कैलाली–४ मा एकै वडाका दुई ‘डोट्याल’ चुनावी प्रतिस्पर्धामा

भट्टसितको प्रतिस्पर्धालाई व्यक्तिगतभन्दा पनि पार्टीगत सिद्धान्त र एजेन्डाका रूपमा लिएको विष्टको दाबी । प्रतिस्पर्धीलाई लोकतान्त्रिक पद्धतिको हिस्सा मान्दै आफ्नो लामो राजनीतिक अनुभव र संघर्ष बलियो पक्ष भएको भट्टको भनाइ ।

माघ १८, २०८२

रञ्जना बिसी

Two 'Dotyals' from the same ward in Kailali-4 contesting in the election

What you should know

कैलाली — कैलाली–४ मा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचन रोचक बनेको छ । यस क्षेत्रमा एकै वडाका दुई जनाबीच प्रतिस्पर्धा हुन लागेको हो । एमालेबाट लेखराज भट्ट र कांग्रेसका गोरख विष्ट चुनावी मैदानमा छन् । भूगोल र पुर्ख्यौली थलो एउटै भएका दुईबीचको प्रतिस्पर्धालाई धेरैले चासोपूर्वक हेरिरहेका छन् । भट्ट र विष्टको पुर्ख्यौली थलो डोटीको गडसेरा हो । दुवै जना जोरायल–५ का बासिन्दा हुन् ।

सुदूरपश्चिमका नेताद्वय सिद्धराज ओझा र टेकबहादुर चोखाल पनि गडसेराकै बासिन्दा हुन् । डोटीको भूगोलबाट प्रतिनिधित्व गर्ने यी ‘डोट्याल’ यसपटक कैलाली–४ मा आमने–सामने छन् । 

भौगोलिक पृष्ठभूमि मेल खाए पनि उनीहरूको राजनीतिक विचारमा ठूलो अन्तर छ । भट्ट तत्कालीन माओवादीको सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएका अनुभवी वामपन्थी नेता हुन् । विष्ट लोकतान्त्रिक विचारधाराको प्रतिनिधित्व गरेर आएका हुन् । एमाले सचिव भट्टको यो पाँचौं चुनावी प्रतिस्पर्धा हो । ०७९ को चुनावभन्दा अगाडि तत्कालीन नेकपामा थिए । नेकपा विभाजन भएपछि उनी माओवादीमा फर्किएनन् । भट्ट सुदूरपश्चिमबाट एमाले पदाधिकारीमा निर्वाचित हुने एक्ला नेता हुन् ।

यसअघि चारपटक चुनाव लडेका भट्टले दुईपटक जित र दुई पटक हार बेहोरेका थिए । मुलुकमा शान्ति प्रक्रिया सुरु भएपछि भट्ट तीनपटक मन्त्री भइसकेका छन् । त्यसैले यसपटक भट्टलाई आफ्नै विरासत जोगाउने चुनौती छ । 

प्रतिस्पर्धीहरूलाई लोकतान्त्रिक पद्धतिको हिस्सा मान्दै आफ्नो लामो राजनीतिक अनुभव र संघर्ष बलियो पक्ष भएको भट्टले दाबी गरे । नयाँ पुस्ताका मतदाता आकर्षित गर्न अनुभव र विवेकको महत्त्व बुझाउने उनले बताए । साथै आफू मन्त्री हुँदा स्वार्थभन्दा राष्ट्रहितलाई प्राथमिकता दिएकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । ‘यो निर्वाचनलाई आन्दोलनकै रूपमा लिएको छु । यतिखेर देश प्रतिकूल स्थितिमा छ,’ उनले भने, ‘यो प्रतिकूलतालाई अनुकूलतामा ढाल्न एमालेबाहेक अर्को पार्टीले सक्दैन ।’ 

कांग्रेसका विष्ट पहिलोपटक उम्मेदवार बनेका हुन् । लामो समय अमेरिकास्थित नेपाली कांग्रेस जनसम्पर्क समितिमा रहेर सभापतिको जिम्मेवारी सम्हालेका विष्टले संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । यस क्षेत्रमा विष्टलाई मतदाताका लागि नयाँ विकल्पका रूपमा हेरिएको छ । जसका कारण उनीप्रति मतदातामा कौतूहल देखिन्छ । तर, कांग्रेसभित्रको आन्तरिक कलह व्यवस्थापन गर्नु विष्टका लागि मुख्य चुनौती देखिएको छ ।

भट्टसितको प्रतिस्पर्धालाई व्यक्तिगतभन्दा पनि पार्टीगत सिद्धान्त र एजेन्डाका रूपमा लिएको उनले बताए । अनुभवी र नयाँ पुस्ता (जेनजी)बीचको सेतुका रूपमा आफू मैदानमा आएकाले जनताका दैनिक समस्या समाधानमा केन्द्रित हुने उनले बताए । ‘भोट पाउन जनतासामु ठूल्ठूला योजना ल्याउने र अस्वाभाविक आश्वासन दिन्नँ,’ उनले भने, ‘जनताका सुखदुःखमा कसरी सहभागी हुने र समस्या कसरी समाधान गर्ने भन्नेमा म केन्द्रित छु ।’ 

‘डोट्याल’ भावनाको लाभ पाउँदै आएका भट्टलाई यसपटक समान भूगोलका विष्टले चुनौती दिएका छन् । रास्वपाले अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेर खेमराज कोइरालालाई उठाएको छ । जसका कारण पार्टीभित्र विवाद निम्त्याएको थियो । कैलाली–४ मा नेकपाबाट हरि चौधरीले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका छन् । कैलाली–४ को चुनावी इतिहास अस्थिर देखिन्छ । ०६४ मा भट्टले चुनाव जिते । ०७० मा कांग्रेसका दीर्घराज भाट विजयी भए । ०७४ मा पुनः भट्टले बाजी मारे भने ०७९ मा कांग्रेसका बीरबहादुर बलायर विजयी भएका थिए ।

रञ्जना

Link copied successfully