कुलमान भन्छन् : भाषण गरेर होइन, कामले हो प्रधानमन्त्री हुने

प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन : कुलमान

माघ २२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कुलमान घिसिङले उज्यालो नेपाल पार्टी(उनेपा) सामाजिक सञ्जाल चलाएर स्थापित नभएको पार्टी नभएको बताएका छन् । 

पार्टीले जनकपुरमा सञ्चालन गरेको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष घिसिङले उनेपा डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरे । 

देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उनेपा नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे । उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे । 

उनेपाले मधेश प्रदेशमा घरदैलो अभियान सुरु गरेको छ । अध्यक्ष घिसिङका अनुसार मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्त्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति रहेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरे ।

यस्तो छ कुलमानको भनाइ

उज्यालो नेपाल पार्टी जेन-जी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो । नयाँ ऊर्जा र जोश लिएर आएको पार्टी हो । उज्यालो नेपाल पार्टीसँग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ । यी दुवै पार्टी जेन-जी आन्दोलनपछि स्थापना भएका पार्टी हुन् । राष्ट्रिय परिवर्तन पार्टी जेन–जी आन्दोलनका घाइतेहरूको पार्टी हो ।

दुवै पार्टीले जेन-जी आन्दोलनको भावना र मागलाई बोकेको छ । यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ । हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ । हामी डेलिभरी दिनको लागि आएका हौँ । अबको भोट भनेको डेलिभरी दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन ।

काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ । यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ । हाम्रो पार्टी डेलिभरी दिने पार्टी हो । अरु भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन ।

डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी हो । हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन । हामी आफैं प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।

कान्तिपुर

Link copied successfully