१० दल र १२ स्वतन्त्र गरी गुल्मी-२ मा २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गोकर्ण विष्टसँग यसपटक प्रतिस्पर्धामा रहेका अन्य दलका सबै उम्मेदवार नयाँ हुन् ।
What you should know
गुल्मी — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी-२ मा एमाले उम्मेदवार गोकर्ण विष्टसँग प्रतिस्पर्धी गर्ने सबै अनुहार नयाँ रहेका छन् ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका विष्ट २०५६ देखि यस क्षेत्रमा निर्वाचन लड्दै आएका छन् भने २०६४ बाहेक सबै निर्वाचन उनैले जितेका छन् ।
एमाले उम्मेदवार विष्टसँग यसपटक प्रतिस्पर्धी रहेका सबै नयाँ हुन् । यसपटकको सहित विष्ट छैटौं पटक प्रतिस्पर्धामा छन् भने पाँचपटक नयाँ उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा यसपटक एमालेबाट विष्ट, कांग्रेसबाट लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपाबाट केन्द्रीय सदस्य श्रीराम महत र रास्वपाबाट गोविन्द पन्थी मुख्य प्रतिस्पर्धामा छन् । गुल्मीमा दलका १० र स्वतन्त्र १२ गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
विष्टसँग यसपटक प्रतिस्पर्धामा रहेका अन्य दलका सबै उम्मेदवार नयाँ हुन् । यसअघि अहिले नेकपा एमालेकै नेतृ तत्कालीन नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री कांग्रेस–माओवादीसहितकी साझा उम्मेदवार थिइन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विष्ट २८ हजार ४ सय ७६ मत ल्याई विजयी भएका थिए । तत्कालीन निकटतम् प्रतिद्वन्द्वी तत्कालीन एकीकृत समाजवादीकी झाँक्री २ हजार ३५ मतान्तरले पराजित भएकी थिइन् । झाँक्रीले २६ हजार ४ सय ४१ मत पाएकी थिइन् ।
२०७४ को निर्वाचनमा विष्टसँग कांग्रेसका चन्द्र केसी प्रतिस्पर्धी थिए । त्यसबेला विष्टले १४ हजार बढी मतान्तरले निर्वाचन जिते । त्यसअघि २०७० मा भएको निर्वाचनमा कांग्रेसका त्रैलोक्यप्रताप सेन मुख्य प्रतिस्पर्धी थिए । त्यसबेला विष्टले छ हजार भन्दा बढी मतान्तरले निर्वाचन जिते । २०६४ मा विष्ट नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापासँग २ हजार मतान्तरले पराजित भए । त्यसबेला नेपाली कांग्रेसबाट सुरेशचन्द्र भुसाल उम्मेदवार थिए ।
त्यसअघि २०५६ मा भएको निर्वाचनमा विष्टसँग कांग्रेसका त्रैलोक्यप्रताप सेन प्रतिस्पर्धी थिए । त्यसबेला विष्टले २ हजार २ सय मतान्तरले निर्वाचन जितेका थिए । ३४ वर्षको उमेरमा संसदीय राजनीतिमा प्रतिनिधि सभा सदस्य हुँदै छिरेका विष्ट दुईपटक मन्त्री भए । उनी एकपटक मात्रै निर्वाचन हारेका छन् ।
यसपटक यस क्षेत्रमा विष्टसँगका प्रतिस्पर्धी सबै नयाँ रहेकाले प्रतिस्पर्धा राेचक बन्ने देखिन्छ ।
यस क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन २०७९ काे समानुपातिक तर्फकाे मत हेर्ने हो भने एमालेले २५ हजार १ सय ३०, कांग्रेसले १८ हजार ४ सय ५१, तत्कालीन नेकपा माओवादी केन्द्र हालको नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ४ सय ३७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार २ सय ६३ मत प्राप्त गरेका थिए ।
