यसअघि शान्ति तथा पुनः निर्माण, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गरिसकेका वर्षमान पुनलाई एमालेका गोकुलप्रसाद घर्तीमगर, कांग्रेसका डा. सुदनकुमार वली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालाराम थापाले चुनौती दिइरहेका छन् ।
What you should know
रोल्पा — जिल्लाबाट संविधानसभा र प्रतिनिधिसभा सदस्य गरेर तीनपटक निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन चौथो पटक चुनाव जित्न दौडधुपमा छन् । पुनसित तीन युवा उम्मेदवार प्रतिस्पर्धामा छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसअघि शान्ति तथा पुनः निर्माण, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गरिसकेका पुनलाई एमालेका गोकुलप्रसाद घर्तीमगर, कांग्रेसका डा. सुदनकुमार वली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालाराम थापाले चुनौती दिइरहेका छन् ।
‘मलाई रोल्पालीले दुई पटक विश्वास गरिसके । तेस्रोपटक पनि पत्याउने विश्वास छ,’ पुनले भने, ‘पुराना र महत्वपूर्ण योजना सम्पन्न गराउनका लागि यस पटक मेरो उम्मेदवारी हो ।’ पुन ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएलगत्तै अर्थमन्त्री भएका थिए ।
०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री भए । सशस्क्र द्वन्द्वका त्रममा तत्कालीन माओवादी लडाकुका डेपुटी कमान्डर रहेका उनी ०७४ र २०७९ मा गरी दुई पटक जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पुनसित एमालेका घर्तीमगर पहिलोपटक प्रतिस्पर्धा गरिरहेका छन् ।
राजनीतिशास्त्र र अंग्रजी साहित्यमा स्नातकोत्तर गरेका घर्तीमगर विद्यार्थी राजनीतिबाट आएका हुन् । ‘विकासको भिजन र समृद्धिको संकल्प बोकेर राजनीतिक क्षेक्रमा सक्रिय छु,’ उनले भने, ‘स्थानीयदेखि देशका मुख्य विषयवस्तु अध्ययन गरेर प्रतिस्पर्धामा उत्रिएको हुँ ।’ एमालेले उनलाई समानुपातिकबाट यसअघि संविधानसभा सदस्य निर्वाचित गरेको थियो । त्यसबेला एमाले संसदीय दलको सचेतक समेत थिए ।
०४६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय उनी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पूर्वउपाध्यक्ष हुन् । सशस्क्र द्वन्द्वका क्रममा थालिएको सहिद मार्ग निर्माण पूरा गर्ने र जिल्लामा कृषि, सडक, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रको नीतिगत विकासप्रति ध्यान दिने उनले बताए ।
इरिबाङमा जन्मिएका कांग्रेसका उम्मेदवार वली चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधी हुन् । उनी दुई दशक विद्यार्थी राजनीतिमा सक्रिय थिए । ‘मुलुकको अर्थ व्यवस्था सुधार गर्न र रोल्पाको विकास लागि चुनावी मैदानमा आएको हुँ,’ उनले भने, ‘जनताले माया गर्नुहुनेछ ।’ कांग्रेसको आर्थिक नीति तथा योजना विभाग सदस्य भएर काम गरिसकेका उनी यसअघि लुम्बिनी प्रदेशको योजना आयोगका सदस्य थिए ।
गजुलका बासिन्दा रास्वपाका उम्मेदवार थापाले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । यसअघि उनी निर्माण व्यवसायी थिए । उम्मेदवार बनाएपछि टोलीसहित उनी जिल्लाका भित्री गाउँमा मतदाता भेटघाटमा छन् । रास्वपा जिल्ला अध्यक्ष इन्जिनियर रमेश थापाले यसपटक युवाको मत वृद्धि भएको र उनीहरूको चाहना अनुसार निर्वाचनमा सफलता मिल्ने बताए ।
‘जनताले नयाँ राजनीति चाहेका छन् । यो पटक गाउँमा पुग्दा मत बदल्ने धारणा धेरै स्थानमा भएको पाइएको छ,’ उनले भने, ‘युवाले नयाँ नेतृत्व र राजनीति चाहेका छन् ।’ नेकपा माओवादी नेता नेक्रवित्रम चन्दले यहाँबाट उम्मेदवार हुने घोषणा गरे पनि चुडामणि वलीलाई उम्मेदवार बनाएका छन् । पोलिट्ब्युरो सदस्य रहेका वली लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिए ।
सहिद परिवार र तत्कालीन सशस्त्र द्वन्द्वका घाइते उनी अहिले अपांगहरूसँग भेटघाट गर्दै हिँडेका छन्। सशस्क्र द्वन्द्वका त्रममा उनले भाई गुमाएका थिए । ‘जनताको पक्षमा आन्दोलन गर्ने क्रममा यातना भागेको छु,’ उनले भने, ‘द्वन्द्व अवधि र त्यसपछि गरेर करिब १२ वर्ष भन्दा बढी हिरासतमा बसेको छु ।’
यसपटक राप्रपाका ७५ वर्षका अम्मरबहादुर थापा क्षेत्री, राजमोका ५७ वर्षका मेखबहादुर विष्ट, मंगोल नेशनल अर्गनाइजेसनका ५३ वर्षका कुमार घर्तीमगर, नेशनल रिपब्लिक नेपालका २९ वर्षका मनबहादुर घर्तीमगर र आम जनता पार्टीका ५० वर्षका दिलबहादुर कामी उम्मेदवार छन् ।
