रौतहट–३ : पाँचौं पटक जोगिएला प्रभुको ‘प्रभुत्व’ ?

आजपा अध्यक्ष प्रभु साहका प्रतस्पर्धी छन्, कांग्रेसका रामकृपालप्रसाद यादव, एमालेका कुन्दनप्रसाद कुशवाहा, नेकपाका पुनमदेवी यादव, रास्वपाका रवीन्द्र पटेल, जनमतका शेख प्रवेज आलम र जसपाका गोविन्द चौधरी

माघ २३, २०८२

शिव पुरी

Rautahat-3: Will the Lord's 'dominion' be preserved for the fifth time?

What you should know

रौतहट — रौतहट–३ मा पाँचौं पटक चुनावी मैदानमा छन्, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह । २०६४ यताका निर्वाचनमा यस क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका साहलाई यतिबेला आफ्नो राजनीतिक विरासत जोगाउनुपर्ने चुनौती छ ।

२०७९ को निर्वाचनमा एमालेबाट टिकट पाए पनि साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका थिए, जसका कारण त्यतिबेला एमालेबाट कोही उम्मेदवार थिएनन् । साहले एमाले त्यागेपछि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उम्मेदवार रवीन्द्र पटेललाई पछि हट्न निर्देशन दिएका थिए । यसको मतलब माओवादीको समर्थन पनि प्रभुलाई थियो । 

कांग्रेस–माओवादीको चुनावी गठबन्धनले साहलाई सघाउने निर्णय गरेको थियो । रौतहट–३ माओवादीको भागमा परेको थियो । रवीन्द्रले पार्टी हाइकमान्डको निर्देशन अस्वीकार गरेर चुनाव लडे । तर, साह ३२ हजार ४ सय ३७ मत ल्याएर विजयी भए । अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याए । माओवादीका रवीन्द्रले ८ हजार ५ सय मत पाए । चुनाव जितेपछि साहले आजपा गठन गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा २०४८ मा कांग्रेसका गोविन्द चौधरी, २०५१ मा कांग्रेसका हरिहर यादव, २०५६ मा एमालेका डा. वंशीधर मिश्रले चुनाव जितेका थिए । त्यसपछिका चुनावमा साहको ‘प्रभुत्व’ रहेको छ । २०६४ को संविधानसभाको चुनावमा माओवादीबाट उम्मेदवार साहले ११ हजार ६ सय २५ मत ल्याई जित हासिल गरेका थिए । उनका प्रतिस्पर्धी मधेशी जनअधिकार फोरमका रामकोशोरी यादवले १० हजार ८ सय ९६ मत ल्याएका थिए ।

२०७० मा दोस्रो संविधानसभाको चुनावमा माओवादीका उम्मेदवार साह १३ हजार ९ सय मत ल्याई विजयी भए । त्यतिबेला पनि साहले फोरमका यादवलाई हराएका थिए । यादवले ८ हजार ९ सय ६ मत पाएका थिए । २०७४ को चुनावमा पनि माओवादीबाट उम्मेदवार साह २७ हजार ७ सय ९९ मत पाएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेसका सुनील यादवले १८ हजार २ सय ६ मत पाएका थिए । 

यसपालि रौतहट–३ मा साहका प्रतिस्पर्धी छन्, कांग्रेसका रामकृपालप्रसाद यादव, एमालेका कुन्दनप्रसाद कुशवाहा, नेकपाका पुनमदेवी यादव, रास्वपाका रवीन्द्र पटेल, जनमतका शेख प्रवेज आलम, जसपाका गोविन्द चौधरी । उनीहरूसहित ४० जनाले उम्मेदवारी दिएका छन् ।

आजपा अध्यक्ष साह अघिल्लो चुनावको दृष्टिले तुलनात्मक रूपमा कमजोर देखिएका छन् । उनका सहयात्रीहरू कुन्दन कुशवाहा, धीरज पटेल, नागेन्द्र यादव, केशव चौधरी र एकरामुललगायतले साथ छोडेका छन् । साह भने आफूलाई नयाँ व्यक्तिहरूको साथ रहेको दाबी गर्दै चुनाव जित्ने बताउँछन् ।

एमालेका कुन्दन, कांग्रेसका रामकृपाल, जसपाका गोविन्द बलिया उम्मेदवारका रूपमा छन् । जसपाका गोविन्द यस क्षेत्रमा पुराना नेता पनि हुन् । उनले थारू बाहुल्य क्षेत्रको मत एकलौटी पाउँदै आएका छन् । यस क्षेत्रमा यादवपछि थारू समुदायको बाक्लो उपस्थिति छ । उम्मेदवार चौधरी क्षेत्रको विकासका लागि आफू कटिबद्ध रहेको सुनाउँछन् ।

कांग्रेसबाट पहिलो पटक चुनावमा होमिएका रामकृपाल शिक्षक हुन् । यादव बाहुल्य क्षेत्रमा आफ्नो पकड बलियो भएको उनको दाबी छ । एमालेका कुन्दन प्रदेशसभा सदस्य भइसकेका छन् । नेकपाका उम्मेदवार पुनम सेलेब्रिटी उम्मेदवारका रूपमा अघि छिन् । उनी भारतीय कलाकारका साथै बागेश्वरधाम बाबासँग निकट छिन् । 

रास्वपाले यस क्षेत्रमा २०७९ मा माओवादीबाट चुनाव लडेका रवीन्द्रलाई अघि सारेको हो । गत चुनावमा रास्वपाका उम्मेदवार नवीन चौरसिया १ हजार ६ मत ल्याएर पाँचौं नम्बरमा थिए । नयाँ पुस्ताले खोजेको र मतदाताले रोजेको अवस्थामा यस पटक कुनै शक्तिले जितका लागि नछेक्ने रवीन्द्रको दाबी छ ।

पूर्वप्राध्यापक योगेन्द्रप्रसाद यादव रौतहट–३ को चुनाव यस पटक प्रतिस्पर्धात्मक हुने बताउँछन् । ‘आफूसँग भएको टिम फुट्यो वा छुट्यो भने मतान्तरमा प्रभाव पर्ने हुन्छ,’ उनले भने, ‘राजनीतिक प्रभावका साथै जातीय समीकरणको आडमा चुनावले नतिजा दिन्छ ।’ 

आजपा अध्यक्ष साह २०५४ मा एमालेबाट तत्कालीन पतौरा गाविस–१ मा वडाध्यक्ष निर्वाचित भएका थिए । जनप्रतिनिधि हुँदाकै समय उनी माओवादी जनयुद्धमा सामेल भए । माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसद्मा उनी सांसद थिए । एमाले–माओवादी एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनी एमालेमै बसे । यही कारण उनको सांसद पद गुमेको थियो ।

पटकपटक मन्त्री भइसकेका र मधेशका प्रभावशाली मानिने नेता साहमाथि समय–समयमा विभिन्न आरोप लाग्ने गरेको छ । कानुनी झमेलाले पनि साहको छविमा प्रश्न उठाउने गरेको छ । हत्या अभियोगमा मुछिएका भूमिसुधार तथा व्यवस्थामन्त्री साहलाई बर्खास्त माग गर्दै २६ असोज २०६८ मा कांग्रेस–एमालेसहितका प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । विश्व हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याको मुख्य योजनाकार भएको आरोप साहलाई लागेको थियो । सत्तारूढ दल माओवादीले त्यस बेला उनको बचाउ प्रयास गरेको थियो । 

प्रहरी अनुसन्धानमा दोषी देखिएका साहविरुद्ध मुद्दा दायर नगरी जिल्ला सरकारी वकिलको कार्यालयले उमुक्ति दिन खोजेको प्रतिपक्षी दलहरूको आरोप थियो । माओवादी र जनअधिकार फोरमबीच ७ चैत २०६३ मा गौरमा भएको झडप र हत्याको घटनामा पनि उनी जोडिएका थिए । 

त्यस बाबजुद साह यस पटक आफ्ना पछिल्ला एजेन्डा बोकेर घरदैलोमा छन् । बैंक, वित्तीय संस्थाको ब्याज, भन्सार राजस्व, वैदेशिक रोजगारका ठगीविरुद्ध उठाएको आवाज र राजधानीमा तत्कालीन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) बाट लखेटिएका कबाडी मजदुरको पक्षमा वकालत गरेको भन्दै उनले मतदातालाई आकर्षित गर्न खोजेका छन् । 

रौतहट–३ मा फतुवा विजयपुर, कटहरिया, गजुरा नगरपालिका, गरुडा नगरपालिकाका ५, ६ र ७ वडा पर्छन् । देवाही गोनाही नगरपालिकाका ५, ६, ७, ८ र ९, मौलापुर नगरपालिकाका १, २, ३, ४, ५, ८ र ९ वडा पर्छन् । यो क्षेत्रमा यादव समुदाय झन्डै २८ हजारको हाराहारीमा छन् । मुस्लिम १४ हजार र थारू १२ हजारको संख्यामा छन् । 

यी क्षेत्रमा पार्टीगतभन्दा उनको व्यक्तिगत प्रभाव धेरै देखिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा मौलापुर नगरपालिकाको प्रमुखमा तत्कालीन माओवादीबाट साहकी श्रीमती रीनाकुमारीले जितेकी थिइन् । २०७९ मा एमालेबाट उम्मेदवार भएर दोस्रो पटक जितिन् । रीनाले पनि दल परिवर्तनका बाबजुद चुनाव जितेकी हुनाले यो क्षेत्रमा साह दम्पतीको प्रभाव बलियो देखिन्छ । मौलापुर नगरपालिकाले स्थानीयलाई बिजुली, पानीको कर छुट गरेको छ । यसको प्रभाव पनि अहिलेको निर्वाचनमा पर्ने स्थानीयको भनाइ छ ।

रौतहट–३ मा शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । यस निर्वाचन क्षेत्रमा पर्ने गजुरा नगरपालिकाका अधिकांश विद्यालयमा स्थायी दरबन्दीका शिक्षक छैनन् । डेस्क–बेन्च नहुँदा भुइँमा राखेर विद्यार्थीलाई पढाउनुपर्ने अवस्था रहेको गजुरा–४ पोखरभिन्डास्थित जनज्योति प्राविकी शिक्षिका दुर्गा बस्नेतले बताइन् ।

गजुराका पुजन चौधरीले शिक्षा, स्वास्थ्य नेताहरूको भाषणमा मात्र सीमित रहेको बताए । आजपा अध्यक्ष साह भने विद्यालयको गुणस्तर, भौतिक पूर्वाधार र समस्याग्रस्त ठाउँमा सुधार गर्ने दायित्व सरकारको भएको बताउँछन् । ‘मैले त शिक्षा क्षेत्रमा देखिएका समस्या सरकारसमक्ष राख्ने हो,’ उनले भने, ‘समस्या हल गर्ने दायित्व सरकारको हो ।’

मधेशका अन्य क्षेत्रझैं यहाँ पनि महिला साक्षरता दर पुरुषको तुलनामा कम छ । पुरुष साक्षरता ६६.२ प्रतिशत छ । महिला साक्षरता ४९.४८ प्रतिशत छ । साहकै घर भएको मौलापुर नगरपालिकाको साक्षरता ५६.३८ प्रतिशत छ । देवाही गोनाहीको ५० प्रतिशत, फतुवा विजयपुरको ६० प्रतिशत र कटहरिया नगरपालिकाको ५५ प्रतिशत छ ।

स्वास्थ्य सेवामा पहुँच पुगे पनि विशेषज्ञ सेवाका लागि अझै बाहिरी सहरमै भर पर्नुपर्ने स्थिति छ । खानेपानीको मुख्य स्रोत ट्युबवेल भएकाले यसको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । गएको असारमा यस क्षेत्रको मौलापुर नगरपालिकामा पानीको हाहाकार भएको थियो । मानिसहरू पानीका लागि लाइन बस्नुपर्थ्यो । नगरपालिकाले धेरैजसो स्थानमा सानो बोरिङ सञ्चालनमा ल्याएको थियो ।

बजेटको ठूलो हिस्सा सडक र भौतिक पूर्वाधारमा खर्च हुने तर शिक्षा र स्वास्थ्यजस्ता मानवीय विकासका सूचकहरूमा पर्याप्त लगानी नहुने मुख्य समस्या भएको एमालेका उम्मेदवार कुन्दन कुशवाहाले बताए । ‘विकासको नाममा बाटो बनाएर मात्र हुँदैन,’ उनले भने, ‘सबै क्षेत्रको विकास भए मात्र समृद्ध बन्न सक्छ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully