आम जनता पार्टीका उम्मेदवार ऋषि धमला चोक, चौतारा, घर, खेत, बारी र बजार पुगेर मत मागिरहेका छन् । धमलाको भोट माग्ने शैली सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
What you should know
रौतहट — लगातार जित निकाल्ने नेपाली कांग्रेसको दाउ र त्यसमा ब्रेक लगाउने अन्य दलको मिहिनेतले रौतहट–४ को निर्वाचन रोमाञ्चक बनेको छ । ०७४ र ०७९ मा विजयी कांग्रेसका देवप्रसाद तिमल्सिना यसपटक जितेर ह्याट्रिक गर्ने दाउमा छन् । यस क्षेत्रमा दल र स्वतन्त्र गरेर ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
आम जनता पार्टीका उम्मेदवार ऋषि धमला चोक, चौतारा, घर, खेत, बारी र बजार पुगेर मत मागिरहेका छन् । धमलाको भोट माग्ने शैली सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रास्वपा उम्मेदवार गणेश पौडेल पनि कांग्रेसको लगातार जितमा ‘ब्रेक’ लगाउन प्रयत्नशील देखिन्छन् । रास्वपाले यसपटक ‘पुरानालाई हैन, नयाँलाई हेरौं’ भन्दै भोट मागिरहेको छ ।
जिल्लामा यसपटक चुनाव प्रचारको शैली बदलिएको छ । उम्मेदवारहरू गाउँ–टोलमा तडकभडक भन्दा सामाजिक सञ्जालमा केन्द्रित देखिएका छन् । कांग्रेसका तिमल्सिना, आमजनता पार्टीका धमला, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, एमालेका रामजी साह, रास्वपाका गणेश पौडेल, जसपाका राजकुमार दास र जनमतका कल्याण पटेल, उज्यालो नेपालका तुलसी गिरी, प्रगतिशील लोकतान्त्रिकका सत्यनारायण भगत चुनावी दौडमा छन् । यीमध्ये तिमल्सिना, नेकपाका भट्टराई र प्रगतिशीलका भगत मात्र पुराना अनुहार हुन् ।
यस क्षेत्रबाट ०४८ मा एमालेका डा. वंशीधर मिश्रले जितेका थिए । मिश्रले कांग्रेसका उद्धव ढकाललाई हराएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा मिश्रलाई कांग्रेसका ढकालले पराजित गरे । ०५६ मा यस क्षेत्रबाट तत्कालीन एमले महासचिव माधवकुमार नेपालले जितेका थिए । रौतहट १ र ६ मा उम्मेदवार बनेर दुवै क्षेत्रबाट चुनाव जितेका थिए । उनले रौतहट–६ छाडेपछि भएको उपनिर्वाचनमा बीपी-पुत्र प्रकाश कोइराला विजयी भए । कोइरालाका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामकुमार भट्टराई यसपटक नेकपाबाट मैदानमा छन् । भट्टराईले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तिमल्सिनलाई हराएका थिए ।
०७४ मा कांग्रेसका तिमल्सिना २८ हजार २ सय ८८ मत ल्याएर विजयी भए । एमालेका डा. मिश्रले २३ हजार ६ मत ल्याए । ०७९ मा लोक–वाम गठबन्धनबाट उम्मेदवार बनेका तिमल्सिनाले ३४ हजार १ सय ६१ मत ल्याएर विजयी भए । एमालेले उम्मेदवार परिवर्तन गरेर उद्धव रेग्मीलाई उम्मेदवार बनायो । रेग्मीले २६ हजार ५ सय ५९ मत ल्याएका थिए । एमालेले जसपासित गठबन्धन गरेको थियो । आफूले जनताकै हितमा काम गरेको र दु:खसुखमा साथ दिएकाले यसपटक जिताउनेमा तिमल्सिना आशावादी छन् । ‘मैले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छु,’ उनले भने, ‘अझै यस क्षेत्रमा गर्नुपर्ने धेरै काम छन् । म गरेरै छाड्छु ।’ यस क्षेत्रमा एउटै नेताले दोहोर्याएर चुनाव जितेको रेकर्ड थिएन । तर, तिमल्सिनाले त्यो रेकर्ड तोडे ।
०७९ मा समानुपातिक तर्फ कांग्रेसले १४ हजार २ सय १८ ल्याएको थियो । एमालेले ११ हजार २ सय ३१ मत पायो । माओवादी केन्द्रले ९ हजार ३ सय १९ र एकीकृत समाजवादीले ९ हजार १ सय ७९ मत पाए । जनता समाजवादी पार्टी नेपालले ६ हजार २ सय ८ र रास्वपाले ५ हजार ७ सय ७ मत ल्याएको थियो । नेकपाले यसपटक भट्टराईलाई उम्मेदवार बनाएको छ । तत्कालीन माओवादी केन्द्रसित पार्टी एकता भएकाले चुनवा जित्नेमा भट्टराई ढुक्क छन् । ‘समग्र क्षेत्रबासीको हितमा काम गर्ने अठोटका साथ आएको छु,’ उनले भने, ‘यसपालि जित पक्का छ ।’ 
जसपाका राजकुमार दास पनि विकाशको नयाँ एजेण्डा बोकेर पहिलोपटक जनतासामु आएको सुनाउँछन् । पूर्वप्राध्यापक योगेन्द्र यादव अहिलेको अवस्थामा ०७९ को समानुपातिक मतलाई मात्र जित–हारको आधार मान्न नसकिने बताउँछन् । ‘त्यो विशेष परिस्थितिले आएको मत होला । अहिले अवस्था अर्कै छ,’ उनले भने, ‘मत भन्ने चिज बगिरहने हो । यो परिवर्तन भइरहन्छ । यसैलाई अहिले आधार मान्न सकिने अवस्था छैन ।’ तडकभडकले चुनाव जितिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनले बताए ।
मधेशमा रास्वपाले ‘अब की बार बालेन सरकार’ लाई चुनावी नारा बनाएको छ । उक्त पार्टीले शैक्षिक क्षेत्रका पौडेललाई अघि सारेको छ । लामो समय प्राध्यापनमा बिताएका पौडेलले पुराना दल र पुराना नेताले केही गर्न नसकेकाले आफूलाई जनताले भरोसा गर्ने सुनाए । ‘विकासलाई कुनै पनि पुराना दलका नेताहरूले प्राथमिकतामा राखेनन्,’ उनले भने,‘ अब जितेर हामीले गर्ने हो । जनताको भरोसा हामी नै हौं ।’
पूर्व–पश्चिम राजमार्गले छोएको क्षेत्र भएकाले यसपटक रास्वपाले प्रभाव बढाउन सक्ने यहाँका अगुवा बताउँछन् । लामो समय पत्रकारितामा क्रियाशील धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् । उम्मेदवारी दर्तापछि उनी घरदैलोमा पुगिरहेका छन् । जन्मस्थल धादिङ र कर्मथलो राजधानी भए पनि रौतहट आफ्ना लागि नौलो नभएको धमला सुनाउँछन् । ‘यहाँ विकासका काम गर्नु पर्नेछ । त्यो म गरेर देखाउँछु,’ उनले भने, ‘रौतहटको एक/एक मानिससित परिचित छु । मैले विकासको सपना देखेको छु ।’
जनमत पार्टीका कल्याण पटेल पनि केही गरौं भन्ने हुटकुटीका साथ चुनावी मैदानमा उत्रिएको बताउँछन् । ‘मतदाताले खोजेको र रोजेको मध्ये म पनि पर्छु,’ उनले भने, ‘म बोलेर होइन, गरेर देखाउने छु ।’ एमालेले पहिलो पटक उम्मेदवार बनाएका साह पनि नयाँ अनुहार हुन् । अधिकांश उम्मेदवारले विकासलाई प्रमुख मुद्दा बनाएका छन् । यस क्षेत्रमा चन्द्रपुर, बृन्दावन, गरुडा र गढीमाई गरी चारवटा नगरपालिका पर्छन् । ०७४ को पहिलो स्थानीय तह निर्वाचनमा चन्द्रपुर, गढीमाई, बृन्दावन कांग्रेस र गरुडामा जसपाले जितेको थियो । ०७९ मा चन्द्रपुर र गढीमाई प्रमुखमा कांग्रेस दोहोरियो । गरुडामा एमाले र बृन्दावन तत्कालीन समाजवादीले जिते ।
यस क्षेत्रको शैक्षिक अवस्था भद्रगोल छ । राष्ट्रिय जनगणना २०२१ अनुसार जिल्लाको औसत साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । यस क्षेत्रमा दलित र विपन्न समुदायका बालबालिकाको विद्यालय छोड्ने दर उच्च छ । छोरीको शिक्षामा पहुँच कम देखिन्छ । नयाँ उम्मेदवारले यसैलाई चुनावी मुद्दा बनाएका छन् । पुरानाले शिक्षा, स्वास्थ्यप्रति बेवास्ता गरेको नयाँ दलको आरोप छ ।
यस क्षेत्रको उत्तर अवस्थित चाँदी नदी पुल निर्माण पूरा नभएर अलपत्र छ । पप्पु कन्ट्रक्सनले आठ वर्षसम्म पनि निर्माण गर्न नसकेपछि स्थानीयले विरोध गरिरहेका छन् । ०७४ असार ३१ गते लिखित सम्झौता गरेर २०७६ असार ३१ गते पुल निर्माण सक्नुपर्ने थियो ।
