समानुपातिकका सबै २ करोड ८ लाख मतपत्र छापिसकियो, प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख छापिए
What you should know
काठमाडौँ — निर्वाचन आयोगले मतपत्र छपाइ तीव्र बनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ आवश्यक पर्ने २ करोड ८ लाखभन्दा बढी मतपत्रको छपाइ सकिएको छ । प्रत्यक्षतर्फ २५ जिल्लाका लागि चाहिने ३० लाख प्रति मतपत्र छापिएका छन् भने अन्य जिल्लाका मतपत्रको पनि धमाधम छपाइ हुँदै छ ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले दैनिक १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । ‘समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र चाहिने थियो, सबै छापिसकिएको छ,’ उनले भने, ‘प्रत्यक्षतर्फ हालसम्म २५ जिल्लाको ३० लाख मतपत्र छापिइसक्यो, अन्यको पनि हुँदै छ ।’
सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकको भन्दा प्रत्यक्षतर्फको मतपत्र कम छापिने बताए । ‘प्रत्यक्षतर्फको २ करोड ३ लाख मतपत्र छाप्ने तयारी छ, समानुपातिकतर्फ अस्थायी मतदाता पनि जोडिने भएकाले बढी मतपत्र चाहिन्छन्,’ उनले भने, ‘सुरक्षामा खटिएका सैनिक, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन प्रहरी, निर्वाचनमा खटिने कर्मचारी, वृद्धाश्रममा बस्ने आश्रित, कैदीबन्दीले पनि समानुपातिकमा भोट दिन पाउने भएकाले बढी मतदाता हुनेछन् ।’
समानुपातिकतर्फको मतपत्र छपाइ २५ पुसमा सुरु गरी १२ माघमा सकिएको थियो । समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिएसँगै मतपत्र छपाइ थालिएको थियो । आगामी निर्वाचनमा ५८ दलको चुनाव चिह्न रहेको छ । ५४ दलले आफ्नो निर्वाचन चिह्न र १० दलले विभिन्न ४ वटा चुनाव चिह्न लिएर समानुपातिकमा भाग लिँदै छन् । समानुपातिक मतपत्र सेतो कागजमा कालो रङको चुनाव चिह्नमा छापिएको छ । समानुपातिक मतपत्र देशभरि एउटै आकारको हुनेछ ।
प्रत्यक्षतर्फ हिमाली जिल्ला, कर्णाली प्रदेशका सबै जिल्ला, सुदूरपश्चिम र लुम्बिनीका केही जिल्लाको मतपत्र छपाइ सकिएको छ । १२ माघदेखि सुरु प्रत्यक्षतर्फको मतपत्र छपाइ हिमाली जिल्लाहरूबाट थालिएको थियो ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ २६ माघभित्र सक्ने तयारी रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका थिए । प्रत्यक्षतर्फको मतपत्र छपाइ थालनी अनुगमन गर्दै उनले रातदिन गरी मतपत्र छपाइ हुने जानकारी दिएका थिए । आयोग प्रवक्ता भट्टराईले आइतबार भने, ‘प्रत्यक्षतर्फका करिब
२ करोड मतपत्रमध्ये ३० लाख छापेर सकियो अब १ करोड ७० लाख छाप्ने हो । एक दिनमा १२ देखि १५ लाख मतपत्र छापिने गरेको छ ।’ १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार संख्याअनुसार प्रत्येक निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र फरक–फरक आकारका हुन्छन् । प्रत्यक्षतर्फका उम्मेदवारलाई ९ माघमा चुनाव चिह्न प्रदान गरिएको थियो ।
निर्वाचनका कार्यक्रम र मतपत्र छपाइलगायतका तयारी कार्यतालिकाअनुसार सम्पन्न भइरहेको प्रवक्ता भट्टराईले बताए । मतपत्रसँगै मतदाता नामावली छपाइको काम पनि जारी रहेको उनले जानकारी दिए । आगामी ७ दिनभित्र मतदाता नामावली छपाइ पनि सकिने उनले बताए । आयोगले मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय थान नमुना मतपत्र छापेको छ । नमुना मतपत्र समानुपातिक र प्रत्यक्षतर्फका लागि बराबर संख्यामा छापिएको छ ।
कुन दलको चुनाव चिह्न के ?
