आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिएका उम्मेदवारमा सबैभन्दा बढी रास्वपाका

घृणास्पद अभिव्यक्ति दिएको, आचारसंहितामा तोकिएविपरीत प्रचारका सामग्री प्रयोग गरेको, उम्मेदवारी मनोनयनमा तोकिएको भन्दा बढी मानिस लगेको जस्ता विषयमा उम्मेदवारसँग स्पष्टीकरण मागिएको छ ।

माघ २३, २०८२

राजेश मिश्र

Among the candidates asked for clarification on code of conduct violations, the most are from the Rashtriya Swayamsevak Sangh (RSS).

What you should know

काठमाडौँ — निर्वाचन आचारसंहिता उल्लंघन गरेर स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा सबैभन्दा बढी रास्वपाका रहेका छन् । ४ माघको मध्यरातिदेखि आचारसंहिता लागू गरेको निर्वाचन आयोगले उम्मेदवार, राजनीतिक दल, मुख्यमन्त्री, प्रदेशका मन्त्री, संघ, संस्था, विद्यालयदेखि विश्वविद्यालयसम्मलाई स्पष्टीकरण सोधेको हो ।

आयोगका सहायक प्रवक्ता सीता पुनले सोमबारसम्म आचारसंहितासम्बन्धी परेका २९ वटा उजुरीमाथि कारबाही थालिएको जानकारी दिइन् । सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधिएको र उनीहरूबाट आएका जवाफको आयोगले अध्ययन गरिरहेको उनले बताइन् । 

घृणास्पद अभिव्यक्ति दिएको, आचारसंहितामा तोकिएविपरीत प्रचारका सामग्री प्रयोग गरेको, उम्मेदवारी मनोनयनमा तोकिएको भन्दा बढी मानिस लगेको जस्ता विषयमा उम्मेदवारसँग स्पष्टीकरण मागिएको छ । 

चुनावी प्रचारमा सहभागी भएकामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई आयोगले स्पष्टीकरण सोधेको छ । उम्मेदवारी मनोनयनका दिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन अधिकृत कार्यालयमा पुगेको भनेर उनीसँग आयोगले जवाफ मागेको हो । 

कोशी प्रदेशकै उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि चुनावी प्रचारमा संलग्न रहेको भनी स्पष्टीकरण सोधिएको छ । सुनसरी–४ बाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दर्ता गराउन जाँदा उनको साथमा निर्वाचन अधिकृत कार्यालयमा गएको विषयमा मन्सुरीसँग स्पष्टीकरण मागिएको हो । प्रचारमा बालबालिकाको प्रयोग गरेकामा श्रम संस्कृति पार्टीलाई र प्रचारप्रसारमा आचारसंहिता उल्लंघन गरेकामा नेकपालाई स्पष्टीकरण मागिएको छ ।

झापा–५ बाट रास्वपाका उम्मेदवार बालेन्द्र शाह, भक्तपुर–२ बाट एमाले उम्मेदवार महेश बस्नेत, भक्तपुर–२ कै नेपाल जनसेवा पार्टीका उम्मेदवार शोभा पाठकलाई घृणास्पद अभिव्यक्तिका लागि आयोगले स्पष्टीकरण सोधेको छ ।

शाहलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेसबुक स्टाटसमा घृणास्पद कमेन्ट लेखेकामा स्पष्टीकरण सोधिएको हो । ओलीले ‘पब्लिक डिबेट’ का लागि तयार छौं भन्ने आशयको ‘स्टाटस’ लेखेका थिए । त्यसमुनि शाहले ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा रहेको बुझिन्छ’ भन्ने प्रतिक्रिया लेखेका थिए । 

झापा–५ मा बालेन्द्र शाहको प्रचारमा महिला प्रहरी परिचालित देखिएको गुनासो आएको सन्दर्भमा आयोगले सोमबार जिल्लास्थित आचारसंहिता अनुगमन समितिलाई छानबिन गर्न पत्राचार गरेको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ । 

भक्तपुर–२ मा एमालेका उम्मेदवार महेश बस्नेत र शोभा पाठकलाई पनि आयोगले ‘हेट स्पिच’ दिएको सम्बन्धमा जवाफ मागेको छ । मधेशमा बोलिने ‘छौरा’ शब्दलाई अपव्याख्या गरी छाउरा भनेको विषयमा बस्नेतलाई स्पष्टीकरण मागिएको छ । त्यस्तै, पाठकले अर्का उम्मेदवारविरुद्ध गलत, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरेको सम्बन्धमा उनीसँग जवाफ मागिएको हो । 

काठमाडौं–४ मा राप्रपाका उम्मेदवार रहेका सुरेन्द्र भण्डारीलाई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । बाँके–३ बाट रास्वपाका उम्मेदवार रहेका खगेन्द्र सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक द्वेष फैलाएको विषयमा स्पष्टीकरण सोधिएको छ । नेकपाबाट समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मंगलसिंह प्रजालाई रेनु दाहाल हारेमा अर्को युद्ध हुने, चितवनलाई आगो लगाउनेजस्ता अभिव्यक्ति दिएको आरोपमा आयोगले जवाफ खोजेको छ । 

रास्वपाबाट दोलखाका उम्मेदवार जगदीश खरेलले मनोनयनका बेला २५ जनाभन्दा बढी मानिस निर्वाचन अधिकृतको कार्यालयमा लगेकामा आयोगले स्पष्टीकरण सोधेको छ । रास्वपाकै खोटाङका उम्मेदवार रुद्र गिरीलाई पनि त्यही आरोपमा आयोगले स्पष्टीकरण मागेको छ ।

जनमत पार्टीका अध्यक्ष सप्तरी–२ का उम्मेदवार चन्द्रकान्त राउतलाई आचारसंहिताविपरीत चौबाटोमा निर्वाचन झन्डा र चिह्न राखेर चुनावी प्रचार गरेको तथा नेकपाबाट सिन्धुपाल्चोक–१ का उम्मेदवार माधव सापकोटालाई पनि निर्वाचन अधिकृत कार्यालय अगाडि नै आचारसंहिताविपरीत ब्यानर राखेको आरोपमा आयोगले जवाफ मागेको छ । 

नेकपाबाट जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतले प्रचारमा बाजा बजाएर पाँच सय दरका नोट बाँडेको देखिएको, जसपा नेपालबाट पर्सा–२ का उम्मेदवार अशोक टेमानीले मतदातालाई प्रभावित पार्न जिन्सी वितरण गरेको उजुरी आएका आधारमा उनीहरूलाई आयोगले स्पष्टीकरण सोधेको छ ।

काठमाडौं–५ बाट गतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार निशा अधिकारीले अस्ट्रेलियामा क्यूआर कोड पठाएर सहयोग मागेको बारे आयोगले चासो राखेको छ । रूपन्देही–२ बाट नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. निकोलस भुसालले आन्दोलनमा रगतबाट लतपतिएको भाइरल र आइकोनिक जुत्ता अमूक व्यक्तिको रहेको भन्दै त्यस आइकन जुत्ताको दुरुपयोग गरेको भनी आयोगमा उजुरी परेपछि जवाफ मागिएको छ ।

 निर्वाचन आचारसंहिता जारी भएपछि विभिन्न संघसंस्थाले गर्न खोजेको साधारणसभा, अधिवेशन र निर्वाचनलाई आयोगले रोकाएको छ । नेपाल निर्माण व्यवसायी संघ, नेपाल चिकित्सक संघ र नेपाल उद्योग वाणिज्य संघको सांगठनिक निर्वाचन रोकिएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेवक संघको अधिवेशन पनि आयोगले रोकाएको छ । नियुक्ति, बर्खास्तगी, सरुवालगायतका विषयमा पनि आयोगले स्पष्टीकरण मागेको छ । गुठी संस्थानले धर्मगुरुलाई बर्खास्त गर्न खोजेको विषयमा आवश्यक फाइलहरू आयोगले झिकाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा करार सेवाबाट कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गरिएको, राष्ट्रिय आधारभूत विद्यालय पर्साले शिक्षकको सरुवा गराएको, दैलेखको देउती आधारभूत विद्यालयका शिक्षकले चुनावी प्रचारमा संलग्न भएका विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।

सहायक प्रवक्ता पुनले स्पष्टीकरण सोधिएका मध्ये १२ जनाबाट जवाफ आएको जानकारी दिइन् । कतिपयले उजुरीअनुसारको आरोपलाई अस्वीकार गरेका छन् । केहीले भूलवश गल्ती हुन पुगेको भनेको उनले उल्लेख गरिन् । जवाफहरूलाई आयोगको बैठकमा पेस गरिने उनले बताएकी छन् ।

आयोगले जिल्ला तहमा निर्वाचन अधिकृत कार्यालय, आचारसंहिता अनुगमन अधिकारी तोकेर त्यसबारे उजुरी लिने तथा अनुसन्धान गर्ने कार्य थालेको छ । जिल्ला–जिल्लामै उजुरी तथा छानबिन हुन थालेपछि आयोगमा उजुरीको चाप घटेको पुनले बताइन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully