तेस्रोपटक प्रतिस्पर्धा गरिरहेका जोशी–गिरीलाई रास्वपा र नेकपाको चुनौती

पर्वतमा यसपटक राजनीतिक दलबाट १३ र स्वतन्त्र ४ गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

माघ १८, २०८२

सुमनजंग थापा

Joshi-Giri, who are contesting for the third time, are challenged by the Rashtriya Swayamsevak Sangh (RSS) and the NCP.

What you should know

पर्वत — जिल्लामा मुलुकका दुई ठूला दलका केन्द्रीय सदस्यबीच लगातार तेस्रोपटक प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी यसपटक पनि पर्वतमा मुख्य प्रतिस्पर्धी बनेका छन् ।

दुईपटक पराजय बेहोरेका जोशी र जितको ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका गिरीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । यी दुईलाई नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मनहरि तिमल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले चुनौती दिइरहेका छन् । 

एमालेका गिरीले यसपटक पनि विजयी हुने दाबी गरेका छन् । गत माघ ६ गते उम्मेदवारी दर्ताका क्रममा उनले भने, ‘चार हजारभन्दा कम मतान्तरको जितलाई जित नै मान्दिनँ ।’ उनको आत्मविश्वासलाई अन्य दलका उम्मेदवारले दम्भका रूपमा लिएका लिएका छन् । जिल्लामा उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन् । कांग्रेसका जोशीले कुश्मा–१०, पिपलटारीबाट बुधबारदेखि अभियान सुरु गरेका हुन् । जिल्लामा कम्युनिस्ट आन्दोलनका संस्थापक गणेश शर्मा पौडेलकी पत्नी ८१ वर्षीया गुमादेवीबाट आशीर्वाद लिएर उनले अभियानको सुरुआत गरेका थिए ।

‘यसपटक अन्तिम पटक’ भन्दै जोशीले मत मागिरहेका छन् । पटक–पटक उम्मेदवार बनेको भन्दै कांग्रेसभित्रबाट आलोचना खेप्दै आएका उनले आगामी निर्वाचनमा नउठ्ने घोषणा पनि गरेका छन् । शेरबहादुर देउवा समूहमा रहेका जोशी विशेष महाधिवेशनबाट सभापति गगन थापा पक्षमा खुलेका थिए । 

दुईपटक संविधानसभा र एकपटक प्रतिनिधिसभा सदस्य हुँदा आफूले सडक, खानेपानी, बिजुली र भवनलगायत भौतिक पूर्वाधारमा उल्लेख्य काम गरेको दाबी गर्दै जोशीले भने, ‘जनताको दुःख–सुखमा प्रत्यक्ष सहभागी हुन नपाएकामा पछुतो छ । म पहिलेको अर्जुन जोशी हैन, बदलिएर आएको छु । अन्तिम मौका दिनुहोस् ।’

जोशी ०५६ सालमा पर्वत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि लगातार विजयी भएका थिए । ०७४ र ०७९ को निर्वाचनमा भने एमालेका गिरीसँग पराजित भए । २०३४ सालबाट कांग्रेस सदस्य रहेका उनले ०४८ सालबाट १६ वर्षसम्म जिल्ला सभापति भएर नेतृत्व गरेका थिए ।

एमाले उम्मेदवार गिरी यसपटक पनि फराकिलो मतान्तरले चुनाव जित्ने दाबी गर्दै आएका छन् । आठ वर्ष सांसद र केही महिना मन्त्री भएर जिल्लाको विकासमा उल्लेख्य काम गरेकाले आफूलाई हार्ने छुट नरहेको उनले बताए । ‘१० वर्षअघि र अहिलेको पर्वत तुलना गरेर हेरे पुग्छ,’ उनले भने, ‘नाङ्गो आँखाले देख्ने गरी गाउँ–गाउँमा विकास पुर्‍याएका छौं ।’

युवा उमेरमै पार्टीभित्रका वरिष्ठ नेतालाई पन्छाउँदै प्रभाव जमाउन सफल भएका छन् । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र संविधानसभा सदस्य तथा पूर्व प्रदेश मन्त्री विकास लम्साल अहिले राजनीतिमा निष्क्रियजस्तै देखिन्छन् । १५ वर्षअघि पार्टीको जिल्ला अध्यक्ष बनेका गिरीले त्यसयता राजनीतिमा निरन्तर सफलता हात पारेका छन् । दुइपटक सांसद, मन्त्री, प्रमुख सचेतक तथा केन्द्रीय सदस्य भइसकेका छन् । २०६२ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेसँगै गिरीको राजनीतिक यात्रा औपचारिक रूपमा सुरु भएको थियो ।

०७४ को निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४ सय ५६ मतान्तरले पराजित गरेका थिए । गिरीले ३९ हजार २ सय ७५ मत ल्याउँदा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । त्यसबेला एमाले–माओवादी गठबन्धन थियो । ०७९ को निर्वाचनमा गिरीले जोशीलाई पराजित गरे । गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरेका थिए । 

जिल्लामा नेकपा र रास्वपाका उम्मेदवारको क्रेज पनि ह्वात्तै बढेको छ । नेकपाका तिमिल्सिना युवा तथा बौद्धिक उम्मेदवारका रूपमा चिनिन्छन् । तत्कालीन माओवादी युद्धमा सहभागी भएका तिमिल्सिना ०५८ देखि २०५९ सालसम्म नेपाली सेनाको हिरासतमा बसेका थिए । उनी ०७२ देखि ०७३ सालसम्म तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको प्रेस सल्लाहकारको भूमिकामा थिए ।

लामो समय पत्रकारिता र लेखनमा सक्रिय रहेका उनले जिल्लाको विकासमा आफूले पहिल्यैदेखि योगदान दिँदै आएको दाबी गरे । प्रधानमन्त्री दाहालसँग प्रत्यक्ष पहुँच बनाएका तिमिल्सिनाले आफूलाई मत दिने मतदाता कहिल्यै पछुताउन नपर्ने बताउँछन् । ‘मैले कसैलाई पनि राजनीतिक पूर्वाग्रहको चस्माबाट हेर्ने छैन,’ उनले भने, ‘पर्वतको समग्र विकासका लागि मेरै नेतृत्वमा एक सय जना विज्ञसहितको टोलीले विस्तृत मार्गचित्र तयार गरेको छ ।’ 

रास्वपाले भुसाललाई उम्मेदवार बनाएको छ । लामो समय इजरायलमा बसेर फर्किएका भुसाल अहिले पोखरामा होटल व्यवसाय गरिरहेका छन् । पूर्वकांग्रेस पृष्ठभूमिका भुसाल रास्वपा जिल्ला सचिवसमेत हुन् । भुसाल परिवर्तनको माग बलियो भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘३६ वर्षसम्म पुराना दलले राज्य चलाउँदा बेथिति र भ्रष्टाचारबाहेक केही भएन,’ उनले भने, ‘सबै दल परीक्षण भइसकेकाले मतदाताले मलाई रोज्नेमा म विश्वस्त छु ।’ उनले रास्वपाले सरकार बनाएर जनहितमा काम नगरे पुनः जनतासँग मत माग्न नआउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

नेकपा माओवादीका कृष्णबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाबहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीकी ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भीमलाल न्यौपाने तथा उज्यालो नेपाल पार्टीका यमबहादुर चोचाङ्गी पुनलगायतका उम्मेदवार पनि घरदैलो अभियानमा सक्रिय छन् । पर्वतमा यसपटक राजनीतिक दलबाट १३ र स्वतन्त्र ४ गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully