युवा नेता तामाङले जेन-जी पुस्ताको असली प्रतिनिधि आफू भएको दाबी गर्दै उनीहरुका माग बेवारिसे हुन नदिने प्रतिबद्धता जनाए ।
दमक — झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले जेन-जीका आवाज पटक्कै नसुन्ने ओली र बेवारिसे पार्ने बालेन प्रवृत्ति दुवै घातक रहेको बताएका छन् ।
गौरादह नगरपालिकामा शुक्रबार आयोजित भेटघाट कार्यक्रममा तामाङले भने,'एकातिर केपी ओलीजी जेन-जीका माग सुन्न समेत चाहनुहुन्न भने अर्कातिर जेन-जीका नाममा आएका बालेनजीले त बेवारिसे पारिसक्नु भयो ।'
युवा नेता तामाङले जेन-जी पुस्ताको असली प्रतिनिधि आफू भएको दाबी गर्दै उनीहरुका माग बेवारिसे हुन नदिने प्रतिबद्धता जनाए ।
'प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका जेन-जीका माग मैले मुख्य रुपमा उठाइरहेको छु,' उनले थपे, 'सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्धको अभियान पनि मैले र हाम्रो पार्टीले बोकेको छ ।'
नेकपा झापा-५ का निर्वाचन परिचालन समिति संयोजक सुरेन्द्र बस्नेतले जनताले भाद्र २३ र २४ दुवैका कारकको विकल्प खोजेको बताए । चुनावी अभियानका क्रममा झापा-५ का बासिन्दाले सही, सन्तुलित र जवाफदेही जनप्रतिनिधि खोजिरहेको आफूलाई आभास भएको उनले सुनाए ।
