रुकुम पूर्वमा दाहालका प्रतिस्पर्धी भन्छन्-‘जिल्लाले जित्न जिल्लाबासीले नै जित्नुपर्छ’

रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग अरु १० दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । जो दाहाललाई टक्कर दिन कस्सिएका छन् ।

माघ २३, २०८२

महेश केसी

Dahal's competitor in Rukum East says - 'For the district to win, the people of the district must win'

What you should know

रुकुम पश्चिम — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्ना एजेण्डासहित मतदाता समक्ष पुगिरहेका छन् ।

रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग अरु १० दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । जो दाहाललाई टक्कर दिन कस्सिएका छन् ।

जिल्लामा कांग्रेसबाट कुसुमदेवी थापा मगर, एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सन्दीप पुन उम्मेदवार रहेका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेशनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शीरबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोसन शाह चुनावी मैदानमा छन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी कुसुमदेवी थापा पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराकी बासिन्दा हुन् । २०७९ को निर्वाचनमा समानुपातिकबाट सांसद भएकी उनी यसपल्ट प्रत्यक्ष निर्वाचित भएर संसद छिर्ने दाउमा छिन् । 

राज्यको उपेक्षमा परेको रुकुम पूर्वलाई मूलधारमा ल्याउन प्रयत्न गर्ने प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएकी थापाले जिल्लाको नियमित विकासका साथसाथै पर्यटनलाई जोड दिने बताएकी छिन् । ‘लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रुपमा रहेको रुकुम पूर्वमा व्यवसायिक पर्यटनको निकै राम्रो सम्भावना छ। यसलाई जोड दिएर जानुपर्छ भन्ने नै मेरो मूल प्रतिवद्धता रहेको छ,’ उनले भनिन् । 

त्यस्तै दाहालसँग मैदानमा रहेका अर्का उम्मेदवार एमालेका गौतम रुकुम पूर्वको माग र आवश्यकताबारे आफु जानकार रहेको बताउँदै ती पूरा गर्न लागि पर्ने बताए । उनले भने, ‘जिल्लाको भौतिक विकास सँगै मानवीय विकासलाई जोड दिएर समृद्ध रुकुम पूर्व अनि सुखी रुकुम पूर्वबासी बनाउन मेरो पहल रहनेछ । ‘यसका लागि म तीनै तहका सरकार बीचको समन्वय र सहकार्यलाई जोड दिएर अघि बढ्ने कोशिष गर्नेछु ।’ 

यसैगरी रास्वपाबाट उम्मेदवार बनेका लखनकुमार थापाले ठूल्ठूला कुरा गरेर भएभरको आश्वासन बाँड्ने भन्दा पनि जनताका साना मानिएका तर नभइ नहुने आवश्यकता पूरा गर्न लाग्ने बताउँछन् । ‘विगतमा धेरै ठूला कुरा भए, तर काम हुन सकेन । जसले गर्दा जनतामा निराशा धेरै भएको अवस्था छ । यसकारण हामी जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि काम गर्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने । 

माओवादी सशस्त्र द्वन्द्वका त्रममा बा–आमा गुमाएका सहिद पुत्र सन्दीप पुन यसपल्ट भने प्रलोपाबाट उम्मेदवार बनेका छन् । केही अघिसम्म आफ्नै अध्यक्ष रहेका दाहालसँग चुनावी मैदानमा उत्रिएका पुनले सहिदका सपना पूरा गरेर जनताका आवश्यकताको सम्बोधन गर्न लागि पर्ने प्रतिवद्धता जनाएका छन् । ‘हो म सहिद पुत्र हुँ । तर यतिमात्रै मेरो योग्यता होइन । म एक माओवादी आन्दोलनको समर्थक समेत रहेको र बद्लिदो परिस्थीतिमा खासगरी युवाहरुमा रहेको विकासको तलतल पूरा गरेर रुकुम पूर्वको विकासका लागि अघि बढ्नेछु,’ उनले भने, ‘यहाँका जनताको रुचि र यो भेगको सम्भावना राम्रोसँग थाहा छ । यसलाई पूरा गर्न यहीको हामी जस्तो जाँगरिलो पुस्ताको जरुरत छ ।’ 

मंगोल नेशनल अर्गनाइजेसन, नेशनल रिपब्लिक नेपाल, जसपा, राप्रपाका उम्मेदवारहरुले पनि जिल्लाको समग्र विकासका लागि आ–आफ्नो ठाउँबाट लागिपर्ने बाचा गरिरहेका छन् । 

मनोनयन दर्ता गरेर त्यसको भोलिपल्टै संघीय राजधानी काठमाडौं तर्फ लागेका दाहाल निर्वाचन क्षेत्रमा फर्किएका छैनन् । माघ अन्तिमसम्म उनी रुकुम पूर्व आउने र सकेसम्म जिल्लाका सबै मतदाता कहाँ पुगेर भेटघाट गर्ने योजना रहेको नेकपा रुकुम पूर्वका नेता केशव रावलले बताए । 

कांग्रेस उम्मेदवार थापा पनि काठमाडौंबाट जिल्ला आउने तयारीमा छिन् । बाँकी उम्मेदवाहरुले भने मतदाता भेटघाट गर्न घरदैलोमा पुग्ने क्रम सुरु गरिसकेका छन् । मतदाता समक्ष चिनजानलाई बढाउँदै प्रतिवद्धता गरिरहेका दाहालबाहेकका सबै उम्मेदवारको एउटा एजेण्डा भने समान छ । त्यो हो, ‘हामी यही जिल्लाका बासी हौं । यहाँका समस्या बाहिरबाट चुनाव लड्नकै लागि आएका उम्मेदवारले भन्दा हामीले राम्रो काम गर्न सक्छौं ।’ दाहाल लक्षित यही कुराबाटै उनीहरुले मतदातामाझ कुराकानीको सुरुवात गरिरहेका छन् । 

यही विषयलाई थप जोड दिँदै एमाले उम्मेदवार गौतमले नेकपा संयोजक दाहाललाई चुनाव जित्नकै लागि रुकुम पूर्व आएको आरोप लगाएका छन् । ‘उहाँ आफ्नो सुरक्षित ठाउँ खोज्दै रुकुम पूर्व आएको र जितेपछि हतपती फर्केर आउनुहुन्न । यसको उदाहरण यसअघि उहाँले जितेका क्षेत्रलाई हेर्दा थाहा हुन्छ,’ उनले थपे, ‘मलाई विश्वास छ यसरी चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने दाहाललाई भन्दा रुकुम पूर्वबासीले मलाई मत दिनुहुनेछ र हामी जित्नेछौं ।’

प्रलोपा उम्मेदवार पुनले माओवादीको सशस्क्र संघर्षका त्रममा रुकुमको ठूलो लगानी र त्याग–तपस्या रहेको बताउँदै यस बीचमा माओवादीले त्यो त्याग र बलिदानलाई बुझ्न नसकेको आरोप लगाएका छन् । ‘दाहाल भन्दा हामी नै अब्बल छौं र यहाँका माग र आवश्यकताबारे जानकार छौं । साथसाथै रुकुमको संघर्षलाई बुझेका छौं । सदनमा गएर हामी जनताका कुरा पूरा गर्न लड्नेछौं । बेला–बेलामा भूगोलमा आएर जनजता भेट्नेछौं । जुन दाहालबाट सम्भव छैन,’ उनले भने । 

५७ हजार ९ सय ६० जनसंख्या रहेको रुकुम पूर्व संघीयतापछि २०७४ सालयता साविक रुकुमबाट छुट्टिएर बनेको जिल्ला हो । यसपल्टको निर्वाचनमा यहाँ जम्मा ३४ हजार ७ सय ७२ मतदाता छन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रुपमा रहेको यो भेग भूगोल र भाषा–संस्कृतिका दृष्टिले पनि विधितायुक्त क्षेत्र हो ।

ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र समेत पर्ने रुकुम पूर्वमा निर्माणधीन सहिद मार्गलाई पूर्णता दिँदै ग्रामीण सडकको विकास तथा विस्तार, स्थानीय सीप, कला र उत्पादनको व्यावसायिक विकास गर्दै त्यसको बजारीकरण, स्वास्थ्य–उपचारको सहज उपलब्धताका साथै शैक्षिक क्षेत्रको उन्नयनका लागि प्रभावकारी योजना कार्यन्वयन गर्नुपर्ने अहिलेका ज्वलन्त आवश्यकता भएको रुकुम पूर्वस्थित सिस्ने क्याम्पसका प्रमुख तिब्र गौतमले बताए । 

२०६४ र २०७० को संविधानसभा निर्वाचनमा साविक रुकुम हुँदा र त्यसपछि २०७४ र २०७९ को रुकुम पूर्वको निर्वाचन सबैमा यस भेगबाट साविक माओवादीले नै जित हात पार्दै आएको छ । माओवादी नेकपामा रुपान्तरण भएको अवस्थामा अन्य दलका उम्मेदवार पनि जित निकाल्ने दाउमा छन्। 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully