रौतहटवासीको मुख्य समस्या डुबान, तर प्रधानमन्त्री हुँदा माधवकुमार नेपालले नै २०६७ मा दुर्गाभगवती–५ बडहर्वामा बागमती नदीको पुल शिलान्यास गरेको १५ वर्ष बितिसक्दा पनि अलपत्र
What you should know
रौतहट — गौरस्थित तत्कालीन एकीकृत समाजवादीको कार्यालयमा गत २२ जेठमा कार्यकर्ता भेटघाट कार्यक्रम चलिरहेको थियो । अतिथि थिए, पूर्वप्रधानमन्त्री एवं तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष तथा हालका नेकपा सहसंयोजक माधवकुमार नेपाल ।
वक्ताहरूले बोलिरहेका थिए, यहीबीचमा अध्यक्ष नेपालको मोबाइलमा एकोहोरो घन्टी बजिरह्यो । उनले ‘एकैछिन है’ भन्दै फोन उठाए । फोनवार्तापछि निकटका मानिसहरूसँग कानेखुसी गर्न थाले । हलभित्र क्षणभरमै सन्नाटा छायो । गृहजिल्ला आएकै दिन ०८२ जेठ २२ मा पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल कार्यक्रम छोट्याएर राजधानी फर्किए ।
त्यसपछि रौतहटमा विभिन्न टीकाटिप्पणी सुरु भए । २०८४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल उम्मेदवार बन्दैनन् भन्ने धेरैको अनुमान थियो । चोक चौराह, चिया गफ जताततै उनकै चर्चा चल्थ्यो । आफू अध्यक्ष भएको एकीकृत समाजवादीलाई माओवादीसँग मिसाएर नेकपा बनाएपछि नेपाल हौसिए । नेकपाबाट रौतहट–१ मा उनको एकल नाम सिफारिस भयो । छैटौं पटक संसदीय चुनावी मैदानमा रहेका नेपालको ‘यो अन्तिम चुनाव हो’ भनेर उनी निकटकाहरू यतिबेला मतदातालाई फकाइरहेका छन् ।
गठबन्धनको आडमा बाजी मारेका पूर्वप्रधानमन्त्री नेपाल भ्रष्टाचारको आरोप लाग्दासमेत चुनाव लड्न किन छाडेका छैनन् भन्ने आमजनताको चासोको विषय बनेको छ । पहिलो पटक २०४८ मा राष्ट्रिय सभा सदस्य मनोनीत नेपाल रौतहट र काठमाडौंबाट गरी चार पटक विजयी बने, एक पटक पराजित । रौतहट–१ बाट ०५६, ०६४, ०७० र २०७९ मा चार पटक चुनाव लडेका नेपाल ०६४ मा मात्र पराजित भएका थिए । २०७४ मा उनी काठमाडौं–२ बाट विजयी भएका थिए ।
यस पटक उनको प्रतिस्पर्धा एमाले नेता अजयकुमार गुप्ता, कांग्रेसका अनिलकुमार झा, जनता समाजवादीका योगेन्द्र यादव र रास्वपाका राजेश चौधरीसँग हुँदै छ । गुप्ता ०७० र ०७९ मा नेपालसँग पराजित भएका थिए । पूर्वमन्त्रीसमेत रहेका झा ०७४ मा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका थिए । पछिल्लो समय सद्भावना पार्टीका अध्यक्ष झा उम्मेदवारी दर्ताको अघिल्लो दिन कांग्रेस प्रवेश गरी यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । २०४६ बाट राजनीतिमा प्रवेश गरेका झा २०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य चुनिएका थिए । उनी दुर्ई पटक संघीय सरकारमा मन्त्री भए ।
यो क्षेत्रका दुई पालिका प्रमुखदेखि मधेश प्रदेशका मुख्यमन्त्रीसम्म कांग्रेसका छन् । दुवै प्रदेशसभा सदस्य कांग्रेसकै निर्वाचित भएकाले झाले आफूले जित्ने दाबी गरिरहेका छन् । रौतहटको छिमेकी जिल्ला सर्लाही–४ बाट कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेकाले त्यसको प्रभाव यस क्षेत्रमा समेत पर्ने झाको दाबी छ ।
एमालेका गुप्ता पार्टीको बलियो उम्मेदवारका रूपमा चुनावी दौडमा छन् । मधेशकेन्द्रित दलबाट राजनीति सुरु गरेका गुप्ता दुई पटक गौर नगरपालिकाको प्रमुख भइसकेका छन् । २०७० मा फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गुप्ता तत्कालीन एमालेका नेपालसित झिनो (३३८) मतान्तरले पराजित भए । २०७९ मा कांग्रेससँगको गठबन्धनमा नेपालले गुप्तालाई ६ हजार ६ सय मतले पराजित गरे । यस पटक कुनै पनि पार्टीसँग गठबन्धन नभएकाले आफूले जित्नेमा गुप्ता ढुक्क छन् । उनले बाढीको स्थायी समाधानलाई चुनावको मुख्य एजेन्डा बनाएका छन् ।
अर्का प्रतिस्पर्धी चौधरी २०७४ मा प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट लडेका थिए । ०७९ मा प्रदेशमै टिकट नपाएपछि स्वतन्त्रमा लडे । यस पटक उनी रास्वपाबाट उम्मेदवार बनेका छन् । ०७९ को चुनावमा यस क्षेत्रमा रास्वपाका मिस्टर सूर्यदेव कोइरालाले १ सय ६३ मत ल्याउँदा जमानत जफत भएको थियो । यहाँ चारै जनाको कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपालले ०७९ मा कांग्रेस र माओवादीसँगको गठबन्धनका बलमा ३३ हजार ५ सय २२ मत ल्याएर जितेका थिए ।
जसपा नेपालबाट उम्मेदवार बनेका यादव पनि सशक्त मानिन्छन् । ०७४ को प्रदेशसभामा जितेका यादव पूर्वमन्त्री हुन् । २०७९ को प्रदेशसभा निर्वाचनमा उनी ५ हजार ७ सय २९ मत ल्याई तेस्रो भए । यस पटक उनी प्रदेश छाडेर प्रतिनिधिसभातिर लागेका छन् । यादव बाहुल्य क्षेत्रमा जातीय मत पाएमा नतिजा उनकै पक्षमा जान सक्ने उनीनिकट नेताहरूको दाबी छ ।
अघिल्लो निर्वाचनको परिणाम हेर्दा यस क्षेत्रमा जातीय मतको प्रभाव कम देखिएको सरुअठाका शेख फरमानले सुनाए । ‘यहाँ जातीय प्रभाव नपर्ने भन्ने होइन,’ उनले भने, ‘हाम्रो मुस्लिम समुदायको उपस्थिति पनि कम छैन, तर चुनावमा जात मात्र हेर्ने गरिँदैन, व्यक्ति पनि हेरिन्छ ।’
गठबन्धनको आडमा बाजी मारेका पूर्वप्रधानमन्त्री नेपाल भ्रष्टाचारको आरोप लाग्दासमेत चुनाव लड्न किन छाडेका छैनन् भन्ने आमजनताको चासोको विषय बनेको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएपछि नेपाल चुनाव लड्दैनन् भन्ने सबैको अनुमान थियो । मुद्दा चल्दै गर्दा पनि उनी गृहजिल्ला आएर भेटघाट र पार्टीको गतिविधि निरन्तर गरिरहेका हुन्थे । आफ्ना निकटहरूको जोडबलका कारण नेपाल चुनाव लड्न राजी भएका हुन् । आफूले जिल्लामा धेरै विकास गरेकाले यस पटक पनि उम्मेदवारी दिएको उनको दाबी छ । तर उनले यो अन्तिम चुनाव भनेका छन् ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा रौतहट–६ (हाल ४) र काठमाडौं–२ बाट चुनाव लडेर दुवै क्षेत्रबाट पराजित भए । उनको क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार बबन सिंहले ०६४ मा चुनाव जितेका थिए । विभिन्न अपराधमा संलग्न बबनले भूमिगत अवस्थामै चुनाव जितेर सबैलाई आश्चर्यमा पारे । उनीमाथि नेपाल–भारत दुवै देशमा अपराधका मुद्दा थिए ।
०५६ मा आफूले जितेको क्षेत्र १ छाडेर ०६४ मा एमालेको गढ मानिएको ६ मा हौसिएर पुगेका नेपाल तत्कालीन नेकपा माओवादीका देवेन्द्र पटेल र काठमाडौं–२ मा झक्कु सुवेदीसँग पराजित भए । एमाले गढबाटै पराजित भएपछि नेपाल झस्किए । दुवै क्षेत्रबाट पराजित नेपाल पछि २०६६ मा राष्ट्रपतिबाट संसद्मा मनोनीत भए । एमाले सांसद सुशील प्याकुरेललाई राजदूत बनाएपछि उनको स्थानमा नेपाल मनोनीत भएका थिए ।
२०५६ को नतिजा हेर्ने हो भने तत्कालीन एमाले महासचिवसमेत रहेका नेपाल २२ हजार ८ सय ६८ मतसहित विजयी भएका थिए । कांग्रेसका बज्रकिशोर सिंहले १० हजार ७ सय ५७ मत ल्याएका थिए ।
यति धेरै मतान्तरले जितेका नेपाल ०६४ मा क्षेत्र परिवर्तन गरी ६ मा झरे । यो क्षेत्रमा पहाडिया समुदायको बाक्लो उपस्थिति छ । ०७० को दोस्रो संविधासभा निर्वाचनमा ८ हजार ३ सय ६१ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी अजयकुमार गुप्ता (फोरम लोकतान्त्रिक) ले ८ हजार २३ मत ल्याए । ३ सय ३८ झिनो मत अन्तरले नेपालले जितेका थिए । बबन सिंह तेस्रो भए । काठमाडौं–२ बाट पनि उनी विजयी भए । पछि काठमाडौं–२ छाडेका थिए ।
०७४ मा एमाले–माओवादी गठबन्धन भएपछि उनले आफ्नो क्षेत्रमा माओवादीका सत्यनारायण भगतलाई उठाए । नेपाल काठमाडौं–२ बाट उम्मेदवार बनेर जिते । गठबन्धन गर्दा पनि भगत १२ हजार ३ सय ३१ मत ल्याई तेस्रो भए । राष्ट्रिय जनता पार्टीका अनिल झाले २१ हजार ४ सय ७२ मत ल्याई जितेका थिए । कांग्रेसका कृष्णप्रसाद यादव (हाल मधेश प्रदेशका मुख्यमन्त्री) ले १५ हजार ८ सय ७४ मत ल्याएका थिए । रौतहट–१ मा तत्कालीन नेकपा एस र माओवादी दुवैको संगठन बलियो देखिन्छ । तीन वटा पालिकाका प्रमुख नेपाली कम्युनिस्ट पार्टीकै छन् । ४१ मध्ये २९ वटा वडाध्यक्ष कम्युनिस्ट पार्टीकै रहेकाले जित्ने बलियो आधार भएको नेपालको दाबी छ ।
पाँच दशक लामो राजनीतिक यात्रामा प्रधानमन्त्रीसम्म बनेका नेपालको जितमा निरन्तरता दिन चुनौती भने थपिँदो छ । रौतहटका राजनीतिक विश्लेषक बिन्दा सहनी भन्छन्, ‘देशको पछिल्लो राजनीति अवस्था हेर्दा देश स्थिर छैन, यस्तो अवस्थामा कसको राजनीति के हुन्छ भन्ने अवस्था रहेन ।’ उनले जिल्लाको चुनावी अवस्था जातीय प्रभाव धेरथोर पर्ने भए पनि अहिले राजनीतिक संस्कारले काम गर्न छाडेको सुनाए ।
२०६६ देखि २२ माघ २०६७ सम्म प्रधानमन्त्री रहेका नेपालले जिल्लाका लागि केही नगरेको आरोप लाग्ने गरेको छ । उनी प्रधानमन्त्री हुँदा २०६७ मा आफ्नै निर्वाचन क्षेत्रको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा रौतहट जोड्ने पुलको शिलान्यास गरे । तर १५ वर्षमा पनि पुलको निर्माण भएन । यसको सबै दोष स्थानीयले उनीमाथि थोपर्दै आएका छन् ।
प्रधानमन्त्री र शक्ति केन्द्रमा हुँदा नेपालले पुल अलपत्र पार्नेमाथि दबाब दिन नसकेको भनेर व्यापक आलोचना खेपे । बर्सेनि डुबानको समस्या झेल्न बाध्य यस क्षेत्रवासीको उनीमाथि प्रश्नैप्रश्न छ । पुलको ठेक्का पाएको निर्माण कम्पनीलाई पटक/पटक दबाब दिँदै आएको नेपालले जनतासामु स्पष्टीकरण दिँदै आएका छन् । डुबान समस्याका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भनेर उनी पन्छिन्थे । जिल्लामा नर्सिङ कलेज, पोलिटेक्निकल कलेज, बाटो, पुल, गौर–चन्द्रपुर सडक आफ्नै पहलमा बनाएर विकासको लहर छरेको उनको दाबी छ ।
भ्रष्टाचारमा मुछिएका नेपालको राजनीतिक छविबीच रौतहट–१ को चुनाव पेचिलो बनेको छ । पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशन भएको थियो । २०६६ मा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।
११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म प्रधानमन्त्री रहेका नेपालले पतञ्जलिलाई हदबन्दीमा जग्गा खरिद गर्न दिन १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए । तर दुई महिना नबित्दै ६ चैत २०६६ मा मन्त्रिपरिषद्बाट अर्को निर्णय गराई बेच्न स्वीकृति दिलाएका थिए । उक्त जग्गामा प्लटिङ गरिएको छ । यही मुद्दाको विशेष अदालतले मिसिल झिकाउने आदेश गरेको छ । चुनावी अभियानकै क्रममा नेपालको स्वास्थ्य खराब भएपछि अस्पताल भर्ना भएका थिए ।
मधेश प्रदेशको आठ जिल्लाको मानव विकास सूचकांकमा सबैभन्दा तल रौतहट छ । जिल्लाको मानव विकास सूचकांक र साक्षरता दर हेर्ने हो भने रौतहट सबैभन्दा पुछारमा छ । रौतहट–१ मा गरुडा नगरपालिकाको १, गढीमाई नगरपालिकाको ६, ७ र ८ वडा पर्छन् । गौर नगरपालिका, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका र यमुनामाई गाउँपालिका पर्छन् । गौर नगरपालिका प्रमुखमा नेकपाबाट निर्वाचित शभ्मु साह छन् । राजदेवीमा पनि नेकपाकै नगर प्रमुख भिखारीप्रसाद यादव छन् । दुर्गाभगवती गाउँपालिका अध्यक्षमा नेकपाका शम्भु सिंह छन् ।
गढीमाईमा कांग्रेसका श्याम यादव नगर प्रमुख छन् । माधवनारायण नगरपालिका प्रमुखमा कांग्रेसका बैजनाथप्रसाद यादव छन् । यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका मोहम्मद सउद छन् ।
जिल्लाको दक्षिण भेगमा पर्ने रौतहट–१ मा मधेशी मूलका मतदाताको बाहुल्य छ । १ लाख ८ हजार ७ सय २६ मतदाता रहेको यस क्षेत्रमा यादव, मुस्लिम, तेली, ब्राह्मण, तत्मा समुदायको जनसंख्या धेरै छ । कुर्मी, सुठी, मलाहा, कोइरी, दुसाद/पासवान, बिन, कानु, नुनिया समुदायको पनि बसोबास बाक्लो छ ।
मधेश प्रदेशको आठ जिल्लाको मानव विकास सूचकांकमा सबैभन्दा तल रौतहट छ । जिल्लाको मानव विकास सूचकांक र साक्षरता दर हेर्ने हो भने रौतहट सबैभन्दा पुछारमा छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मधेश प्रदेशमा गरिबी अवस्थाको तथ्यांक हेर्ने हो भने सबैभन्दा गरिबी रौतहटमा छ । रौतहटमा गरिबीको अवस्था ३२.३३ प्रतिशत छ ।
सप्तरीको २५.३७ प्रतिशत, सिरहाको २२.७४ प्रतिशत, धनुषाको २०.१० प्रतिशत, महोत्तरीको २४.०१ प्रतिशत, सर्लाहीको २६.७० प्रतिशत, बाराको २५.८२ प्रतिशत र पर्साको २०.६० प्रतिशत छ । साक्षरता दरमा पनि महोत्तरीपछि रौतहट नै पछि छ ।
महोत्तरीको ५४.६ र रौतहटको ५७.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । मानव विकास सूचकांक आयु, साक्षरता, विद्यालय जाने उमेर र प्रतिव्यक्ति आम्दानीको औसत रूप हो । चरम विपन्न र ठूलो संख्यामा निरक्षर रहेको रौतहट यस्तो जिल्ला हो, जसका १८ स्थानीय तहमध्ये १६ वटा नगरपालिका छन् । देशकै धेरै नगरपालिका भएको यस जिल्लामा शिक्षा, स्वास्थ्य र अव्यवस्थित बजारको समस्या धेरै छ । गरिबी र अशिक्षा रौतहटका मुख्य समस्या हुन् ।
चुनावमा उम्मेदवार बनेका सबै दलले बागमती र लालबकैया नदीको बाढीले प्रभावित यो क्षेत्रलाई बाढीबाट बचाउन विशेष योजनासहितका नारा अघि सारेका छन् ।रौतहट गृहजिल्ला भएको र लामो समय यसैलाई थलो बनाएर नीति निर्माण तहमा पुगेका नेता माधवकुमार नेपालले रौतहटको गरिबीको अवस्थाबारे राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको विवरणमाथि नै शंका लागेको बताए ।
‘जिल्लाका मानिसहरू वैदेशिक रोजगारीमा गएर काम गर्छन्, कसरी गरिबी भयो ? सबैले काम गरिरहेकै छन् । दोस्रो, अभावले पिल्सिएका महिलाप्रति उदार नभएको पुरुष प्रधान सोचले पनि गरिबी बढाउने काम गरेको देखिन्छ,’ उनले भने, ‘विज्ञहरूको टोली बनाएर गरिबीको समस्या भएको क्षेत्रको सुधार गर्दै लैजानुपर्छ । म त्यही गर्छु ।’ आफूले जिल्लामा शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।
चुनावमा उम्मेदवार बनेका सबै दलले बागमती र लालबकैया नदीको बाढीले प्रभावित यो क्षेत्रलाई बाढीबाट बचाउन विशेष योजनासहितका नारा अघि सारेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सुधारसहितका योजना र सदरमुकामस्थित विवादित गौर राइस मिलको खेल मैदान सार्वजनिकीकरण गरी नयाँ पुस्तालाई लोभ्याउने नारा दिइरहेका छन् ।
दुर्गाभगवतीका स्थानीयले रौतहट–सर्लाही जोड्ने बडहर्वा पुलको निर्माण कहिले सकिन्छ भनेर प्रश्न गरिरहेका छन् । ‘माधव नेपालले विकास त गर्नुभयो तर एउटा पुल बनाउन निकै ढिला हुँदासमेत सम्बन्धित निकायलाई दबाब दिन सक्नु भएन,’ बडहर्वाका स्थानीय रामनारायण सिंहले भने, ‘पुलको कुरा चुनावमा नारा मात्र बन्ने गर्छ, अब यही कुरा कति भन्ने ?’
