आउने संसद् ‘सर्कस’ होला भन्ने चिन्ता छ : परियार

‘गोरखामा संविधान, व्यवस्था र सामाजिक न्यायप्रति प्रतिबद्धलाई सहयोग गर्छौं’

माघ २३, २०८२

दीपक परियार

What you should know

पोखरा — प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले वैचारिक स्पष्टता नभएका मानिसहरू संसद्‍मा पुगे आगामी संसद् ‘सर्कस’ बन्ने खतरा रहेको औंल्याएका छन् । 

पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलन एवं उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् राष्ट्र निर्माणको थलो हुनुपर्नेमा जोड दिए । ‘मलाई चिन्ता छ, संसद्‍मा विचारहरू नआउलान् र त्यो केवल एउटा सर्कस होला,’ उनले भने, ‘यो आउने संसद् नेपाली जनताको पक्षमा नहोला कि भन्ने मलाई डर छ । तर, लोकतान्त्रिक विधि–पद्धतिबाट ती मान्छेहरू नेपाली जनताले छाने भने पनि मैले स्वीकार्नु पर्छ, किनकि म लोकतन्त्रवादी हुँ । हार्नु पनि लोकतन्त्र हो, लोकतन्त्र बचाउनु हो भनेर पार्टीभित्र बहस गर्ने मान्छे म हुँ ।’ 

नयाँ छान्ने नाममा झन् बढी खराबलाई छान्ने खतरा उत्तिकै रहेको बताउँदै उनले भने, ‘नयाँ सबै राम्रा हुँदैनन्, पुरानाभन्दा बढी प्रतिगामी पनि हुन सक्छन् ।’

गोरखामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्य दललाई सहयोग गर्न लागेको भन्ने चर्चाको खण्डन गर्दै उनले संरक्षक भट्टराई आफ्नै पार्टीको प्रचारमा सक्रिय रहेको स्पष्ट पारे । गोर्खामा कसैसँग मिल्ने वा गठबन्धन गर्ने कुरा घोषणा नगरेको उल्लेख गर्दै परियारले संसद्‍मा संविधान पक्षधर, गणतन्त्रवादी र लोकतन्त्रवादी शक्ति आउनुपर्ने बताए । ‘यो पार्लियामेन्टमा, यो निर्वाचनमा संविधान पक्षधर, गणतन्त्रवादीहरू, लोकतन्त्रवादीहरू, सामाजिक न्यायमा काम गर्ने जुनसुकै पार्टी पनि आउनुपर्छ,’ उनले भने, ‘जसको संविधानप्रति विश्वास र व्यवस्थाप्रति प्रतिबद्धता छ, त्यस्ता साथीहरू संसद्‍मा आउनुपर्छ । ताकि कहिलेकाहीं गलत तत्वहरू, कहिलेकाहीं गलत मान्छेहरू राजनीतिमा आएर अथवा संसद्‍मा आएर गलत कुरा गर्न लागे भने रोक्ने साथीहरू चाहिन्छ ।’

उनले हाल नेपालको राजनीतिमा दुईवटा मात्र मुख्य शक्ति रहेको दाबी गरे । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई ‘यथास्थितिवादी’ शक्तिको संज्ञा दिए । ‘कांग्रेस, एमाले र माओवादी सबै यथास्थितिवादी हुन् किनभने उनीहरू यही पुरानो व्यवस्था र शैलीमा सरकार चलाउन चाहन्छन्,’ उनले थपे, ‘हामी संविधानलाई अझ परिस्कृत गर्न चाहन्छौं । हाम्रो लक्ष्य यो गणतन्त्रलाई मुसहरको घरसम्म पुर्‍याउनु र लोकतन्त्रलाई आम जनताले महसुस गर्ने बनाउनु हो ।’

सचेत नागरिकहरूले केवल ‘गफ’ र ‘भिड’ को पछाडि नलागी विचार र सिद्धान्तलाई हेरेर मतदान गर्नुपर्नेमा उनले जोड दिए । ‘समस्या मात्र देखाउनेलाई होइन, समाधान दिने र देशको चिन्तन गर्ने गम्भीर मान्छेहरूलाई यसपटक जिताउनुपर्छ,’ उनले भने । 

कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार कर्णबहादुर गुरुङ, क्षेत्र नम्बर २ का उम्मेदवार दीपक भण्डारी, समानुपातिक उम्मेदवार दुर्गा गुरुङ र महेश सुनार गोदार, स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार रणबहादुर विकले सामाजिक न्याय, समावेशिता र राष्ट्रिय स्वाधीनताका लागि मत दिन आग्रह गरे । प्रलोपाका केन्द्रीय सदस्य टीकाराम पौडेलले कास्कीका मतदातासँग भेटघाट गरिरहेको बताए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully