कांग्रेसले निर्वाचनमा कहीँकतै पनि चुनावी गठबन्धन नगर्ने

प्रवक्ता चालिसे भन्छन्- 'कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन'

माघ २२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले कुनै दलसँग कहीँकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा कहीँकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको हो । प्रवक्ता देवराज चालिसेले पार्टीले १६५ निर्वाचन क्षेत्रमा नै आफ्नो उम्मेदवार उठाइसकेको हुँदा चुनावी गठबन्धन नहुने स्पष्ट पारे ।

‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, हामी दृढतापूर्वक प्रचारमा लागेका छौं, सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ, त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु,’ कांग्रेस प्रवक्ता चालिसेले भने ।

उनले अधिनायकवाद मिठो चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे । यस्तै अन्य केही राजनीतिक दलले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराए ।

कान्तिपुर

Link copied successfully