एक सातायता रूपन्देहीका ग्रामीण क्षेत्रदेखि सहर–बजारमा चुनानी रौनक सुरु भएको छ । उम्मेदवारहरू आफ्ना एजेण्डा बोकेर मतदाताको घर–आँगन पुग्न थालेका छन् ।
What you should know
भैरहवा — माघको तेस्रो साता हुस्सु र कुहिरो लाग्न थालेको छ । एक साता घाम लागेपछि सर्वसाधारणले थन्काएका न्याना लुगा झिकेर लगाउन थालेका छन् । चिसो मौसम एकनासे छैन । घरी कुहिरो फाटेर घाम लाग्छ । फेरि क्षणमै शीतलहर चल्छ ।
तर, चिसो मौसममा पनि सर्वसाधारण भने घरभित्र सीमित छैनन् । नयाँ–पुराना वाचासहित विभिन्न दलका उम्मेदवार घरदैलोमा आउन थालेपछि उनीहरू पनि तातेका छन् ।
एक सातायता रूपन्देहीका ग्रामीण क्षेत्रदेखि सहर–बजारमा चुनानी रौनक सुरु भएको छ । उम्मेदवारहरू आफ्ना एजेण्डा बोकेर मतदाताको घर–आँगन पुग्न थालेका छन् । मतदाता पनि चिया–चौतारा भेटमा चुनावलाई लिएर बहस गर्न थालेका छन् । दलहरूले वडा र क्षेत्रमा सम्पर्क कार्यालय खडा गरेर कार्यकर्ता जमघट थलो बनाएका छन् । केही कार्यकर्ता उम्मेदवारसहित घरदैलो अभियानमा खटिँदा बचेका कार्यकर्ता सम्पर्क कार्यालयमा बसेर रणनीति र समीक्षामा व्यस्त छन् ।
निर्वाचन आचारसंहिताका कारण आमसभा र जुलुस आयोजना गरेका छैनन् । केहीले टोल–वडा भेला गरेर आफ्ना वाचा सुनाइरहेका छन् । केही उम्मेदवार पार्टीभित्र सन्तुलन कायम गर्न र मतदाताको अपेक्षा सुन्न खटिरहेका छन् । ‘पार्टीसित गुनासो भएका कार्यकर्ता भेटेर सम्झाउने र उनीहरूलाई कांग्रेसको नयाँ नीतिबारे बुझाइरहेको छु,’ रूपन्देही–३ मा कांग्रेस उम्मेदवार सुशील गुरुङले भने, ‘बजार र गाउँका टोल–टोल पुगेर मतदातासित भेटघाट गरिरहेको छु ।’ धेरै सपना देखाउने भन्दा फेरिएको कांग्रेस र पार्टीको मुलुक बदल्ने योजना सुनाउँछु ।’
गठनबन्धन नभएकाले दलहरूबीच यसपटक जिल्लामा एक्ला–एक्लै प्रतिस्पर्धा छन् । परम्परागत दललाई नयाँ पार्टीका उम्मेदवारले कडा चुनौती पेस गरिरहेका छन् । त्यसैले पहिला जस्तो ढुक्क भएर कुनै दलले चुनावी अभियान चलाएका छैनन् । दलका अगुवा कार्यकर्ता गोप्य भेटघाट र रणनीति तयार गरेर मतदातासमक्ष पुगिरहेका छन् । रूपन्देही–३ मा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले निर्वाचन क्षेत्रको ‘प्रोफाइल’ तयार गरेका छन् । तीनवटा किताबमा समेटिएको विवरणमा कुन वडामा कस्तो समस्या र कति बासिन्दा रहेका छन् भन्ने उल्लेख छ ।
‘मतदातामा राजनीतिक चेतना बढेको छ,’ थापाले भने, ‘चुनाव जित्ने मात्र होइन, जितेर जिम्मेवारी बहन गर्ने कुरा उठिरहेको छ ।’ पहिलो चरणमा मतदाताको घरदैलोमा पुगेर अपेक्षा संकलन पूरा गरेपछि अहिले घरदैलोमा जुटेको उनले बताए । आफू भैरहवाको रैथाने भएकाले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘म ठूलो सपना देख्ने मान्छे हुँ,’ उनले भने, ‘यसपटक राजनीतिमा संलग्न भएर नीति निर्माण तहमा पुग्ने सपना देखेको छु ।’
उम्मेदवारले विकास–निर्माण, शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाएका छन् । अधुरा योजना पूरा गर्ने र शिक्षा र स्वास्थ्यलाई आधुनिक तुल्याएर प्रभावकारी सेवा प्रदान गर्ने उनीहरू बताउँछन् । रूपन्देही–१ का मतदाताले लघुवित्तबाट पीडित हुनु परेको समस्या उम्मेदवारलाई सुनाइरहेका छन् । उम्मेदवारले पनि लघुवित्त पीडितलाई न्याय प्रदान गर्ने विषयलाई एजेण्डा बनाएका छन् । त्यहाँ कांग्रेस, एमाले, राप्रपा, रास्वपा र नेकपाका उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।
‘रूपन्देही–१ मा सिँचाइको ठूलो समस्या छ,’ राप्रपाबाट त्यस क्षेत्रका उम्मेदवार प्रज्वल बोहराले भने, ‘अरु क्षेत्रभन्दा फरक यहाँका बासिन्दा लघुवित्तबाट धेरै पीडित रहेछन् ।’ प्रज्वल ०७९ मा रूपन्देही–३ मा विजयी दीपक बोहराका कान्छा छोरा हुन् । ग्रामीण क्षेत्रमा सिँचाइ, मलखाद, शिक्षा र स्वास्थ्यको माग धेरै रहेको बोहराले बताए । ‘अपेक्षा संकलनपछि अहिले घरदैलोमा व्यस्त छु,’ उनले भने, ‘मेरो बुवा दीपक बोहराले पनि रूपन्देही–१ बाट संसदीय निर्वाचन यात्रा थाल्नु भएको थियो । मैले पनि बुवाको विरासत जोगाउने उद्देश्यले यही क्षेत्र रोजेको हुँ ।’
रूपन्देही–४ मा घरदैलोसँगै वडा र क्षेत्रीय भेला सुरु भएका छन् । पार्टीले विभिन्न स्थानमा कार्यकर्ता भेला गरेर उम्मेदवारको परिचय र एजेण्डा सुनाइरहेका छन् । एक साताअघिसम्म अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका उम्मेदवार क्षेत्रका मुख्य मुद्दा समेटेर व्यक्तिगत घोषणापत्र बनाएर प्रचारमा जुटेका छन् । रूपन्देही–४ बाट एमाले उम्मेदवार प्रमोद यादवले २५ बुँदामा आफ्नो क्षेत्रका समस्या समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् । ‘अहिलेसम्म मर्चवार नेपालमै पर्छ भन्ने धेरैलाई जानकारी छैन,’ उनले भने, ‘म मर्चवारलाई मुलुकभित्र चिनाउन चाहन्छु ।’ क्षेत्रमा मल, बीउ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य प्रमुख समस्या रहेको उनले बताए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रूपन्देही–३ का उम्मेदवार फैज अहमद खान भैरहवाका बासिन्दा हुन् । आफू यहाँको पुरानो बासिन्दा भएकाले अधिकांश समस्या बुझेको उनले बताए । क्षेत्रको ग्रामीण भेगमा कार्यकर्ता र मतदाता भेटघाट सकेर सदरमुकाम भैरहवामा केन्द्रित बनेको उनले बताए । ‘मेरो क्षेत्रमा रहेका सरकारी विद्यालयको अवस्था नाजुक छ,’ उनले भने, ‘ती विद्यालयको स्तरोन्नति जरुरी छ ।’ सिद्धार्थ नगरबाट बालबालिका पढाउन बुटवल पठाउनुपर्ने अवस्था रहेको बताए । यसले अभिभावकलाई आर्थिक भार परेको उनले बताए । भैरहवामा रहेको भीम अस्पतालमा सर्वसाधरणको चाप धेरै रहेकाले बेड क्षमता बढाउन माग रहेको उनले बताए ।
रूपन्देही–४ बाट जनता समाजवादी नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल पनि घरदैलो अभियानमा सक्रिय छन् । ०७९ मा विजयी शुक्ल यसपटक पनि चुनाव जित्ने दाउमा छन् । उनले आफ्नो क्षेत्रका मर्चवार, मायादेवी, लुम्बिनी र सियारीका ग्रामीण क्षेत्रमा घरदैलो गरिरहेका छन् । जिल्लाकै पुराना राजनीतिज्ञ शुक्लले अगुवा कार्यकर्ता र सर्वसाधारणसित भेटघाट गरिरहेका छन् । ‘सडक पूर्वाधार, कृषिमा सुधार, मल, बीउ, शिक्षा र स्वास्थ्यलाई मूल मुद्दा बनाएर प्रचार गरिरहेको छु,’ शुक्लले भने, ‘गाउँका मतदाताको माग पनि यही रहेको छ ।’
