मुलुकमा नातावाद, कृपावाद र भ्रष्टाचार व्याप्त भएकाले त्यसको अन्त्यका लागि युवा पुस्ताको भावना सम्बोधन गरिनुपर्ने प्राय: उम्मेदवारको दाबी ।
राजविराज — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी–२ का उम्मेदवारले परिवर्तनका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन् ।
मुलुकमा नातावाद, कृपावाद र भ्रष्टाचार व्याप्त भएकाले त्यसको अन्त्यका लागि युवा पुस्ताको भावना सम्बोधन गरिनुपर्ने उनीहरूले बताएका हुन् । यस क्षेत्रमा दल र स्वतन्त्र गरी ३४ उम्मेदवार प्रतिर्स्धामा छन् ।
यसअघि चुनावी प्रतिस्पर्धाको अनुभव गरेकादेखि पहिलोपटक उम्मेदवार बनेकाहरू मैदानमा छन् । उज्यालो नेपाल पार्टीबाट डा.दीपक चौधरी उम्मेदवार छन् । नातावाद, कृपावाद र भ्रष्टाचार अन्त्यलाई उनले प्रचारको नारा बनएका छन् । उनी ‘राजनीतिक विकृति हटाएर सप्तरीको शिर उच्च बनाऔं’ भन्ने नारा तय गरेर प्रचारमा खटिएका छन् । लामो समय विद्युतको क्षेत्रमा काम गरेका चौधरीले आधा दर्जन मधेश विकासका कृतिहरू प्रकाशित गरेका छन् ।
रोजगारी, स्वास्थ्य, शिक्षा, राजविराज र यहाँका पर्यटकीय क्षेत्रको विकासलाई उनले मूल एजेन्डा बनाएका छन् । जेनजी पुस्ताको भावना अनुसार मुलुकमा परिवर्तन आवश्यक रहेको र त्यसका लागि आफू उपयुक्त भएको उनले बताए ।
यही क्षेत्रमा जनअधिकार पार्टीबाट डा.शरदसिंह यादव उम्मेदवार छन् । १४ वर्षअघि तत्कालीन सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी यस क्षेत्रको विकासका लागि हरसम्भव प्रयासरत रहने बताउँछन् । संघीयतालाई सबल बनाउने र स्वास्थ्य, शिक्षा र सुशासनका लागि काम गर्ने उनका एजेन्डा छन् । मुलुकमै पहिलोपटक ‘टाउन प्लानिङ’ गरेर बसाइएको राजविराज सहर बस्न लायक नभएको उनले बताए । जनताको परिवर्तनको चाहना पूरा गर्न आफूले उम्मेदवारी दिएको उनले बताए ।
जेनजी पुस्ताको चाहना अनुसारको परिवर्तन सम्भव तुल्याउन आफू उम्मेदवार बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ई. रामजी यादवले बताए । ०७३ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राजनीति सुरु गरेका उनले विधिको शासन, सुशासन, पारदर्शिता, विकास, स्वास्थ्य, शिक्षा र रोजगारी मूल एजेन्डा बनाएका छन् ।
संघीयता र समावेशीताको पूर्ण कार्यान्वयन तथा खास गरी पछाडि पारिएका विपन्न समुदायको अधिकारको सुनिश्चिता एजेन्डा बनाएको उनले बताए । साथै विपन्न, गरिब, दलितका समस्या यथावत् रहेकाले समाधानमा लागि उम्मेदवार बनेको उनले बताए । 
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यनाथप्रसाद यादव पूर्वसांसद हुन् । जनतासँगै उभिएर संघर्ष गर्ने, शोषणविरुद्ध डटेर लड्ने, विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आमूल परिवर्तनका लागि काम गर्ने उनले बताए । जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादव पूर्वमन्त्री हुन् । जनताको सम्मान, आत्मनिर्णयको अधिकार, संविधान संशोधन, मानवीय र भौतिक विकास लगायतका एजेन्डा उनले तय गरेका छन् ।
उत्पीडित समुदायको सुरक्षा, गरिब तथा सुकुम्बासीका समस्या समाधान, विकास निर्माण, कृषि क्षेत्रको विकास, युवाका लागि रोजगारका साथै राज्यका नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिताका लागि संघर्ष गर्ने उनको भनाइ छ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह जनतम पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट यही क्षेत्रमा उम्मेदवार बनेका छन् । मुलुकको स्वाभिमान रक्षा, पीडित समुदायको उत्थान, रोजगारी, कृषि समस्या समाधानलाई मुख्य एजेण्डा बनाएर उनी प्रचार गरिहेका छन् ।
पछिल्लो निर्वाचनमा विजयी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि प्रतिस्पर्धामा छन् । ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’ देखि नौलो गणतन्त्र नै देशको निकास भन्ने एजेन्डासहित उनी प्रतिस्पर्धामा छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्ने, विज्ञबाट मन्त्रालय चलाउने, सांसद र सभासद् मन्त्री नबन्ने, संसद्मा ह्वीप नलाग्ने, जनमत–संग्रहबाट ऐन बनाउने उनका एजेन्डा छन् । दलहरूबीच भागबन्डाबिनै न्यायाधीश नियुक्त गर्ने, संवैधानिक निकायका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको भनाइ छ ।
कांग्रेसबाट रामकुमार यादव, नेकपा एमालेबाट मोहम्मद सफिद रहमान, जनता लोकतान्त्रिक पार्टी, नेपालबाट बलरामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिश अन्सारी, राष्ट्र निर्माण दल नेपालबाट अफरोज आलमको उम्मेदवारी परेको छ । नेपाल जनता पार्टीबाट रञ्जुकुमारी झा (ठाकुर), नेपाल संघीय समाजवादी पार्टीबाट राजकुमार मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीबाट निलमकुमारी यादव, सार्वभौम नागरिकबाट दीपककुमार मण्डल र आम जनता पार्टीबाट सुनिलराज दास चुनावी मैदानमा छन् । नेपालका लागि नेपाली पार्टीबाट इन्द्रसागर गुप्ता र श्रम संस्कृत पार्टीबाट त्रिभुवन खंगको पनि उम्मेदवारी परेको छ ।
यहाँ स्वतन्त्रबाट जितेन्द्रकुमार यादव, पारशमणि यादव, सञ्जयकुमार चौधरी, अभिनाषकुमार सिंह, प्रेमकुमार यादव, विशेश्वर यादव, रामविलास ठाकुर, विनोदानन्द झा, सन्तोषकुमार रजक, साधना दास, विन्दुकुमारी चौधरी, सुशीलाकुमारी साह, किसुनदेव राम र अम्बिकादेवी साफीले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी १ लाख ५ हजार ९ सय २२ मतदाता छन् ।
