११ फागुनभित्र मतपत्र छापिसक्ने लक्ष्य, समानुपातिकको मतपत्र पहिल्यै तयार
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीको मतपत्रको छपाइ यसअघि नै पूरा भइसकेको छ । ११ फागुनभित्र सबै मतपत्र छापिसक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बुधबार साँझसम्म ५५ निर्वाचन क्षेत्रका लागि ६० लाख मतपत्र छापिएको छ । समानुपातिकको मतपत्र छपाइ १२ माघमा सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको उच्च सुरक्षाबीच मतपत्र छपाइ भइरहेको छ । सेतो कागजमा कालो रङमा ५८ निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र तयार पारिएको छ । समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । समानुपातिकतर्फको मतपत्र जिल्ला–जिल्लामा ढुवानीका लागि ‘प्याकिङ’ भइसकेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार कायम छन् । निर्वाचन क्षेत्रमा ५ जनादेखि ४५ जनासम्म उम्मेदवार छन् । कम उम्मेदवार भएका ठाउँमा सानो र धेरै उम्मेदवार भएका स्थानमा ठूलो आकारको मतपत्र छापिँदै छ । प्रत्यक्षतर्फ सेतो कागजमा रातो चुनाव चिह्न भएको मतपत्र हुनेछ । मतपत्रमा राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न हुन्छन् । प्रत्यक्षतर्फ २ करोड ३ लाख प्रति मतपत्र छाप्ने लक्ष्य छ ।
दिनमा १३ लाख हाराहारीमा मतपत्रको छपाइ भइरहेको आयोगले जनाएको छ । ११ फागुनसम्ममा छापिसकेपछि भोलिपल्टबाटै मतपत्र ढुवानी प्रारम्भ हुने आयोगका सहायक प्रवक्ता न्यौपानेले बताए । ढुवानीका लागि आयोगले टेन्डर प्रक्रियामार्फत कम्पनी छान्दै छ ।
समानुपातिक र प्रत्यक्षको मतपत्र एकैसाथ पठाउने तयारी छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, मनाङ र मुस्ताङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र ढुवानी गरिनेछ । मतपत्रबाहेकका निर्वाचन सामग्रीको ढुवानी भने १ फागुनमा थाल्ने आयोगको तयारी छ ।
निर्वाचन कानुनअनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गरेका दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा दलहरूको चिह्न मतपत्रमा राखिएको छ । त्यसपछि निर्वाचन प्रयोजनका लागि दर्ता हुँदा रहेको क्रमअनुसार दलको चिह्न छ । राजनीतिक दलको चिह्नपछि स्वतन्त्र उम्मेदवारको चिह्न मतपत्रमा कायम गरिएको छ ।
२०७९ को निर्वाचनमा संसद्मा प्रतिनिधित्व गरेका दलहरूमध्ये समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको थियो । त्यसपछि कांग्रेस, तत्कालीन माओवादी केन्द्र हाल नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टी थिए । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (हाल जसपा नेपालसँग एकीकरण भइसकेको), नेमकिपा, राष्ट्रिय जनमोर्चाले मत प्राप्त गरेका थिए ।
