
यहाँ जनअधिकार पार्टीबाट शरदसिंह यादव उम्मेदवार छन् । उनको राजनीतिक यात्रा २०६८ मा तत्कालीन सद्भावना पार्टीबाट सुरु भएको हो । त्यस पार्टीमा उनी केन्द्रीय सदस्य बनेका थिए । पार्टी समायोजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा केन्द्रीय सदस्य भए । जनमत पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । अहिले अर्को पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
जसपा नेपालले उमेशकुमार यादवलाई उठाएको छ । पुस दोस्रो साताअघि उनी नेकपामा थिए । उनी २०७० को संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट विजयी भएका थिए । २०७४ मा भने जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए । २०७९ मा सप्तरी २(२) बाट प्रदेशसभा सदस्यमा उठ्दा जनमत पार्टीका महेश यादवबाट पराजित भएका थिए ।
एमालेले मोहम्मद जियाउल रहमानलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । २०६७ मा अनेरास्ववियुका जिल्ला कमिटी सदस्य भएका थिए । कांग्रेसबाट रामकुमार यादव, जनता लोकतान्त्रिक पार्टीबाट बलरामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिश अन्सारी, राष्ट्र निर्माण दल नेपालबाट अफरोज आलम उम्मेदवार छन् ।
नेपाल जनता पार्टीबाट रञ्जुकुमारी झा (ठाकुर), नेपाल संघीय समाजवादी पार्टीबाट राजकुमार मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीबाट नीलमकुमारी यादव, सार्वभौम नागरिकबाट दीपककुमार मण्डल र आम जनता पार्टीबाट सुनीलराज दास चुनावी मैदानमा छन् । नेपालका लागि नेपाली पार्टीले इन्द्रसागर गुप्ता र श्रम संस्कृति पार्टीले त्रिभुवन खंगलाई उम्मेदवार बनाएका छन् ।
स्वतन्त्र रूपमा जितेनकुमार यादव, पारसमणि यादव, सञ्जयकुमार चौधरी, अभिनाशकुमार सिंह, प्रेमकुमार यादव, विशेश्वर यादव, रामविलास ठाकुर, विनोदानन्द झा, सन्तोषकुमार रजक, साधना दास, विन्दुकुमारी चौधरी, सुशीलाकुमारी साह, किसुनदेव राम र अम्बिकादेवी साफीले उम्मेदवारी दिएका छन् ।
०००
निर्वाचन क्षेत्र फेर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि सप्तरी–३ चर्चामा छ । २०७९ मा सप्तरी–२ मा पराजित भएपछि यादव २०८० को उपनिर्वाचनमा बारा–२ बाट विजयी भएका थिए । सप्तरी–३ मा अहिले उनीसहित २२ उम्मेदवार छन् ।
कांग्रेसले २०७९ मा निर्वाचित दिनेशकुमार यादवलाई नै यसपालि पनि उम्मेदवार बनाएको छ । उनी २०३७ मा नेविसंघको जिल्ला सभापति बनेका थिए । २०४२ को सत्याग्रहमा सहभागी भएका उनी २०४९ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५४ मा तत्कालीन जिल्ला विकास समिति सभापति भए । पटकपटक चुनाव लड्दै आएका उनी २०७९ मा यस क्षेत्रबाट विजयी भएका थिए ।
एमालेबाट पनि पुरानै उम्मेदवार ताराकान्त चौधरी दोहोरिएका छन् । उनी २०४२ मै तत्कालीन मालेबाट राजनीतिमा सक्रिय भएका हुन् । उनले २०७० मा एमालेबाट संविधानसभा सदस्यको चुनाव जितेका थिए । उनी २०७४ र २०७९ मा पराजित भएका थिए । २०७९ मा कांग्रेसका यादव २६ हजार १ सय ६६ मत ल्याएर विजयी हुँदा चौधरीले २२ हजार ३ सय मत पाएका थिए । त्यतिबेला कांग्रेस, माओवादीलगायत दलको गठबन्धन थियो । चौधरी यसपालि भने नतिजा आफ्नो पक्षमा पार्ने दाबी गर्छन् ।
यहाँ रास्वपाबाट अमरकान्त चौधरी उम्मेदवार छन् । उनी २०७४ मा तत्कालीन राजपाबाट सप्तरी–३ मै चुनाव जितेका चन्द्रकान्त चौधरीका छोरा हुन् । अमरकान्तले पनि २०७४ देखि तत्कालीन राजपाबाटै राजनीतिक यात्रा सुरु गरेका थिए । यसपालिको चुनावमा पुराना र परिचित अनुहारका नेताका कारण आफू केही ओझेलमा परे पनि चुनाव जित्ने उनको दाबी छ ।
डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा उजुरी परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमरकान्तलाई बिहीबार बयानमा बोलाएको छ ।
नेकपाबाट अरुणकुमार साह उम्मेदवार छन् । उनले २०५६ मा तत्कालीन माओवादीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । ‘जनताले चाहेको युवा नेतृत्व हो, जनताले जिताउने कुरामा ढुक्क छु,’ उनी भन्छन् ।
राप्रपाबाट उम्देश्वरप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्रकुमार मण्डल, जनमत पार्टीबाट सुरेन्द्रप्रसाद शर्मा, श्रम संस्कृति पार्टीबाट जयनारायण मण्डल उम्मेदवार छन् । यस्तै, आम जनता पार्टीबाट धनिकलाल चौधरी, उज्यालो नेपाल पार्टीबाट परमेश्वरलाल साह, नेपाल मजदुर किसान पार्टीबाट प्रभुप्रसाद साह, बहुजन एकता पार्टी नेपालबाट महादेव राम, नेपाल जनता पार्टीबाट सन्तोषकुमार चमनले उम्मेदवारी दिएका छन् ।
हरिनारायण पासमान, सरिताकुमारी यादव, रजियादेवी सदा, प्रभुनारायण चौधरी, ओमप्रकाश विश्वकर्मा, कोशिलादेवी, कौशलकुमारी चौधरी र दुवीलाल यादव भने स्वतन्त्र उम्मेदवार हुन् ।
०००
कांग्रेस सभापति गगन थापा र रास्वपा नेता अमरेश सिंह आमनेसामने भएको सर्लाही–४ मा एमालेका अमनिशकुमार यादवलाई कम आँक्न नमिल्ने मतदाताहरू बताउँछन् । २७ वर्षीय अमनिश पूर्वसांसद शिवपूजन यादवका छोरा हुन् ।
२०६४ को संविधानसभा निर्वाचनमा शिवपूजनले मधेशी जनअधिकार फोरमबाट उठेर तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तत्कालीन कांग्रेस नेता अमरेश सिंहलाई हराएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शिवपूजन तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार भए तर चुनाव जितेनन् । राहदानी मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका कारण प्रतिस्पर्धा गर्न नपाउने भएपछि उनले छोरा वा छोरीलाई अघि सार्दै आएका छन् ।
शिवपूजनकी छोरी मधुमालाकुमारी २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर १४ हजार ६ सय २२ मत ल्याएर तेस्रो भएकी थिइन् । अहिले पनि उनले स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेकी छन् । तर उनको मनोनयन अमनिशलाई सहयोग पुग्ने गरी चुनावमा गाडी र बुथ एजेन्टको सुविधा लिन मात्र भएको शिवपूजन बताउँछन् ।
सर्लाही क्याम्पसमा अध्ययनरत अमनिश जेन–जी आन्दोलनपछि मात्र राजनीतिमा सक्रिय भएका हुन् । नेकपाले टिकट नदिएपछि एमाले प्रवेश गरेर शिवपूजनले छोराका लागि टिकट लिएका हुन् । सर्लाही–४ मा शिवपूजनको बलियो ‘भोट बैंक’ रहेको एमाले नेताहरू दाबी गर्छन् । शिवपूजनका कान्छा छोरा राजाबाबु यादव रामनगर गाउँपालिकाको अध्यक्ष छन् ।
यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट रामेश्वर राय यादव उम्मेदवार छन् । उनी लामो समय नेपाल सद्भावना पार्टीमा सक्रिय थिए । २०४१ मा राजनीतिमा प्रवेश गर्नुअघि उनी शाखा अधिकृत थिए । जागिरे जीवनका क्रममा सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहसँग भेट भएपछि उनी राजनीतिमा लागेका हुन् । सद्भावनामा सहअध्यक्षसम्म भए । २०४८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । २०५२ मा समाजकल्याण र वनमन्त्री भए । २०६४ को निर्वाचनमा उनी मधेशी जनअधिकार फोरमबाट चुनाव लडेर पराजित भए । २०७० मा उनी उम्मेदवार थिएनन् । २०७४ मा सर्लाही–३ मा तत्कालीन माओवादीबाट विजयी भए । उनी २०७६ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत भएका थिए । रामेश्वर गत ४ माघमा नेकपा छाडेर जसपामा प्रवेश गरेका हुन् । रामेश्वर राय भन्छन्, ‘म मतदाताका लागि परिचित अनुहार हुँ । संगठन र मतका हिसाबले पनि बलियो छु ।’
नेकपाका उम्मेदवार रजनीश राय एमबीबीएस डाक्टर हुन् । उनी बंगलादेशको ढाका विश्वविद्यालयमा एमडी पढ्दापढ्दै उम्मेदवार बन्न घर आएका हुन् । पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले आफू राजनीतिमा आएको रजनीश बताउँछन् । उनकी आमा अनिता यादव २०७४ र २०७९ मा माओवादीबाट गोडैता नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । २०७९ को प्रदेशसभा निर्वाचनमा भने उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी तीन वटै चुनावमा पराजित भएकी थिइन् ।
जनमत पार्टीबाट पूर्वपत्रकार राकेशकुमार मिश्रले उम्मेदवारी दिएका छन् । उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट भाग लिएर दोस्रो मत ल्याएका थिए । २०७९ मा पार्टी बदल्दै जसपाको उम्मेदवार बनेका थिए, त्यति बेला उनी ५ हजार ८ सय १३ मतसहित चौथो भएका थिए । यस पटक उनले पार्टी फेरेर टिकट लिएका हुन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार पीताम्बरसिंह कुशवाहा अमेरिकाको पर्ड्यॅ विश्वविद्यालबाट अध्ययन गरेका ख्यातिप्राप्त पशु चिकित्सक हुन् । उनी जेन–जी आन्दोलनबाट उठेको जनआक्रोशलाई सकारात्मक दिशामा रूपान्तरण गर्न आफूले उम्मेदवारी दिएको बताउँछन् ।
राष्ट्रिय मुक्ति नेपालबाट उदयकान्त मिश्र उम्मेदवार छन् । उनी २०७९ मा जसपाबाट सर्लाही–४ (२) को उम्मेदवार थिए । उनले हालै मात्र पार्टी परिवर्तन गर्दै राष्ट्रिय मुक्ति नेपालबाट टिकट लिएका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रामचरित्र सहनी पूर्वशिक्षक हुन् । आम जनता पार्टीले रिंकुकुमारी साहलाई प्रतिस्पर्धामा उतारेको छ । ४० वर्षीया साह सामाजिक अभियन्ता हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट रामनाथप्रसाद साह र बहुजन एकता पार्टी नेपालबाट हरिनन्दनकुमार रञ्जन पनि प्रतिस्पर्धामा छन् ।
अरविन्दकुमार ठाकुर, रामप्रवेश यादव, ज्ञानेन्द्रप्रसाद कुशवाहा, सञ्जीवकुमार पासवान, रमण मिश्र, सुलपानी झा, जयशंकरसिंह कुशवाहा, निलेशकुमार यादव, विक्रम यादव, अमितरञ्जन सिंह, अम्बुजप्रसाद साह, नरेन्द्रप्रसाद सिंह, लखेन्द्र महतो र अजय ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै, सन्तोषकुमार निषाद, सचित्र सहनी, गनेशप्रसाद सिंह, कमलेश मण्डल, चुनचुन भण्डारी, शिवप्रसाद साह, मधुमालाकुमारी यादव, छोटेलालकुमार यादव, मुकेशप्रसाद कुशवाहा, महेश मण्डल धानुक र धीरज ठाकुर पनि स्वतन्त्र उम्मेदवार हुन् ।
०००
रौतहट–१ मा नेकपाबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार छन् । उनलाई टक्कर दिन अन्य दलले प्रभावशाली उम्मेदवारहरू नै उतारेका छन् ।
एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्तालाई अघि सारेको छ । गुप्ताले २०५३ मा सद्भावना पार्टीको भ्रातृ संगठन विद्यार्थी मञ्चको सदस्यता लिएर राजनीति यात्रा थालेका थिए । मञ्चमा उनी केन्द्रीय महासचिवसम्म भए, सद्भावना पार्टीमा जिल्ला सचिवसम्म बने ।
राजाको शासनकालमा २०६२ मा उनी गौर नगरपालिकाको प्रमुख भए । २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष भए । २०७४ मा एमाले प्रवेश गरेर गौर नगरपालिकाको नगरप्रमुख भए । अहिले उनी एमालेका केन्द्रीय सदस्य छन् ।
फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बेला गुप्ता एमालेका तत्कालीन नेता नेपालसँग ३ सय ३८ मतान्तरले पराजित भएका थिए । २०७९ को निर्वाचनमा गुप्ता एमालेबाट उम्मेदवार थिए, एकीकृत समाजवादीबाट उम्मेदवार बनेका नेपालसँग ६ हजार ६ सय मतान्तरले पराजित भए । गुप्ता यस पटक नतिजा उल्टाउने दाबी गर्छन् । भन्छन्, ‘म सधैं जनताकै साथमा छु, यस पटक बाजी मार्छु ।’
यस क्षेत्रमा ‘सरप्राइज’ उम्मेदवारी अनिलकुमार झाको छ । पूर्वमन्त्रीसमेत रहेका झाले निर्वाचनको मुखैमा कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उठेर कांग्रेसका कृष्णप्रसाद यादव (हाल मधेश प्रदेशका मुख्यमन्त्री) लाई उनले ५ हजार ५ सय ९८ मतले पराजित गरेका थिए । २०४६ बाट सक्रिय राजनीतिमा रहेका झालाई २०६४ मा सद्भावना पार्टीले समानुपातिकबाट संविधानसभा सदस्य बनाएको थियो । उनी संघीय सरकारमा दुई पटक मन्त्री भएका थिए ।
जसपा नेपालका योगेन्द्र राय यादव पनि सशक्त मानिन्छन् । उनी २०५७ मा सद्भावनाको भ्रातृ संगठन विद्यार्थी मञ्चको कार्यवाहक अध्यक्ष भएका थिए । २०६७ मा तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री हुँदा उनी प्रमुख स्वकीय सचिव भए । २०६७ को जनकपुर महाधिवेशनमा योगेन्द्र यादव राय फोरमको भ्रातृ संगठन मधेशी युवा फोरमको केन्द्रीय अध्यक्षसमेत भए ।
उनले संघीय समाजवादी फोरमबाट २०७४ को प्रदेशसभा सदस्य निर्वाचन जितेका थिए । त्यति बेला मधेश प्रदेशमा भूमिमन्त्री भएका थिए । २०७९ को प्रदेशसभा निर्वाचनमा भने उनी तेस्रो भए । यादव बाहुल्य क्षेत्रमा जातीय मत पाए नतिजा उनको पक्षमा जान सक्ने उनीनिकट नेताहरू बताउँछन् ।
जनमत पार्टीले देवेन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ । मिश्र २०४८ मा यसै क्षेत्रबाट उम्मेदवार थिए तर तेस्रो भए । उनी लामो समय मधेशकेन्द्रित दलमा रहेर संगठन विस्तारमा सक्रिय थिए ।
रास्वपाबाट राजेश चौधरी मैदानमा छन् । उनले २०४६ सालमा कांग्रेसबाट राजनीति सुरु गरेका थिए । २०७४ मा प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट प्रतिस्पर्धा गरेका थिए । २०७९ मा प्रदेशमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए । त्यसपछि निष्क्रिय रहे । २०७९ मा रास्वपा प्रवेश गरेर यस पटक उम्मेदवारी दिएका हुन् । उनी व्यापारिक घरानाका नेता हुन् ।
यस क्षेत्रमा २१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसमा राजुकुमार मुखिया, मुनिन्द्रकुमार ठाकुर, श्यामबाबु प्रसाद, इन्दुदेवी गुप्ता, शम्भु प्रसाद, लक्ष्मेश्वरनारायण साह, विवेक चौधरी, रामसेवक राय, रामनरेश राय यादव र सञ्जीवकुमार यादव छन् । मृणालकुमार शाह, अमृताकुमारी यादव, रामकृत साह, रामानन्द शर्मा, राधेश्याम साह तेली, सरोजकुमार कुशवाहा, रवि अर्चनम् वर्मा, अभिषेक मिश्र, दिनेश राय, दिनेशकुमार यादव र रामकिशोर ठाकुरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
०००
रास्वपा सभापति रवि लामिछानेले लगातार दुई पटक (२०७०, २०८०) चुनाव जितेको चितवन–२ मा कांग्रेसले सामाजिक अभियन्ता मीनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ । उनी लामो समयदेखि महिला सशक्तीकरण, महिला तथा बालबालिकाको अधिकार र सामाजिक सेवाका क्षेत्रमा सक्रिय छिन् । चितवनका ग्रामीण तथा सहरी समुदायमा उनी परिचित छिन् । उनले १३/१४ वर्षको उमेरमा पञ्चायतका गलत कदमविरुद्ध आवाज उठाएकी थिइन् ।
२०४४ सालमा चितवनमा पञ्चायतले विद्यालय शुल्क तोकेपछि घटाउनुपर्छ भन्ने आन्दोलनको नेतृत्व खरेलले नै गरेकी थिइन् । उनी वीरेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको अध्यक्ष भइन् । चितवन कांग्रेस जिल्ला कार्यसमिति सदस्य र महासमिति सदस्यसमेत बनिन् । ५३ वर्षीया खरेलले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
एमालेले ३८ वर्षीय अस्मिन घिमिरेलाई प्रतिस्पर्धामा उतारेको छ । सप्तगण्डकी क्याम्पसबाट स्नातकोत्तर गरेका घिमिरे पार्टीको बागमती प्रदेश कमिटी सदस्य हुन् । उनी राष्ट्रिय युवा परिषद्को चितवन जिल्ला अध्यक्ष भइसकेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विभिन्न पदमा रहेर काम गरेका उनी युवा संघमा पनि थिए ।
३४ वर्षका मिलन थापा मगर चितवन–२ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार छन् । नेपाल मगर संघ र मगर विद्यार्थी संगठनमा सक्रिय रहँदै आएका मिलन दुई महिनाअघि श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन् । उनी पार्टीका जिल्ला उपाध्यक्ष हुन् ।
एमबीए गरेका मगरले रिडी शप एन्ड केमिकल इन्डस्ट्रिज सञ्चालन गरेका छन्, जसले साबुन उत्पादन गर्छ ।
नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । ४२ वर्षीय गुरुङ २०५२ मै तत्कालीन माओवादीमा आबद्ध भएका थिए । २०५५ देखि २०५८ सालसम्म माझगाउँ माध्यमिक विद्यालयमा अध्यापन गरे । २०५८ मा चितवन जिल्लाको ‘जनसरकार सदस्य’ बनेका उनी पक्राउ परेर करिब १४ महिना जेल बसे । २०७४ मा उनी इच्छाकामना गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका थिए तर पराजित भए । हाल उनी नेकपाको बागमती प्रदेश सचिवालय सदस्य छन् ।
शोभा बासुकला नेमकिपाबाट उम्मेदवार छिन् । ३६ वर्षीया उनी भक्तपुरकी बासिन्दा हुन् । शोभा २०६८ सालदेखि नेमकिपाको राजनीतिमा संलग्न छिन् । ‘पार्टी वा उम्मेदवार छान्ने आधार ठूलो वा सानो भनेर हेर्ने हैन, सिद्धान्त र विचार हेर्नुपर्छ । हामी सिद्धान्त र कार्यक्रमसहित जनतामा जानेछौं,’ उनी भन्छिन् ।
चितवन–२ मा ६ स्वतन्त्रसहित २३ उम्मेदवार छन् । यहाँ राप्रपाले जगदीश्वर अधिकारी, जसपा नेपालले कमानसिंह चौधरी, जनमत पार्टीले निर्मलाकुमारी ठाकुर, राष्ट्रिय जनमोर्चाले देवी शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रकाशबहादुर पाण्डे र मंगोल नेसनल अर्गनाइजेसनले ऋषा गोलेलाई उठाएका छन् । नेसनल रिपब्लिक नेपालबाट शक्तिराज गुरुङ, नेकपा माओवादीबाट दिर्शनाकुमारी शाही र उज्यालो नेपाल पार्टीबाट निखिल कुमार पाख्रिन उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीले सुवास महतो र आम जनाता पार्टीले देवीकुमारी मगरलाई उम्मेदवार बनाएका छन् । इन्द्रबहादुर स्याङताङ, प्रतापसिंह तमाङ, रवि कुमाल, प्रवीन सापकोटा, कृष्णप्रसाद चापागाईं र शंकुप्रसाद जैसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
०००
नेकपाकी रेनु दाहाल, रास्वपाकी सोविता गौतमलगायतसँग प्रतिस्पर्धाका लागि कांग्रेसले चितवन–३ मा टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । ७७ वर्षका गुरुङ यस क्षेत्रका २३ उम्मेदवारमध्ये जेठा हुन् ।
उनी २०२६ वैशाखमा तत्कालीन शारदानगर गाउँ पञ्चायतको वडा ३ को अध्यक्षमा निर्वाचित भएका थिए, २०२९ मा प्रधानपञ्च निर्वाचित भए । २०३५ मा शिवनगरको प्रधानपञ्च भए । त्यही साल उनी जिल्ला पञ्चायत सभापति बने । जनमत संग्रहका बेला प्रजातन्त्र पक्षधर भएको आरोप लगाउँदै उनलाई निलम्बन गरिएको थियो तर २०३९ मा उनी फेरि जिल्ला पञ्चायत सभापति चुनिए । गुरुङ २०४४ सालमा पनि जिल्ला पञ्चायत सभापति भए ।
गुरुङ २०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा उम्मेदवार भएका थिए तर पाँचौं मत ल्याएका कारण चुनिन सकेनन् । २०५१ को प्रतिनिधसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्दा पराजित भए । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि उठेका थिए, जित्न सकेनन् ।
चितवन–३ मा एमालेका उम्मेदवार हुन् शंकर थपलिया । उनी एमाले भरतपुर महानगर समितिका अध्यक्ष र पटिहानी पर्यटन विकास समितिका अध्यक्ष हुन् । उनीसँग ३५ वर्ष लामो राजनीतिक अनुभव छ ।
राष्ट्रिय जनमोर्चाले कृष्णबहादुर केसीलाई उम्मेदवार बनाएको छ । २०२६ मा जन्मेका केसी २०४५ मा रोजगारीका लागि भारत पसेपछि पार्टी राजनीतिमा सामेल भएका थिए । उनी नेकपा मसालनिकट अखिल भारत नेपाली एकता समाजमा आबद्ध थिए । यूएई गएपछि पनि त्यही संगठनमा क्रियाशील रहे । केसीले धौलागिरी योग विज्ञान साधना केन्द्र सञ्चालन गरेर योग प्रशिक्षण पनि दिँदै आएका छन् ।
चितवन–३ मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ३६ वर्षका आशिकप्रसाद महतोलाई उम्मेदवार बनाएको छ । माडी–४ खैरहनीका महतो १५ वर्षदेखि पार्टीमा आबद्ध छन् । विज्ञानमा स्नातक गरेका उनले माडी दिवाकर स्मृति विद्यालयमा नौ वर्ष पढाएका थिए ।
यहाँ राप्रपाले दीपक थापा मगर, जसपा नेपालले थमनसिङ सुनार, नेमकिपाले बद्रीलक्ष्मी कवाँ, प्रगतिशील लोकतान्त्रिक पार्टीले बुद्धिराज तामाङ, मंगोल नेसनल अर्गनाइजेसनले टेकप्रसाद तामाङ, नेकपा संयुक्तले जितबहादुर विक र राष्ट्रिय नागरिक पार्टीले विजन गुरुङलाई उम्मेदवार बनाएका छन् ।
नेसनल रिपब्लिक नेपालबाट सेतीमाया तामाङ, श्रम संस्कृति पार्टीबाट तोजमान गुरुङ, उज्यालो नेपाल पार्टीबाट डम्बरबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टी नेपालका हरिमाया महतो उम्मेदवार छन् । कृष्णप्रसाद अधिकारी, रञ्जना पौडेल, इन्द्रमाया पौडेल, रोलबहादुर गुरुङ, मधुमाया अधिकारी र पार्वती पौडेल काफ्ले स्वतन्त्र उम्मेदवार हुन् ।
०००
लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उम्मेदवारी दिएका कारण काठमाडौं–३ आम चासोमा छ । उनी आफ्नै नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् ।
तुलनात्मक रूपमा कम चर्चामा देखिएका अन्य उम्मेदवारले यस क्षेत्रमा बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । कांग्रेसबाट रमेश अर्याल उम्मेदवार छन् । उनी २०७४ मा गोकर्णेश्वर–६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
एमाले उम्मेदवार रामेश्वर फुयाल २०७९ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए । २०७० मा फुयालले ठकुरीलाई पराजित गरे । फुयाल आलापोटका पूर्वगाविस अध्यक्ष हुन् ।
रास्वपाबाट राजुनाथ पाण्डेले उम्मेदवारी दिएका छन् । उनी केही साताअघिसम्म काठमाडौं महानगरपालिकामा महानगर प्रहरी प्रमुख थिए । उनी राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।
यहाँ नेकपाबाट नीरज लामा, राप्रपाबाट सुन्दरराम बोहरा, जसपा नेपालबाट प्रनिलध्वज कार्की, नेमकिपाबाट मदन श्रेष्ठ उम्मेदवार छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शेखर अर्याल, मंगोल नेसनल अर्गनाइजेसनबाट कुलबहादुर लामा, नेकपा संयुक्तबाट बाबुकाजी कार्की, नेसनल रिपब्लिक नेपालबाट प्रेमछिरिङ शेर्पा र श्रम संस्कृति पार्टीबाट सुवास घिसिङले उम्मेदवारी दिएका छन् । मितेरी पार्टी नेपालले जितबहादुर तामाङ, नेकपा माओवादीले शेखरनाथ आचार्य र आमजनता पार्टीले रूपसागर देवीलाई उठाएका छन् । केशव नेपाल, प्रदीप काफ्ले, रामकृष्ण पुजारी, श्रीकृष्ण बराल, सज्जन आचार्य र सुरेशकुमार ढुंगाना भने स्वतन्त्र उम्मेदवार हुन् । काठमाडौं–३ मा २०७४ मा एमाले र २०७९ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
०००
१० वैशाख २०८० को उपनिर्वाचनमा चुनाव जितेका रास्वपा उपसभापति स्वर्णिम वाग्ले फेरि उम्मेदवार बनेका कारण तनहुँ–१ चर्चामा छ । यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसबाट रामचन्द्र पौडेलले जितेका थिए । उनी राष्ट्रपति भएपछि उपनिर्वाचन गराइएको थियो । अहिले राजनीतिक दलका १३ र स्वतन्त्र ३ गरी १६ उम्मेदवार छन् ।
एमालेबाट उम्मेदवार बनेकी भगवती न्यौपाने पूर्वमन्त्री एवं राष्ट्रिय सभाकी पूर्वसदस्य हुन् । उनी जेन–जी विद्रोहले ढलेको ओली सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिइन् । २०७४ को निर्वाचनमा उनी भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । न्यौपानेसँग अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, अनेम संघ तनहुँको दुई कार्यकाल अध्यक्ष र पार्टीको जिल्ला सचिव भएको अनुभव छ । उनी अहिले एमाले केन्द्रीय सदस्य छिन् ।
कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई नेविसंघका पूर्वअध्यक्ष हुन् । उनी २०८० को उपनिर्वाचनमा रास्वपाका वाग्लेसँग पराजित भएका थिए । कांग्रेसको केन्द्रीय राजनीतिमा पहुँच राख्न सक्ने उनी बौद्धिक रूपमा अब्बल मानिन्छन् ।
नेकपाका उम्मेदवार विद्यानाथ ढकाल पूर्वएमाले नेता हुन् । पार्टी विभाजनपछि उनी एकीकृत समाजवादीमा गएका थिए । उनी २०७९ मा तनहुँ १(१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए तर चुनाव जित्न सकेनन् । स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशी कांग्रेसका पुराना नेता गोविन्दराज जोशीका छोरा हुन् । दीपकराज २०७९ को निर्वाचनमा स्वतन्त्र रूपमै व्यास नगरपालिकाको मेयरमा उठेर पराजित भएका थिए ।
यस क्षेत्रमा नेकपा माओवादीबाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आम जनता पार्टीबाट चिजा थापा अधिकारी, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना र नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, नेसनल रिपब्लिक नेपालबाट सुमन थापा मगरले उम्मेदवारी दिएका छन् । तनहुँ–१ मा जोशीसँगै सन्देश रानाभाट लौडारी र लेकनाथ खनाल स्वतन्त्र उम्मेदवार छन् ।
रुकुम पूर्वमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र अन्य १२० दलका उम्मेदवार छन् । कांग्रेसबाट उम्मेदवार बनेकी कुसुमदेवी थापा २०७९ मा समानुपातिकतर्फबाट सांसद भएकी थिइन् । उनी कांग्रेसमा केन्द्रीय सदस्य छिन् । लामो समय पार्टीका विभिन्न संगठनमा रहेर काम गरेको अनुभव उनीसँग छ ।
एमालेबाट लीलामणि गौतम उम्मेदवार छन् । उनी एमाले रुकुम पूर्वका पूर्वजिल्ला अध्यक्षसमेत हुन् । उनी गत मंसिरको महाधिवेशनमा युवा ‘क्लस्टर’ बाट सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा होटल व्यवसायी हुन् । उनको सक्रिय राजनीति रास्वपाबाट सुरु भएको हो । उनी पार्टीका जिल्ला सभापति पनि हुन् ।
सशस्त्र द्वन्द्वका बेला बा–आमा गुमाएका सन्दीप पुनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका छन् । उनी तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उपाध्यक्ष बनेका थिए । २८ वर्षीय पुन अहिले प्रलोपाका केन्द्रीय सदस्य छन् ।
यहाँ राप्रपाबाट रोषण शाह, राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, मंगोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा उम्मेदवार छन् । यस्तै, जुद्धबहादुर बुढा मगरले नेकपा माओवादी र शिरबहादुर बुढाले जसपाबाट मनोनयन दर्ता गरेका छन् ।
पर्वत पोर्तेल (विराटनगर), एलिना राई (धरान), विद्यानन्द राम (सप्तरी), शिव पुरी (रौतहट), रमेशकुमार पौडेल (चितवन), सम्झना रसाइली (तनहुँ), महेश केसी (रुकुम पूर्व) र दुर्गा दुलाल (काठमाडौं)
