पाल्पा–१ मा एमालेको ३० वर्षे विरासत भत्काउन रस्साकसी

पाल्पा-१ का जनताका समस्या पनि घर–आँगन र खेतबारीवरिपरि नै केन्द्रित छन् । यस क्षेत्रका अधिकांश जनता कृषि पेसामा निर्भर छन् । अम्लिसो, तरुल, सखरखण्ड, अदुवा, बेसार, बाँसबाट बनेका सामग्री बिक्री, गेडागुडी उत्पादनका लागि परिचित यो क्षेत्रमा किसानका पीडा भने सधैं उस्तै छन् ।

माघ २१, २०८२

माधव अर्याल

Tug of war to destroy UML's 30-year legacy in Palpa-1

What you should know

पाल्पा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाल्पा–१ का उम्मेदवार अहिले मतदाता भेटघाट, घरदैलो, क्षेत्रीय, पालिका भेलामा व्यस्त छन् । उम्मेदवार गाउँघरमा आएसँगै चुनावी माहोल पनि बनेको मतदाता बताउँछन् ।

पाल्पा–१ मा ३१ वर्षदेखि जित्दै आएको एमाले यसपटक पनि उक्त क्षेत्र जोगाउने प्रयासमा देखिन्छ । एमालेको विरासत भत्काउन कांग्रेस, नेकपा र रास्वपा पनि मतदाता फकाउन कस्सिएका छन् । 

तीन दशकदेखि एमालेकै जनप्रतिनिधि भए पनि पाल्पा–१ विकास निर्माणमा पछि परेको निस्दी–७ का देवबहादुर थापाले बताए । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा पनि क्षेत्र कमजोर रहेको उनले बताए । ‘बजेट परे पनि काम राम्रोसँग भएका छैनन्,’ उनले भने, ‘योजनाजति अलपत्र छन् । कोही बोल्यो भने अरिंगालले टोक्लाझैं गरी गाली गर्छन् ।’ बाँकामलाङदेखि ज्यामिरे जोड्ने केम खाम्चा मार्ग बजेट अभावले अलपत्र परेको उनले बताए । 

कालीगण्डकी करिडोरदेखि दर्छा कीर्तिपुर, पन्थे हुँदै सहलकोट भएर झ्यालबास जोड्ने सडकको काम पनि अघि बढेको छैन । रामपुर नगरपालिकाको सिमाना बेलडाँडादेखि नवलपुर (पूर्वी नवलपरासी) को अरुणखोलासम्म पुग्ने सडक अपूरै छ । माथागढीका अधिकांश वडा र निस्दी गाउँपालिका भौगोलिक रूपमा विकटमा छन् । तथ्यांकमा राम्रो देखिए पनि यथार्थमा अवस्था फरक रहेको निस्दी–७ का जीवन थापाले बताए । उनका अनुसार रामपुरदेखि मित्याल–अरुणखोला जोड्ने सडकको अवस्था नाजुक छ । वर्षायाममा गाउँमा गाडी नपुग्ने दर्जनौं बस्ती छन् । निस्दी गाउँपालिका जोड्ने सडकसमेत अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । पालिकाअन्तर्गत कहीँकतै ढलान भए पनि अधिकांश सडक कच्ची छन् । अम्लिसो, अदुवा, बाँसका सामग्री, बेसार, गेडागुडी उत्पादन गर्छन् तर जहिलेसुकै बिचौलियाको भरमा पर्नुपर्छ । 

जनताका समस्या घर–आँगन र खेतबारी वरिपरि केन्द्रित छन् । यस क्षेत्रका अधिकांश जनता कृषि पेसामा निर्भर छन् । निस्दी गाउँपालिका अम्लिसो, तरुल, सखरखण्ड, अदुवा, बेसार, बाँसबाट बनेका सामग्री बिक्री, गेडागुडी उत्पादनका लागि परिचित यो क्षेत्रमा किसानका पीडा सधैं उस्तै छन् । यस क्षेत्रमा सहायक र शाखा सडकमा करोडौं बजेट खर्च भए पनि मुख्य सडक अलपत्र छन् । आर्यभन्ज्याङ–जब्गादी–रामपुर मुख्य सडक हो । हुमीन–पूर्वखोला, हुमीन–बहादुरपुर सडकको अवस्था अहिले पनि सुधार भएको छैन । 

कतिपय स्तरोन्नति सुरु भएका सडकले पनि पूर्णता पाएका छैनन् । अधिकांश योजना अलपत्रजस्तै छन् । केन्द्रीय ठूला योजना छैनन् । रामपुर नगरपालिका अन्य पालिकाको तुलनामा विकासमा अघि बढेको दाबी नगर प्रमुख रमणबहादुर थापाको छ । रम्भा, निस्दी, माथागढी, पूर्वखोला गाउँपालिकामा सडक पहुँचमार्ग वर्षौंदेखि पूरा भएका छैनन् । यस क्षेत्रमा निर्वाचन नजिकिएसँगै चुनावी नारा बन्ने योजना धेरै हुन्छन् । तर त्यसलाई पूरा गर्ने कमै हुने गरको मतदाताको गुनासो छ । 

‘पहिलेका निर्वाचनमा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा थियो,’ रामपुर नगरपालिका–९ का मतदाता शेरबहादुर रानाले भने, ‘यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको पनि प्रतिस्पर्धा देखेको छु ।’ 

मनोनयन दर्तासँगै कांग्रेस, एमाले, नेकपा, रास्वपालगायत सबै दल तथा स्वतन्त्र उम्मेदवार चुनावको परिणाम आफ्नो पोल्टामा पार्न मतदाता भेटघाट, क्षेत्रीय, पालिकास्तरीय भेलामा छन् । ०४८ सालयता यस क्षेत्रमा एमालेबाहेक कुनै पनि दलले निर्वाचन जितेका छैनन् । कांग्रेस–एमालेबीच स्पर्धा हुने अनुमान गर्ने धेरै भएको रामपुरका सचेत मतदाता शिव पोखरेलले बताए । उनका अनुसार यसपटक रास्वपाले दुवै पार्टीको मत पाउने देखिएको दाबी गरे । ‘अहिले नै केही भन्न सकिँदैन,’ उनले भने, ‘तर ख्याल गर्नुस् यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ ।’ 

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३ मत पाएका थिए । मंगोल नेसनल अर्गनाइजेसनका थम्मनबहादुर बुढा मगरले पनि १ हजार ९ सय १६ मत पाएका थिए । 

यस पटकको निर्वाचनमा एमालेले आचार्यलाई नै दोहोर्‍याएको छ । यसअघि विजयी भएका उनी २०७४ को प्रदेशसभा निर्वाचनमा पाल्पा–१ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका हुन् । यसपटक कांग्रेसले समाजसेवी युवा सन्दीप रानालाई उम्मेदवार बनाएको छ । कांग्रेसका राना लुम्बिनी प्रदेश सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् । ग्रामीण क्षेत्रका युवासँग नजिक रहेर सक्रिय राजनीति गर्दै आएका रानालाई पाल्पा–१ मा एमालेको बलियो पकडलाई चुनौती दिन सक्ने उम्मेदवार भएको कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले दाबी गरे । 

यसपटकको निर्वाचनमा पाल्पा–१ मा ९८ हजार ३ सय ८३ मतदाता छन् । यही क्षेत्रमा ५२ मतदान स्थल छन् । १ सय १७ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा एमालेले २०५१ सालदेखि आफ्नो विरासत कायम राख्दै आएको छ । २०५१ मा दलबहादुर राना, २०५६ मा भद्रबहादुर थापा, २०६४ सालको संविधानसभा निर्वाचनमा दलबहादुर राना पुनः विजयी भए । २०४८ सालमा कांग्रेसबाट कालुराम रानामगर निर्वाचित भएका थिए । त्यसबेला रानासँगै दलबहादुर प्रतिस्पर्धी थिए । त्यसपछिको २०७० सालको संविधानसभा निर्वाचनमा एमालेकै राधाकृष्ण कँडेल यस क्षेत्रबाट चुनिए । २०७४ सालको निर्वाचनमा एमालेबाटै पुनः राना विजयी भएको क्षेत्र हो । पाँचौं पटकको उम्मेदवारीमा तीनपटक निर्वाचित भएर दलबहादुर यसपटक सक्रिय राजनीतिबाट बाहिरिएका छन् । तर कँडेल र राना यसपटक पनि क्षेत्रीय तथा पालिकास्तरीय भेलामा सहभागी भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै हिँडेका छन् । 

माथागढी, निस्दी, रम्भा, पूर्वखोला, निस्दी, रामपुर नगरपालिकाका भेला सकिएको एमाले क्षेत्रीय कमिटीले जनाएको छ । ‘हिजोदेखि एमालेलाई विश्वास गरेका छन्,’ एमालेका आचार्यले भने, ‘भोलिका दिनमा पनि एमाले नै सुखदुःखको साथी हो भन्ने मतदाताले राम्ररी बुझेका छन् ।’ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका विमल पन्तले गाउँघरमा मतदातासमक्ष पुग्दा आफूलाई उत्साहित बनाएको बताए । विगतमा जो जसलाई मत दिए पनि खासै केही नभएको गुनासो मतदाताको रहेको उनले बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पनि मतदाता भेटघाटमा व्यस्त छन् । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य रहेका हुमबहादुर सुनारी उम्मेदवार छन् । राप्रपाबाट बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, नेसनल रिपब्लिक नेपालबाट थमनसिं रेश्मी मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट सलन चिदी मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट पुरन गैहृे शर्मा उम्मेदवार छन् । स्वतन्त्र रूपमा कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मिया मनोनयन दर्ता गरेर चुनावी मैदानमा छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully